केरुङ जाने कन्टेनर चालक तथा सहचालकलाई १५ दिने अनुमति दिइने

 पुस २५, २०७५ बुधबार १०:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – सामग्री आयातका लागि केरुङ जाने रसुवा बाहिरका कन्टेनर चालक तथा सहचालकलाई १५ दिनको अस्थायी प्रवेश अनुमति दिइने भएको छ ।

चीनसँगको व्यापारिक नाका रसुवागढीमा मंगलबार बसेको सीमा सुरक्षा बैठकले वान डे पास नपाउँदा द्विदेशीय व्यापारमा कठिनाई आएको अवस्थामा चालकलाई १५ दिने प्रवेश अनुमति दिने निर्णय गरेको हो । 

१५/१५ दिनमा अनुमतिको नवीकरण गर्नुपर्ने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । ‘यसअघि रसुवाका चालक मात्रै केरुङ जान पाउँथे, उहाँले भन्नुभयो, अबको दिन जिल्ला बाहिरका चालक पनि जान पाउँछन् ।’ 

रसुवा बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिने निर्णयमा उल्लेख छ । ‘अस्थायी अनुमति पाउनका लागि चालकसँग राहदानी हुनुपर्छ, उहाँले भन्नुभयो, कन्टेनर बाहेकका अन्य सवारी चालकले यो सुविधा पाउँदैनन् ।’ 

चीनको केरुङसम्म नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ । यसअघि जिल्ला बाहिरका चालकले रसुवागढीसम्म सवारी पुर्‍याउने गरेका थिए । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया