वैदेशिक रोजगारीमा रहेका अनियमितता व्यवस्थित गरिएको छ : प्रधामन्त्री

 पुस २२, २०७५ आइतबार १६:१७:२२ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा रहेको अनियमिततालाई व्यवस्थित गरिएको बताउनुभएको छ । 

व्यवस्थापिका संसदमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै क्रममा शुन्य लागतमा वैदेशिक रोजगारीमा पठाउने कुरा सुनिश्चित गर्न मलेसिया सरकारसँग श्रम समझदारी गरिएको बताउनुभयो । कतार, युएई र ओमानसँग पनि मलेसियाको जस्तै समझदारी गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारी जानेहरुका लागि प्रदेशबाटै श्रम स्वीकृति दिन थालिएको भन्दै जनकपुर र वुटवलबाट यसको सुरुवात भएको बताउनुभयो । 

सरकारले वैदेशिक रोजगारीभन्दा स्वदेशकै रोजगारीलाई जोड दिएकाले वैदेशिक रोजगारी जानेहरु घटेको पनि बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली ४१ दशमलव २ प्रतिशत घटेको तथ्याङ्क पनि सुनाउनुभयो । 

तर वित्तिय अनुशासन प्रभावकारी बनाएकाले रेमिट्यान्स भने ३६ प्रतिशतले बढेको प्रधामन्त्रीको सम्बोधनमा उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया