ए डिभिजन लिग उपविजेता संकटा अन्तिम खेलमा पराजित

 पुस २३, २०७५ सोमबार १६:५७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा संकटा पराजित भएको छ । यसअघि नै दोस्रो स्थान हात पारिसकेको संकटा एपीएफ क्लबसँग २–१ ले पराजित भयो ।

एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा संकटालाई हराउनका लागि एपीएफका युवराज खड्का र राजन गुरुङले एक–एक गोल गरे । 

२४औँ मिनेटमा युवाराजले काउन्टर एट्याकमा गोल गर्दै एपीएफलाई अग्रता दिलाए । पहिलो हाफमा एक–शून्यको अग्रता कायम राखेको एपीएफले ७१औँ मिनेटमा अग्रता दोब्बर बनायो । यसपटक राजेन्द्र रावलको फ्रिकिकमा राजन गुरुङले गोल गरे । 

दोस्रो हाफको इन्ज्युरी समयमा लक्ष्मण रुचलको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएपछि संकटा खेलमा फर्किएको थियो । तर थप गोल हुन सकेन र संकटा पराजित भयो । यो नतिजाले दुवै टिमको पोजिसनमा कुनै फरक परेन । संकटा दोस्रो भयो भने एपीएफले पाँचौं स्थानमा लिग सकाएको छ । 

लिग अन्तर्गत भोलि यो संस्करणका अन्तिम खेल हुँदैछन् । एनआरटी र ब्रिगेड ब्वाइज तथा फ्रेण्ड्स र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । मनाङ मर्स्याङ्दी क्लबले दुई खेल अगावै लिग जितिसकेको छ ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया