म प्रोफिट-मेकिङ अस्पतालमा जाँदिन, गएँ भने सरकारीमै जानेछु: पूर्व राष्ट्रपति डा. यादव

 पुस २६, २०७५ बिहिबार १८:३८:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादबले आफू चिकित्सा पेशामा फर्कने इच्छा रहेको भन्दै सरकारी अस्पतालमा मात्रै जाने बताउनु भएको छ ।

बिहिबार रिपोर्टर्स क्लब दाङकाे साक्षात्कारमा उहाँले भन्नुभयो,‘मेरो एउटा सीमा छ, म प्रोफिट-मेकिङ अस्पतालमा जाँदिन,’ डा.यादवले भन्नुभयाे, ‘यदि म गएछु भने सरकारी अस्पतालमै जानेछु ।’

उहाँले काठमाडाैंमा भए बीर र टिचिङमा अनि मोफसलमा भए गृहजिल्ला जनकपुरमा जान सक्ने इच्छा जाहेर गर्नुभयो । आफू नेपाली कांग्रेसबाट प्रथम राष्ट्रपति हुने सौभाग्यसमेत मिलेको  हुँदा कांग्रेसका नेताहरुले बीपी, गणेशमानका नामबाट खोलिएका अस्पतालमा जान सुझाएको भए पनि त्यहाँ जान नसक्ने उहाँले बताउनुभयो ।

आफू बीपी, गणेशमान र महेन्द्र नारायण निधिको मात्रै नभएर अन्तिम समयमा  कृष्णप्रसाद भट्टराईको पनि फिजिसयन डाक्टर भएर काम गरेको स्मरण गर्दै डा.यादवले मनमोहन लगायतका नेताहरुको नाममा पनि अस्पताल खुलेको हुँदा उहाँहरुको नाम बदनाम गर्न कोही पनि लाग्न नहुने धारणा राख्नुभयो । ‘उहाँहरु सबैको  लोकतन्त्र प्राप्तिमा ठूलो योगदान छ,त्यसैले उहाँहरुको सम्मान गर्नुपर्छ,’ यादवले भन्नुभयो ।

डा यादवले बर्तमान संविधान कार्यान्वयनमा चिन्ता ब्यक्त गर्नुभयो । संविधान कार्यान्वयनमा देखिएका समस्याहरु प्रती आशका गर्दै कार्यान्वयनमा चिन्ता ब्यक्त गर्नुभएको हो ।

डाक्टर यादवले भन्नुभयो, ‘म जहाँ जान्छु, संविधान कार्यान्वयनमा जोड दिँदै आएको छु । यसो गर्दा सरकारलाई केही न केही दबाब पुग्नेछ भन्ने आशा लिएको छु,’ पूर्व राष्ट्रपति यादवले भन्नुभयो ।

साक्षात्कार कार्यक्रममा उहाँले संविधान अक्षरश: कार्यान्वयन हुनुपर्ने धारणा राख्दै  मुलुकलाई सही ढङ्गबाट सञ्चालन गर्न पनि संविधान कार्यान्वयन हुनुपर्छ भन्ने आम जनताको आशा र भरोसा जस्तै आफ्नाे पनि त्यही चाहना भएकाे प्रष्ट पार्नुभयो ।

कार्यक्रममा डा. यादवले आफ्नो रुची र चाहना वातावरणीय पक्षमा काम गर्ने रहेकाे पनि रहेको बताउनुभयो । हिमाल, पहाड र तराईको वनजंगल तथा  वातावरण कसरी जोगाउन सकिन्छ भन्ने बारेमा आफूलाई बढी चिन्ता लाग्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले समाजको सद्भावलाई कसरी जोड्ने, क्षेत्रीय र जातीय सद्भाव कसरी दिगो राख्ने तथा राष्ट्रिय एकतालाई कसरी बलियो बनाउने भन्ने चिन्ता रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया