परराष्ट्रमन्त्री ज्ञवाली र जापानी समकक्षी कोनोबीच भेटवार्ता, नेपाली कामदार जापान लैजाने विषयमा पनि छलफल

 पुस २५, २०७५ बुधबार २१:१६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर-रासस

काठमाडौं – नेपालको दुईदिने भ्रमणमा रहनु भएका जापानका विदेश मन्त्री तारो कोनो र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ । 

द्विपक्षीय भेटवार्तापछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दुई महिनाको अन्तरालमा आफूले जापानी समकक्षीलाई दोस्रो पटक भेट्न पाएकोमा अत्यन्तै खुशी भएको बताउनुभएको छ ।

भेटका अवसरमा भर्खरै नेपाल र जापानबीच सन् १९९३ मा हस्ताक्षर गरिएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्रहरुको आदानप्रदानमा हस्ताक्षर भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । यो हस्ताक्षरपश्चात् हाम्रा दुई देशबीच सीधा उडान सञ्चालन गर्न मार्गप्रशस्त हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । त्यसैगरी नेपाल र जापानका परराष्ट्र मन्त्रालयहरुबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्नेसम्बन्धी सहयोगपत्रमा हस्ताक्षर भएको छ।

भेटघाटका अवसरमा जापान सरकारले ल्याएको नयाँ अध्यागमन नीति अनुसार नेपाली श्रमिकहरु जापान पठाउने विषयमा पनि छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

नयाँ व्यवस्था अनुसार नेपाललाई एक श्रोत मुलुकको रुपमा समावेश गरेकोमा जापान सरकारलाई धन्यवाद परराष्ट्र मन्त्री ज्ञवालीले धन्यवाद दिएको जानकारी दिनुभयो । यससम्बन्धी सहयोगपत्र जतिसक्दो छिटो सम्पन्न गर्न दुवै देश सहमत भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । 

भेटवार्तापछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नु भएको सम्बोधन

१.जापानका परराष्ट्रमन्त्री महामहिम तारो कोनोलाई नेपालमा स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। हामी दुई महिनाभन्दा कम समयमा दोश्रो पटक भेट्दैछौ। 

२.भर्खरै विदेशमन्त्री महामहिम तारो कोनोसँग नेपाल-जापान सम्बन्धका सबै पक्षहरु तथा साझा चासोका क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयहरुमा बृहत् एवं फलदायी छलफल भयो।

३. मैले नेपालको आर्थिक सामाजिक विकासका प्रयासहरुमा जापान सरकारले पुर्याएको निरन्तर एवं निःशर्त सहयोग तथा समर्थनको लागि कृतज्ञता व्यक्त गरेँ। 

४. हाम्रा दुई देशहरुबीच घनिष्ठ,सौहार्द तथा सहयोगात्मक सम्बन्ध रहेको छ। हामीले जापानसँगको सम्बन्धलाई ठूलो महत्व दिई आएका छौं।जापान नेपालको एक प्रमुख विकास साझेदार तथा नेपालमा लगानी र पर्यटनको एक प्रमुख श्रोत मुलुक समेत रहेको छ । 

५.तपाँईहरु सबै जानकार नै हुनुहुन्छ - समृद्ध नेपाल, सुखी नेपालीूको मूल नारा लिएर नेपाली जनताको समृद्धिको लागि आर्थिक रुपान्तरणगर्ने वर्तमान सरकारको प्रमुख एजेण्डा हो ।हामीले जतिसक्दो चाँडो अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने तथा सन् २०३०सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएका छौं। यी लक्ष्यहरु प्राप्तिका लागि सहयोग उपलब्ध गराउने आश्वासनका लागिमैले जापान सरकारलाई धन्यवाद दिएँ । नेपालमा भूकम्प पश्चात् भइरहेको पूनर्निर्माणमा जापान सरकारको सहयोगको लागि समेत धन्यवाद दिएँ।

६.  हामीले भर्खरै नेपाल र जापानबीच सन् १९९३ मा हस्ताक्षर गरिएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्रहरुको आदानप्रदानमा हस्ताक्षर गर्‍यौँ।यस हस्ताक्षर पश्चात् हाम्रा दुई देशबीच सीधा उडान सन्चालन गर्न मार्ग प्रशस्त हुनेछ। त्यसैगरी नेपाल र जापानका परराष्ट्र मन्त्रालयहरुबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्ने सम्बन्धी सहयोगपत्रमा हस्ताक्षर भएको छ। यस सहयोगपत्रबाटदुवै देशहरुलाई सहयोगका कार्यविधिहरुमा छलफल गर्न,द्विपक्षीय सम्बन्धका सबै पक्षहरुको समीक्षा गर्न,सहयोगका नयाँ क्षेत्रहरु पहिचान गर्न तथा साझा चासोका क्षेत्रीय एवं अन्तरराष्ट्रिय विषयहरुमा विचार आदानप्रदान गर्न एक मन्च प्राप्त हुनेछ।

७. हामीले बैठकमा पूर्वाधार निर्माण,कनेक्टिभिटी तथा उर्जा क्षेत्रहरुमा द्विपक्षीय सहयोगका बारेमा छलफल गर्यौ। यसका साथै नेपालका प्राथमिकताका क्षेत्रहरुमा जापानी लगानी तथा आगामी मार्च २०१९ मा हुने लगानी सम्मेलनमा बढी भन्दा बढी जापानी लगानीकर्ता तथा उद्यमीहरुको सहभागिताका बारेमा समेत छलफल गर्‍यौं। 

८.  भेटघाटकाअवसरमाजापान सरकारले ल्याएको नयाँ अध्यागमन नीति अनुसार नेपाली श्रमिकहरु जापान पठाउने विषयमा पनि विचारहरुको आदानप्रदान भयो।

 

नयाँ व्यवस्थाअनुसार नेपाललाई एक श्रोत मुलुकको रुपमा समावेश गरेकोमा जापान सरकारलाई धन्यवाद दिएँ। यससम्बन्धी सहयोगपत्र जतिसक्दो छिटो सम्पन्न गर्न हामी दुवै सहमत भएका छौं।

९.    नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि जापानमा नेपालको प्रचार प्रसार गर्न हामीले दुवै पक्षको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका छौं। 

१०.    द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन निरन्तर उच्चस्तरीय भ्रमणको आदानप्रदान हुनुपर्नेमा दुवै पक्षले जोड दिएका छौं।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया