पाकिस्तानी टेलिभिजनले सुत्ने कोठा र अन्तरङ्ग दृश्य देखाउन नपाउने

 पुस २५, २०७५ बुधबार २०:४९:३१ | रासस
unn.prixa.net

इस्लामाबाद – पाकिस्तानका टेलिभिजन च्यानलले शयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् । 

पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो । पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण (पीईएमआरएंले अश्लील दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मङ्गलबार जारी गरेको छ । 

निर्देशनमा सञ्चारमाध्यमसम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न र देशको सामाजिक अवस्थाको ख्याल गर्न आग्रह गरिएको छ । 

‘पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय दृश्यका बारेमा व्यापक गुनासा र आलोचना भएकाले अश्लील लाग्ने दृश्य कटौती गर्न तथा प्रसार नगर्न आग्रह गरिन्छ ।’ पीईएमआरएद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

वक्तव्यमा लेखिएको छ, ‘भद्दा र अशोभनीय दृश्य, संवाद, विवाहपछिका क्रियाकलाप, हिंसात्मक गतिविधि, अपर्याप्त पोशाकका कारण उत्तेजक अवस्था, बलात्कारका दृश्य, शयन कक्षभित्रको दृश्य, मादक पदार्थ र लागुऔषधको प्रयोग गरेको दृश्य, महिला र पुरुषको अन्तरङ्ग सम्वन्धलगायतले पाकिस्तानी संस्कृति र मूल्यमान्यतालाई असर पर्ने भएकाले त्यस्तो नदेखाउनु हुन आग्रह गरिन्छ ।’
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया