आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा, १८ करोड ६६ लाख बिगो दावी

 पुस २३, २०७५ सोमबार १७:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

१८ करोड ६६ लाख ५ हजार बिगो दावीसहित अख्तियारले विशेष अदालतमा आज मुद्धा दायर गरेको आयोगकका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका सम्बन्धमा गरिएको अनुसन्धान गर्दा भ्रष्टाचार गरेको देखिएकाले आवश्यक कारबाहीका लागि मुद्धा दायर गरिएको उहाँले बताउनुभयो । 

सार्वजनिक सेवा प्रवेश गरेपश्चात खड्काले अहिलेसम्म आर्जन गरेको समग्र आय र व्ययको विश्लेषण गर्दा भ्रष्टाचार भएको देखिएको अख्तियारले जनाएको छ । 
खड्काले सार्वजनिक सेवा प्रवेश गरेपछि अहिलेसम्म ८ करोड ६४ लाख आय आर्जन गरेको देखिएको र २७ करोड ३० लाख रुपैयाँ खड्काको खर्च तथा लगानी देखिएको आरोप पत्रमा उल्लेख छ ।  

आयभन्दा लगानी बढी देखिएकाले लगानीको स्रोत नखुल्दा खड्काले भ्रष्टाचार गरेको दावीसहित अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो  । 

१८ करोड ६६ लाख ५ हजार रुपैयाँको स्रोत नखुलेकाले उक्त रकम जफत गर्न विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै खड्काले आर्जन गरेको गैरकानुनी सम्पत्तिमध्ये तेह्रथुमको बुढानिलकण्ठ –४, कि अमिता लामा सोदेम्बा र खड्काकी श्रीमती शर्मिला खड्काको नाममा रहेको चल अचल सम्पत्ति समेत जफत गर्नुपर्ने दायर गरिएको मुद्धामा उल्लेख छ ।   

साथै काठमाडौंका विभिन्न स्थानमा बनेका घर जग्गा खरिद गरेका जग्गा तथा विभिन्न बैंकमा रहेको रकम समेत जफत गरेर असुल उपर गर्नुपर्ने देखिएको अख्तियारले  अदालतमा जाहेर गरेको आरोप पत्रमा उल्लेख छ ।  

निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएपछि खड्काले पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको थियो । 

उहाँले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभएको थियो । उहाँले बिनाजिम्मेवारी नौ महिनासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थन्किएर बस्नु पर्दाको पीडा सैह्य नभएपछि पदबाट राजीनामा दिनु परेको पनि स्पष्ट पार्नु भएको थियो ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया