गोलाप्रथाद्धारा राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण हुने

 असार ३, २०७५ आइतबार १६:१७:५३ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रियसभा सदस्यको पदावधि छान्नका लागि सोमबार गोलाप्रथा गरिने भएको छ । 

संघीय संसद सचिवालयले आइतबार पत्रकार सम्मेलन गरी गोलाप्रथाको कार्यक्रमबारे जानकारी गराएको हो । राष्ट्रियसभा सदस्यको कार्यकाल २, ४ र ६ बर्षको हुने भन्ने संविधानले गरेको व्यवस्था अनुसार पदावधि तय गर्नका लागि गोलाप्रथा गर्न लागिएको हो ।

त्यसका लागि संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा गोलाप्रथा संञ्चालन मुल समिति नै गठन गरेको छ । गोलाप्रथामा राष्ट्रियसभा सदस्य आफै उपस्थित हुनुपर्ने छ । उपस्थित हुन नसके अख्तियारी प्राप्त व्यक्ति वा त्यसो पनि हुन नसके महासचिवले तोकेको व्यक्तिले अनुपस्थित सदस्यको तर्फबाट गोला थुत्ने छन् ।

गोलाप्रथालाई पूर्ण विश्वनीय बनाउन सचिवालयको कार्यविधि नै तय गरेको छ । कार्यविधि अनुसार पारदर्शी बट्टामा २ वर्ष, ४ वर्ष र ६ वर्ष लेखिएको गोला राखिनेछ । सबैभन्दा पहिला सात वटै प्रदेशका महिला सांसदहरुले क्रमशः गोला तान्ने छन ।

वट्टामा राखिएको गोला वर्णानुक्रम अनुसार सांसदहरुलाई बोलाएर टिपाउने व्यवस्था गरिएको पनि गोलाप्रथा संचालन मुल समितिका सदस्य सचिव दशरथ धमलाले जानकारी दिनुभयो । सांसदको टिपेको गोला संसद सचिवालयका महासचिव वा उहाँले तोकेको प्रतिनिधिले खोलेर देखाउने व्यवस्था पनि गरिएको छ ।

प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये १ जनाको २ वर्ष, एक जनाको ४ वर्ष र एक जनाको ६ वर्ष पदावधि हुनेगरी गोलाप्रथा बाट टुंगो लगाइनेछ । महिलापछि सातै प्रदेशबाट दलित तथा अल्पसंख्यक एवम अपांग सांसदहरुले गोला तान्ने व्यवस्था मिलाइएको छ ।

अन्य खुलाबाट निर्वाचित सबै प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट मनोनित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि आफैं निर्धारण गर्नेछन । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया