कारागारका कैदीलाई पुस्तकालय

 पुस २६, २०७५ बिहिबार ११:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – कर्णाली प्रदेश सरकारको निर्देशनमा प्रदेशका कारगारमा कैदीहरुलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना हुने भएको छ ।  

जिल्ला प्रहरी कार्यालय जुम्लाले एक कार्यक्रमको आयोजना गरेर कारागारका कैदीहरुलाई अध्ययनका लागि पुस्तकहरु संकलन सुरु गरेको छ । 

कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तर्गत कारागारमा पुस्तक संकलन गरेर कैदीहरुलाई अध्ययनशील बनाउन प्रयास गरिने छ । जिल्ला राजनैतिक दल, नागरिक समाज र सरोकारवाला निकायहरुको उपस्थितिमा यो कार्यक्रम सुरु गरिएको हो । 

अब काररागारमा एक कोठामा पुस्तकालय हुने प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले पुस्तक संकलन अभियान गरेका छौँ ।’

कार्यक्रममा पत्रकार कर्णबहादुर भण्डारी र डिवी बुढाले जिल्ला प्रहरी कार्यालयलाई ३० वटा पुस्तक हस्तान्तरण गरेका छन् । पत्रकार भण्डारीले २४ र बुढाले ६ किताब कारागारमा राख्न प्रहरी नायव उपरीक्षक सिताराम रिजाललाई हस्तान्तरण गरेका हुन् । 

यसैगरी पुस्तक संकलन गर्नका लागि ११ सदस्यीय उपसमितिसमेत गठन भएको छ । निर्देशिका अनुसार जिल्ला प्रहरी कार्यालय प्रमुखको संयोजकत्वमा महिला, पत्रकार, उद्योगी र सरोकारवाला निकायहरुको सहभागिता समिति गठन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

कारागारको समयलाई समेत उत्पादनशील, अध्ययन तथा ज्ञानवर्दक शिक्षाका लागि कर्णाली प्रदेश सरकार विशेषगरी आन्तरिक मामिला तथा कानुनमन्त्रालयले यो अभियान सुरु गरेको हो । 

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कार्यक्रम निकै राम्रो भएको बताउनुभयो । किताब संकलन भएपछि पुस्तकालय सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यो अभियान कर्णाली प्रदेशभर संचालन हुने बताइएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया