विभिन्न माग राख्दै बझाङ कारागारका कैदीबन्दी आन्दोलित

 असार ३, २०७५ आइतबार १७:१७:५९ | डीबी बिष्ट

बझाङ – जिल्ला कारागार बझाङका कैदीबन्दीहरु आन्दोलित भएका छन् ।

आफूहरुले जिल्ला कारागारमा थुप्रै समस्या भोगेको भन्दै उनीहरुले पकाएको खाना नै खान छोडी नाराबाजीसहित जिल्ला कारागारभित्रै आन्दोलन गरेका हुन् । 

उनीहरुको आन्दोनलको मुख्य विषयहरु शुद्ध खानेपानी, चर्पी, ढल निकास, स्वास्थ्य, सरसफाई र सूचनापाटी आदि हुन् ।

कारागारमा शुद्ध पिउने पानीको सट्टा खाने पानीका धाराबाट फोहोर र धमीलो पानी आउने गरेको उनीहरुको भनाई छ । पानी निरन्तर नअाउँदा पिउन, नुहाउन, खाना पकाउन, चर्पीमा प्रयोग गर्न पानीकाे समस्या हुने गरेको उनीहरुले दुखेसो पोखे । 

कहिले भातका सिता, कहीले धमीलो पानी र कहीले खच्चर, पशुचौपायाको दिसा पिसाब खानेपानीका धारामा आउने गरको उनीहरुको गुनासो छ ।

कुनैबेला पिउनका लागि नै पानी नहुँदा समस्या झेल्दै आएको नाईके लक्ष्मण रावलले बताउनुभयो । 

सरोकारवानी निकाय संग पटक पटक आग्रह गर्दा समेत सुनुवाई नै नभएका कारण आफुहरुले आन्दोलन गर्नु परेको बताए । 

यस्तै चर्पीमा दिसा पिसाब गर्दा बाहिरबाट पानी लैजानुपर्ने र चर्पी सफा गर्ने फिनाइल लगायतका सामान उपलब्ध नहुने समस्या पनि छ । 

त्यसबाहेक चर्पीको खाल्डो एक महिना नपुग्दै भरिएर फोहोर दिसा पिसाब बाहीर निष्कने गरेको कैदी बन्दीहरुले बताएका छन् ।

बाहिर भएको भए पानी मागेर वा कहीं धारा, खोलामा गएर पिउन मिल्थ्यो तर कैदीबन्दीलाई त्यो सुबिधा हुँदैन । 
त्यसैले आफूहरुले शुद्ध पिउने पानी पिउन पाउनुपर्ने उनीहरुको भनाई छ । 

यस्तै सरसरफाई गर्दा, जुठा भाँडा धुँदा निस्केको फोहोर पानी तथा वर्षायामको पानी निस्कासन पनि अर्को समस्या छ । कारागारभित्र फोहोर हुँदा लामखट्टेका कारण रात भरी जाग्राम बस्नुपर्ने बाध्यता भिन्दै छ । 

यस्ता समस्याका कारण जिल्ला कारागार भित्र रहेका कैदीबन्दीहरु प्राय आउँ तथा झाडापाखालाजस्ता राेगबाट ग्रसित हुनुपरेको  छ । 

यस्तै जिल्ला कारागार बझाङमा सूचनापाटीसमेत नभएको भन्दै हरेक सूचनाहरु अपडेट गर्नका लागि गेटबाहिर सूचनापाटी राखिनुपर्ने कैदीबन्दीहरुले माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले  २ वर्ष यता अनुगमन तथा निरीक्षण समेत नगरेको उनीहरुको भनाई छ । ८ जना थुनुवा र ४६ जना कैदी गरी अहिले जम्मा ५४ जना कैदीबन्दीहरु रहेका छन् । २५ कैदीबन्दी राख्ने क्षमता भएको जिल्ला कारागार बझाङमा क्षमताभन्दा दोब्बर भन्दा बढी कैदीबन्दीहरु रहेका छन् ।  

  
 

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया