अपरिचित युवकको शवको पहिचान नभएपछि प्रहरीले गर्‍यो दाहसंस्कार

 पुस २६, २०७५ बिहिबार १९:४०:१९ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – नौ दिनअघि ज्यान गुमाएका एक अपरिचित युवकको आज जिल्ला प्रहरी कार्यालय सल्यानले लाशको सद्गत गरेको छ ।

जिल्ला अस्पताल सल्यानको पछाडि रहेको सामुदायिक जंगलमा वडा नम्बर ३ का वडाध्यक्ष टोपबहादुर थापाको रोहबरमा स्थानीयको सहभागितामा शवको सद्गत गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरिराज भण्डारीले जानकारी दिनुभयो । 

पुस १७ गते दिउँसो ज्यान गुमाएका अपरिचित युवकको पहिचान खुल्न नसक्दा प्रहरीले आज दशौँ दिनमा शवको सद्गत गर्नु परेको उहाँले जानकारी दिनुभयो । विभिन्न सञ्चार माध्यम, पत्रपत्रिका र स्थानीय एफएम रेडियोबाट जिल्लामा अपरिचित युवक भेटिएको समाचार प्रकाशन तथा प्रसारण गरिएको भए पनि कसैले खोजीकार्य नगरेपछि युवकको पहिचान समेत खुल्न सकेको थिएन ।  

सल्यानको शारदा नगरपालिका –१४,ढांरखानी जंगलमा पुस १५ गते अचेत अवस्थामा फेला परेका अन्दाजी २६ वर्षका युवकलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घाइते युवकको अस्पताल सल्यानमा उपचार गराएको थियो । नाम ठेगाना नखुलेका ती पुरुषलाई कसैले चिनेको खण्डमा आफन्तलाई वा प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो ।

शव गृहमा शव राख्ने फ्रिज नहुँदा समस्या 

जिल्ला अस्पताल सल्यानमा शव राख्ने फ्रिज नहुँदासमस्या हुने गरेको छ । विभिन्न कारणले ज्यान गुमाएका र मृत्यु भएका व्यक्तिको शव पोष्टमार्टम गर्न  जिल्ला अस्पतालमा ल्याइन्छ । तर शवगृहमा लाश राख्ने फ्रिज नहुँदा समस्या हुने गरेको जिल्ला अस्पताल सल्यानका डाक्टर अर्जुन बुढाले भन्नुभयो । 

‘जिल्ला अस्पतालमा ल्याइने शव कहिलेकाँही चार–पाँच दिनसम्म राख्नु पर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘अहिले भर्खरै मात्र अपरिचित युवकलाई दश दिनसम्म राख्नुपर्यो, फ्रिज नहुँदा तीन–चार दिनमै शव गन्हाउन थाल्छ, वातावरण दुर्गन्धित हुन्छ, यो अवधिमा अर्को शवको पोष्टमार्टम गर्नु परेमा गर्नै सकिँदैन, कम्तीमा दुईवटा फ्रिज मात्रै राख्न सकियो भने पनि सहज हुन्थ्यो ।’

जिल्ला अस्पताल सल्यानका प्रमुख बुढाले दुईवटा लाश राख्ने फ्रिजलाई करिब ६ लाखको लाग्ने बताउनुभयो । ‘अस्पतालमा अहिले रकम अभाव छ’, उहाँले भन्नुभयो, ‘कतैबाट सहयोग प्राप्त भएमा अस्पताललाई ठूलै राहत पुग्ने थियो ।’ 

शव गृहमा लाश राख्ने फ्रिजको व्यवस्था गर्छौँ : मेयर अधिकारी

शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले जिल्ला अस्पतालको शव गृहमा छिट्टै लाश राख्ने फ्रिजको व्यवस्था गर्ने बताउनुभयो । मेयर अधिकारीले यस विषयले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिनुभयो । 

‘अस्पतालको शव गृहमा लाश राख्ने फ्रिजको आवश्यकता रहेछ’, उहाँले भन्नुभयो, ‘यतातिर हामी कसैको ध्यान गएको थिएन्,यो गम्भीर विषय हो जस्तो मलाई महसुस भयो, अब छिट्टै अस्पताल विकास बोर्डसँग बसेर यस विषयमा छलफल गरी कुरा अगाडि बढाउछौँ ।’
 

अन्तिम अपडेट: चैत १३, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया