डाक्टर केसीले व्यक्त गरेका शब्दले उहाँलाई नै जिन्दगीभर लखेट्नेछ : सांसद भट्टराई

 पुस २३, २०७५ सोमबार १७:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले वरिष्ठ चिकित्सक गोविन्द केसीले आफूलगायतका सांसदलाई अपमानित हुने गरी टिप्पणी गरेको गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

सांसद भट्टराईले वरिष्ठ चिकित्सक केसीले सोमबार बिहान पत्रकार सम्मेलनमा आफूलगायतका सांसदमाथि ‘माफियाको पक्ष लिएको’ आरोप लगाएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनु भएको हो ।

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले वरिष्ठ चिकित्सक केसीका टिप्पणीहरुले आफ्नै स्तर स्खलित गराइएको उल्लेख गर्दै सचेत रहन पनि आग्रह गर्नुभयो ।

आफूसँग भएको सहमति विपरीत शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिको बहुमतले चिकित्सा शिक्षा विधेयक पास गरेपछि वरिष्ठ चिकित्सक केसी आक्रोशित भएका छन ।

त्यसै सम्बन्धमा पत्रकार सम्मेलन गरी उहाँले सांसद भट्टराईलगायतका सांसदहरुलाई ‘माफियाको पक्ष लिएको र जनतामारा काममा लागेको’ आरोप लगाउनु भएको थियो । समितिको बैठकमा वरिष्ठ चिकित्सक केसीको सो अभिव्यक्तिप्रति सांसद भट्टराईको आपत्ति थियो ।

‘समितिका सभापति, सदस्यहरु खगराज अधिकारी, भैरवबहादुर सिंह र मेरा नाम लिएर जे शब्द उच्चारण गरिएको छ । त्यो शब्दले वरिष्ठ चिकित्सक केसीलाई जिन्दगीभर लखेट्नेछ’, सांसद भट्टराईले भन्नुभयो ।

 

सांसद भट्टराईले पार्टीका शीर्ष नेताहरु प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालमाथि वरिष्ठ चिकित्सक केसीले प्रयोग गरेको शब्दले उहाँले स्तर स्खलित भएको दाबी पनि गर्नुभयो । उहाँले वरिष्ठ चिकित्सक केसीलाई अरुको इज्जत गरेर मात्रै आफ्नो इज्जत बाँकी रहन्छ भन्ने बुझ्न पनि आग्रह गर्नुभयो ।

सांसद भट्टराईले राष्ट्रिय चिकित्सा विधेयक संसदको सम्पत्ति भएकाले त्यसलाई संसदीय प्रक्रिया भित्रैबाट टुंगो लगाउने जवाफ पनि वरिष्ठ चिकित्सक केसीलाई दिनुभयो । भट्टराईलगायतका सत्तारुढ दलका सांसदहरुले अडान लिएपछि सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति विपरीत पारित भई समितिमा पेश गरिएको छ ।

समितिको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले भने वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अनुसार नै सो विधेयक समितिमा पारित हुनेपर्ने अडान राख्नु भएको थियो । उहाँले सरकारले निर्णय गरेर काठमाडौं उपत्यका बाहिर कलेज खोल्न सक्ने भन्दै सो विधेयकमा वरिष्ठ चिकित्सक केसीसँग भएको सहमतिको बुदा नहटाउन पनि पटकपटक आग्रह गर्नुभयो ।

सांसद थापाले अडान लिएपछि समितिले सो विधेयकका सम्बन्धमा ठोस निर्णय लिन सकेन । सो सम्बन्धमा ठोस निर्णय लिन समितिले बुधबार बिहान पुन बैठक बोलाएको छ । सहमतिमै चिकित्सा शिक्षा विधेयकलाई टुंगो लगाउन बुधबार बिहान १० बजे पुनः बैठक बोलाउने निर्णय गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

उपसमितिको बहुमतले पारित गरेको सो विधेयकमा वरिष्ठ चिकित्सक केसीले आपत्ति जनाउँदै शिक्षा तथा स्वास्थ्य समितिले तत्काल नसच्याए पुनः आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया