मानव अंग प्रत्यारोपण केन्द्र बनाउन एक करोड रुपैयाँ दान

 पुस २४, २०७५ मंगलबार ६:५३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – बन्दीपुर अस्पतालमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापनाका लागि एक परिवारले एक करोड रुपैयाँ दान गरेका छन् । पुर्ख्याैली घर बन्दीपुर भै अहिले चितवन बस्दै आएका कृष्णलाल भुषण, चिरञ्जीविलाल प्रधान र राधादेवी प्रधानले आफ्ना दिवंगत पिता तथा ससुराको स्मृतिमा केन्द्रको दुई तल्ले भवनका लागि एक करोड रुपैया दानको घोषणा गरेका हुन् । प्रधान परिवारले थप ५० लाख रुपैया सहयोग गर्ने तयारी समेत गरेको छ ।

जिल्लाको पहिलो अस्पतालको रुपमा रहेको बन्दीपुर अस्पतालको क्षमता विस्तार गरी मानव अंग प्रत्यारोपण केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ भवन निर्माण कार्य सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष एवं बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । ‘सकेसम्म मानव प्रत्यारोपण केन्द्र बनाउने तयारीका साथ काम शुभारम्भ गरेका छौँ’ उहाँले भन्नुभयो ‘विकल्पका रुपमा ज्येष्ठ नागरिक अस्पताल बनाउनेबारे पनि योजना निर्माण भइरहेको छ ।’ बन्दीपुर अस्पतालमा १५ शैयाको अस्पताल संचालन भइरहेको छ । 

सोमबार शिलान्यास गरिएको चार तल्ले भवन निर्माण पश्चात् आवश्यक पूर्वाधार विकास गरी सञ्चालन गर्ने गाउँपालिकाले योजना बनाएको छ । भवनको दुई तल्ला दाताबाट निर्माण भएको खण्डमा थप दुई तलाका लागि गाउँपालिका तथा प्रदेश तथा संघ सरकारबाट बजेट जुटाउने तयारी गरेको अध्यक्ष थापाले बताउनुभयो । अहिले दुई तल्लाको भवन निर्माणका लागि ६ करोड बजेट अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया