मेलम्चीको काम पूर्ण रुपमा ठप्प, ठेकेदार कुर्दै सरकार

 पुस २६, २०७५ बिहिबार १२:१५:४७ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं - निर्माण कम्पनीका अधिकारीहरु नेपाल छाडेर इटाली फर्केपछि मेलम्ची खानेपानी आयोजनाको काम पूर्ण रुपमा ठप्प भएको छ । 

निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै मेलम्चीको पानी काठमाडौंका बासिन्दाले प्रयोग गर्न पाउने भनेर बाँडिएको आश्वासन पनि हावादारी सावित भएको छ । 

ठेकेदारले काम रोकेपछि आयोजना सम्पन्न हुने नहुने भन्नेमै अन्यौल देखिएको छ । 

मन्त्री बने लगत्तै खानेपानी मन्त्री बीना मगरले २०७५ को दशैँ अगाडि नै मेलम्चीको पानी काठमाडौं उपत्यकाका बासिन्दालाई खुवाउने आश्वासन दिनुभएको थियो । तर पटक पटक समय सार्दै पछिल्लो समयमा भने ठेकेदारले नै हात झिकेपछि आयोजना पूर्ण हुनेमा अन्योल देखिएको छ ।  

काम छोडेर इटाली फर्केको ठेकेदार कम्पनी फेरि आउने प्रतिक्षामा खानेपानी मन्त्रालय छ । मन्त्रालयका प्रवक्ता सहसचिव शंकरप्रसाद सुवेदीले अहिले ठेकेदारलाई पर्खेर बस्नुबाहेक अरु प्रगति नरहेको बताउनुभयो । 

ठेकेदारलाई पर्खनु बाहेक मन्त्रालयसँग अर्काे विकल्प नरहेको पनि उहाँले बताउनुभयो । 

ठेकेदार कम्पनीका प्रतिनिधि सोमबार आउने जानकारी गराएको भए पनि अझैसम्म मन्त्रालयमा ठेकेदारका कुनै पनि प्रतिनिधि सम्पर्कमा नआएको प्रवक्ता सुवेदीले बताउनुभयो । ‘कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली नै आउने भन्ने कुरा थियो, तर उनीहरु आए नआएको बारे मन्त्रालयलाई जानकारी छैन’ उहाँले भन्नुभयो ।  

वित्तीय संकटमा फसेपछि काम छोडेर सिएमसीका प्रतिनिधिहरु इटाली गएका थिए । सोमबार कम्पनीका प्रतिनिधिहरु आउने भने पनि अझैसम्म नआएपछि उनीहरु फर्कन्छन् वा फर्किन्नन् भन्नेमा मन्त्रालय नै अन्यौलमा छ । 

आयोजना अघि बढाउने उपाय खोजिंदै

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरका अनुसार ठेकेदार इटाली फर्किँदासम्म ९० प्रतिशत आयोजनाको काम सकिएको छ । 

सुरुङको ढलान गर्ने तथा फिनिसिङ गर्ने काम सकिएको, सुन्दरीजलको प्रशोधन केन्द्रको निर्माण पूरा भएको भन्दै सचिव ठाकुरले आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । 

पछिल्लो विकसित घटनाक्रमले आयोजना निर्माण कार्यलाई केही असर पारे पनि काम प्रभावित नहुने गरी समस्या समाधानको पहल भइरहेको ठाकुरले बताउनुभयो ।  

‘हामी पछिल्लो विकशित घटनाक्रमलाई समाधान गर्दै अघि बढ्ने प्रयासमा छौँ,’ सचिव ठाकुरले भन्नुभयो, ‘अब कसैको कारणले पनि आयोजनाको काम रोकिने छैन, आयोजना पूरा गर्न मन्त्रालय आफै सक्षम छ ।’

अब मेलम्ची धेरै पर नभएको भन्दै सचिव ठाकुरले काम जतिसक्दो छिटो सक्ने गरी उपाय खोजी भइरहेको बताउनुभयो ।  

अझै धेरै काम गर्न बाँकी 

तर सचिव ठकुरले भने झैं आयोजना सहजै पूरा हुने छाँट भने देखिदैन । आयोजनामा अझै धेरै काम गर्न बाँकी छ । अझैसम्म सुरुङभित्र भेन्टिलेसन साफ्ट बनाउन बाँकी नै छ । 

२७ किलोमिटर सुरूङमा सेन्सर क्यामेरा राख्ने कामको सुरू नै हुन सकेको छैन । अडिट टनेल बन्नै बाँकी छ । हेड वक्र्स तथा अन्य महत्वपूर्ण काम सुरु नै हुन सकेको छैन । 

यी सबै काममा यदि कुनै रोकावट नभई निरन्तर भएमा पनि सकिन कम्तिमा ६० दिन भन्दा बढी लाग्ने आयोजनाले नै जनाएको छ । तर ठेकेदार अझैसम्म नफर्कँदा आयोजनाको काम निरन्तर पछाडि धकेलिएको छ । 

क्रिसमसको केही दिन अघिदेखि ठप्प भएको आयोजनाको काम अझैसम्म अगाडि बढ्ने सुरसार छैन । ठेकेदारले काम छाडेपछि पछिल्लो पटक संसदीय समितिले मन्त्री मगरसँग आयोजनाको बारेमा जानकारी लिएको थियो ।

समितिमा मन्त्री मगरले यही ठेकेदारबाट आयोजनाको काम सक्काउने गरी सहमतिको प्रयास भइरहेको बताउनु भएको थियो । यो ठेकेदार सहमतिमा नआए मन्त्रालय अन्य विकल्पमा गएर भए पनि आयोजना सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता मन्त्री मगरले दोहोर्याउनु भएको थियो । 

रकम रोक्का

मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी सुरुङ मार्गको काम अन्तिम चरणमा पुगेको अवस्थामा काम गर्न पैसा नभएको भन्दै ठेकेदार कम्पनीले साइट छाडेको थियो । 

काम छाडेपछि सरकारले ठेकेदार कम्पनीको धरौटी रकम रोक्का गरेको थियो । सरकारले धरौटी रकम रोक्का गरेपछि ठेकेदार कम्पनी अदालत पुगेको थियो । तर अदालतले सरकारलाई ठेकेदार कम्पनी सिएमसीको धारैटी जफत गर्न बाटो खोलिदियो ।  

अदालतले नै धरौटी रोक्न बाटो खोलिदिएपछि अब ठेकेदार कम्पनी सीएमसी काममा पर्कने विश्वासमा मन्त्रालय बसेको छ । मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदी ठेकेदार कम्पनी ढिलो चाँडो काममा फर्कनुको विकल्प नरहेको बताउनुहुन्छ ।

‘काममा केही ढिलाइ हुन गए पनि अदालतले हाम्रो पक्षमा निर्णय दिएकाले उनीहरु काममा फर्कनुको अब विकल्प छैन, काममा नफर्किए धरौटी रकम जफत गरेर मन्त्रालय अघि बढ्छ,’ उहाँले भन्नुभयो । ठेकेदार कम्पनीले नयाँ सहमति गरेर काम थाल्नेमा खानेपानी मन्त्रालयका अधिकारीहरु आशावादी भने देखिन्छन् ।

सरकारले विसं २०६५ मा यो आयोजना निर्माण गर्न ‘सिआरसिसिसी’ नामक चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीले २०६९ असोज ९ गते सम्झौता भंग गरेपछि सरकारले २०७० असार ३१ गते इटालीको ‘सिएमसी’सँग निर्माणको सम्झौता गरेको हो ।

सिएमसीले ३६ महिनामा काम सक्ने गरी ठेक्का सकारेको भए पनि त्यसमा २४ महिना समय थप गरिसक्दा पनि काम सकिएको छैन । 

सिएमसीले तनहुँ जलविद्युत आयोजनाको पनि ठेक्का पाएको छ । मेलम्चीकै ठेक्का अपुरो छाडेर कम्पनी हिड्न खोजेपछि तनहुँ जलविद्युत आयोजना पनि के हुन्छ भन्नेमा अन्योल छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया