ए डिभिजिन लिगमा रेकर्ड कायम गर्ने दाउमा रहेको मनाङलाई अन्तिम खेलमा फ्रेन्ड्सले हरायो

 पुस २४, २०७५ मंगलबार १६:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता टिम मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा भने पराजित भएको छ । 

लिगको अन्तिम खेलमा उसले फ्रेन्ड्ससँग १–० को हार व्यहोर्यो । जसले गर्दा मनाङ लिगका सबै खेलमा शतप्रतिशत नतिजा निकालेर उपाधि जित्ने कीर्तिमान बनाउनबाट चुक्यो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङ अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर टिम फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरीमा रोकियो । खेलको सुरुवातदेखि नै फ्रेन्ड्समाथि दबाब बनाएको मनाङले पुरै खेलमा आधा दर्जन गोल चुकाउन पुग्यो । १३ औँ मिनेटमा मनाङको प्रहारलाई फ्रेन्ड्सको डिफेन्सले बचायो । ४४ औँ मिनेटमा मनाङका अफिज ओलाओलेले निकै राम्रो मौका पाए पनि बललाई सही दिशा दिन सकेनन् । इन्जुरी समयको अन्तिममा ओलाओलेले मनाङका लागि गोल गरे पनि रेफ्रीले अफसाइड दिए ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ६० औँ मिनेटमा फ्रेन्ड्सका सन्जोक महर्जनको प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाए । त्यसपछि ६६ औँ मिनेटमा मनाङको अर्को प्रहारलाई फ्रेन्ड्सको डिफेन्स लाइनले बचायो । ७३ औँ मिनेटमा मनाङका अन्जन विष्टको प्रहारलाई फ्रेन्ड्स डेब लिम्बूले उत्कृष्ट बचाउ गरे ।

७९ औँ मिनेटमा फेरि अन्जनले पाएको उत्कृष्ट मौकालाई खेर फाल्दा मनाङका समर्थक चुकचुकाउन पुगे । ८५ औँ मिनेटमा फेरि मनाङको अर्को प्रहारलाई फ्रेन्ड्सले बचायो । अन्तिममा मनाङले दुई वटा सशक्त प्रहार गरेको थियो । तर दुवै प्रहार पोष्टबाहिर रहे । तर फ्रेन्ड्सले अन्तिममा गोल गर्दै मनाङविरूद्ध अग्रता बनायो । उसका लागि विकाश लामाले हेडर गोल गरे ।

हारपछि मनाङले १३ खेलबाट ३६ अंक बनाउँदै लिग टुंग्याएको छ । साथै उसले लिग विजेताका हिसाबले एएफसी कपमा सहभागिता जनाउन पाउनेछ । यता फ्रेन्ड्सले तीन अंक जोड्दै बटम थ्रीबाट माथि उक्लन सफल भयो ।

प्रतियोगिताको फेयर प्ले टिम ब्रिगेड ब्वाइज बन्यो । यस्तै उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ बने भने उत्कृष्ट डिफेन्डर थ्रीस्टारका रञ्जित धिमाल बने । बेष्ट मिडफिल्डर मनाङकै हेमन गुरुङ ठहरिए भने उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खवास बने । उनले लिगमा सात गोल गरेका थिए । उत्कृष्ट प्रशिक्षक मनाङका सुमन श्रेष्ठ बने । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले एउटा पल्सर मोटरसाइकल र ५० हजार रुपैयाँ पाए ।

यस्तै मणि विक्रम शाहकाे नाममा याे वर्षदेखि सुरू गरिएकाे उत्कृष्ट उदीयमान खेलाडीकाे उपाधि त्रिभूवन आर्मी क्लबका विकास खवास घाेषित भए । उनले एक लाख नगद पुरस्कार पाए ।

लिगमा शीर्ष ६ टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौं भएको एपीएफले ७ लाख र छैटौं भएको नेपाल पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया