मनाङको माथिल्लो भेगमा हिमपात

 पुस २२, २०७५ आइतबार १६:२५:४६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । जिल्लाको माथिल्लो भेग ढुकुरपोखरी, खाङ्सार, ङावल, घ्यारुलगायतका ठाउँमा हिमपात भएको हो ।

‘दिउँसो १२ बजेबाट माथिल्लो भेगमा हिमपात भएको छ । यसवर्षको यो चौथौ पटक परेको हिमपात हो । चामेमा पनि फुरुफुरु हिउँ परिरहेको छ । चिसो अत्यधिक बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ,’ मनाङमा बसी पत्रकारिता गर्दै आउनुभएका नेगम परियारले टेलिफोनमार्फत जानकारी दिनुभयो ।

उहाँका अनुसार चिसोका कारण मानिसको चहपहल घटेको छ । अहिले मनाङमा चिसो हावाहुरी चलेको जिल्ला समन्वय समिति मनाङका लेखापाल रविन्द्र पौडेलले बताउनुभयो । ‘माथिल्लो भेगमा हिमपात भएको छ । आकाश कालो बादलले ढपक्क ढाकेको छ । बिहान–बेलुकी यहाँ एकदमै चिसो छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार चिसोका कारण धारामै पानी जम्न थालेको छ ।   

मंसिर, पुस र माघ महिनामा यहाँ अत्यधिक चिसो हुन्छ । जाडो समयमा चिसो छल्न यहाँका स्थानीय अन्य विभिन्न जिल्लामा पुग्ने गर्दछन् ।           
 

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया