पानीको ड्रममा डुबेर १८ महिने बालिकाको ज्यान गयाे

 पुस २२, २०७५ आइतबार १९:२०:३१ | दीपक भट्ट

रामेछाप – रामेछापमा आफ्नै घरको नजिक राखेको ५ सय लिटर क्षमताको पानीको ड्रमभित्र डुब्दा १८ महिने बालिकाको आइतबार घटनास्थलमा नै ज्यान गएको छ ।

मृत्यु हुनेमा रामेछाप नगरपालिका–७, सुकाजोर (देवीथान) बस्दै आएका अर्जुन ढकालकी छोरी १८ महिने लिला ढकाल रहेको प्रहरीले जनाएको छ । ढकालको स्थायी घर छिमेकी जिल्ला ओखलढुङ्गा भए पनि उहाँ केही समयदेखि परिवारसहित आफ्नो ससुराली घरमा रामेछापकाे सुकाजाेरमा बस्दै आउनुभएको थियो । 
    
घरमा बच्चा छाडेर आमाबाबु दुवै काममा गएको बेला छोरी खेल्दै जाँदा पानी राखेको ड्रमभित्र डुबेपछि बाहिर निस्कन नसक्दा उनको त्यहीँ ज्यान गएको हो । 

बाहिरको काम सकेर घरमा फर्किएका आमा बाबुले छोरीको खोजी गर्दै जाँदा ड्रमभित्र मृत अवस्थामा देखेपछि उनीहरुले गाउँलेहरुलाई खबर गरेका थिए । 

गाउँलेको खबरपछि घटनास्थलमा प्रहरी पुगेर घटनास्थल मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमको लागि पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयाे । 
    

अन्तिम अपडेट: चैत १, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया