कान्ति बाल अस्पताललाई ५ करोड आर्थिक सहायता दिइने

 पुस २२, २०७५ आइतबार १६:०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५ करोड आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नु भएको हो ।

आइतबार अस्पतालको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले कान्तिलगायतका सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।

राज्यमन्त्री यादवले स्वास्थ्य सेवालाई सहज बनाउने संवैधानिक व्यवस्था भए पनि बजेट र जनशक्तिको अभावमा स्तरोन्नतिको काम तत्काल गर्न सक्ने अवस्थामा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो ।

अस्पतालले बाल स्वास्थ्यका सबै विशिष्टिकृत सेवाहरुको स्थापना गर्दै बाल स्वास्थ्य सम्बन्धी अध्ययन, अध्यापन र राष्ट्रिय अनुसन्धान केन्द्रसहितको बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा विकास गराउने लक्ष्य लिएको छ ।

अस्पतालका निर्देशक डा. गणेशकुमार राईले कान्तिलाई बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा विकास गराउने लक्ष्य प्राप्तीमा नेपाल सरकारको पूर्ण साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया