शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा विधेयक पारित गर्‍यो, कांग्रेस भन्छ : डाक्टर केसीलाई ठूलो धोका भयो

 पुस २५, २०७५ बुधबार १३:३६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको छ । 

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो । 

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरीतका बुँदाहरु पनि समावेश गरिएको भन्दै त्यस विधेयकमा फरक मत राखेका थिए । २३ जना समितिका सदस्यमध्ये १८ जना बैठकमा सहभागी भएका थिए । उनीहरुमध्ये १४ जना सांसदहरुको बहुमतले विधेयक पारित गरेको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिनुभयो । 

कांग्रेसका ४ जना सांसदहरुले भने विधेयकमा फरक मत राखेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुको बहुमतले विधेयक पारित गरेपछि त्यसमा असहमति राख्नु भएका समितिका सदस्य एवम् कांग्रेस सांसद गगन थापाले केसीको माग पूरा नगरी प्रतिवेदन पारित हुनु थियो भने किन सरकारले केसीसँग सहमति गरेको भन्दै प्रश्न पनि गर्नु भयो । उहाँले वरिष्ठ चिकित्सक केसीलाई सरकारले फेरि पनि ठूलो धोका दिएको प्रतिक्रिया दिनुभयो । 

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले भने विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै पारित भएको दाबी गर्नुभयो । उहाँले विधेयकले चिकित्सा क्षेत्रको सुधारमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

विधेयकको प्रस्तावना,  काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने, सीटीईभीटीको कार्यक्रम फेज आउट गर्नेलगायतका विषयमा समितिमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदबीच मत बाझिएको थियो ।

विधेयकमा यसअघि सम्बन्धन लिएका मेडिकल कलेजहरु खारेज नहुने व्यवस्था राखिएकोमा कांग्रेस सांसदहरुको आपत्ति छ । त्यही बुँदा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमति विपरीतको बुँदा पनि हो । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया