बेखबर भनिएकी विष्णु माझी आइतबार श्रीमानसहित सुटुक्क स्याङजाकाे प्रहरी कार्यालय पुगिन्

 पुस २२, २०७५ आइतबार २०:५०:४८ | राधाकृष्ण डुम्रे

स्याङजा – चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङजामा उपस्थित भइन् । 

प्रहरीले खोजी गरेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट आउनुका साथै प्रहरीले सम्पर्क गरेसँगै गायिका माझी आफ्ना श्रीमान सुन्दरमणि अधिकारीसहित प्रहरी कार्यालयमा आइतबार मध्यान्हमा पुगेकी हुन् ।

लोक गायिक माझी बेखवर रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएसँगै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् ।

एसपी लम्सालले आफूले माझीका श्रीमान् सुन्दरमणिलाई बिहीबार फोन गरेर विष्णु माझी आफै आउने वा तपाईंले ल्याउने भनेपछि  सुन्दरमणि झस्केकाे बताउनु भयाे । लम्सालले सुन्दरमणिलाई यदि उनले नल्याए प्रहरीले ल्याउनु पर्ने अवस्था आउने भनेर कडा रुपमा प्रस्तुत हुनुपरेकाे पनि जानकारी दिनुभयाे ।

सुन्दरमणिले शुक्रबार र शनिबार आफू व्यस्त रहने भएकाले आइतबार आउने वचन दिएका र त्यसै अनुरुप सेतो रंगकाे ट्याक्सीमा आइतबार प्रहरी कार्यालयमा आएका थिए । उनीहरु सामान्य अवस्थामा प्रहरी कार्यालय भित्र प्रवेश गरेको बताइएको छ ।

प्रहरी कार्यालय आउँदा विष्णुले भने अनुहार छोपेकी प्रत्यक्षदर्शीले बताएका छन्।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रमुख जिल्ला अधिकारी निरौला, प्रहरी प्रमुख लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए ।

सुन्दरमणिसँगै बसेकी विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको लम्सालले बताउनुभयाे ।

यसअघि कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए । छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए । आफूहरुले अन्तरजातीय विवाह गरेका कारण छुटाउन खोजिएकाले बेखबर जस्तै हुनुपरेको सुन्दरमणिको भनाई थियो ।

 ‘विष्णुले आफू कम पढेको हुँदा बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको जिकिर गरिन्, साथै छलफलका क्रममा विष्णु र सुन्दरमणिले यस विषयमा मिडियालाई जवाफ दिन आवश्यक नभएको अभिव्यक्ति पनि दिए,’ लम्सालले भन्नुभयाे ।

विष्णुले छलफलका बेला पनि मुखबाट मास्क नहटाएपछि प्रहरी प्रमुख लम्सालले मास्क र पछ्यौरा हटाउन लगाएको बताउनु भयो । उहाँका अनुसार गायिका माझीकाे अनुहारमा कुनै चोट र खत थिएनन् । माझी र अधिकारीले पत्रकारसँग बोल्न नमानेकाे र कसैले केही सोध्दा वा फोटो खिच्न खोज्दा सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिएकाे प्रहरी प्रमुख लम्सालले बताउनुभयाे ।

विष्णुसँग परिवारका सदस्यहरुले साम‍ूहिक रुपमा भेटघाट गरेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि आएका थिए । 

अन्तिम अपडेट: चैत ३०, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया