युवतीले मुटु चोरिन् भन्दै प्रहरीमा उजुरी दिएपछि...

 पुस २६, २०७५ बिहिबार १५:१५:४४ | एजेन्सी
unn.prixa.net

गरगहना, पैसा तथा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेको त तपाईँहरुले सुन्नुभएकै छ होला । कतिपयले त आफ्नै सामान चोरी भएको उजुरी पनि टिपाइसक्नुभएको होला । तर कसैले आफ्नो मुटु चोरी भएको उजुरी टिपाएको समाचार सुन्दा तपाईँलाई अनौठो लाग्न सक्छ । 

हो, त्यस्तै अनौठो उजुरी परेको छ महाराष्ट्रको नागपुर प्रहरीमा । भारत नागपुरका एक युवाले प्रहरी चौकीमा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएका छन् । ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी अचम्म परे । 

एउटी युवती आफ्नो मुटु चोरी गरेर भागेकी र चोरी भएको मुटु प्रहरीले खोजेर ल्याइदिनुपर्ने भन्दै उजुरी दर्ता गर्न ती युवा प्रहरी चौकी आइपुगेका थिए ।
चोरी भएका सामानहरु फिर्ता ल्याइदिने भनेर उजुरी आउनु त प्रहरीमा सामान्य नै हो । तर मुटु नै चोरी भएको उजुरी आएपछि ड्यूटीमा खटिएका प्रहरीले यो विषयमा के गर्ने भनेर माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए । 

त्यहाँका एकजना उच्च अधिकारीले बताएअनुसार, यो घटना नागपुरको एक प्रहरी चौकीमा भएको थियो । 

ती युवाले प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दै यो समस्याको समाधान गरिदिनुपर्ने माग गरेका थिए । तर प्रहरीका उच्च अधिकारीहरुले यस्तो प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको भन्दै ती युवालाई घर फर्केर जान आग्रह गरेका थिए  ।

नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले आफूहरुकोमा असामान्य घटनाका बारेमा पनि उजुरी आउने भन्दै यसको बारेमा गएको हप्ता खुलासा गरेका थिए । चोरी भएको एक लाख तीस हजार बराबरकोे सामान सामानधनीलाई फिर्ता गर्न आयोजित एक कार्यक्रममा बोल्दै उनले यस घटनाको पनि खुलासा गरेका थिए ।

पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘चोरी गरिएका सामानहरु त हामीले फेला पारेर फिर्ता गर्न सक्छौँ तर कहिलेकाहीँ भने हामीकहाँ यस्ता उजुरी पनि आउने गर्छन्, जसलाई समाधान गर्नै सकिँदैन ।’


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया