बर्दियाको ठाकुरद्वारामा माघी तथा पर्यटन महोत्सव २०७५ आयाेजना हुने

 पुस २६, २०७५ बिहिबार २०:१८:१७ | भावुक योगी

बर्दिया - पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा ‘बर्दिया माघी तथा पर्यटन महोत्सव २०७५’ आयोजना हुने भएको छ । 

बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि ठाकुरद्वाराको ऐतिहासिक ठाकुरद्वारा मन्दिर परिसरमा बर्दिया माघी तथा पर्यटन महोत्सव २०७५ आयोजना गर्न लागिएको जिल्ला समन्वय समितिका अध्यक्ष शंकर थारुले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समितिले सदरमुकाम गुलरियामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष शंकर थारुले कृषि र पर्यटन प्रवर्द्धनका लागि बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गर्न अरु महोत्सवभन्दा फरक ढंगबाट महोत्सव आयोजना हुन बताउनुभयो । 

प्रचारप्रसारका लागि बर्दियाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको परिचयसहित ब्रोसर र डकुमेन्ट्री तयार गरिएको उहाँले बताउनुभयो ।

बर्दियाको कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउने उदेश्यका साथ राज्यको पुर्नसंरचनासँगै स्थानीय तह भएपछि यस क्षेत्रमै पहिलो पटक पुस ३० गते बेलुकादेखि माघ ४ गतेसम्म महोत्सवको आयोजना हुन लागेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो । 

यस क्षेत्रको मौलिक कला, संस्कतिको जगेर्ना गर्दै बर्दियालाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बर्दियाका ८ वटै स्थानीय तह र सरोकारवाला निकायहरुको सहयोग रहेको छ । 

परम्परादेखि यस मन्दिर परिसरमा हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने भएकाले यसपटक मेलालाई महोत्सवको रुप दिइएको भएपनि महोत्सव प्रवेशका लागि शुल्क नलाग्ने आयोजकले जनाएको छ । 

झण्डै २ सय व्यापारिक स्टलहरु रहने माघी तथा पर्यटन महोत्सवमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु रहने र अनुमानित झण्डै ३ करोड बराबरको व्यापारिक कारोबार हुने ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष डिलराज पौडेलले बताउनुभयो । 

महोत्सवमा राष्ट्रिय कलाकारसँगै स्थानीय थारु कला संस्कृति र देउडा संस्कृति प्रदर्शनी तथा कृषिजन्य वस्तुहरुको प्रदर्शनी रहने जनाइएको छ । महोत्सव जिल्ला समन्वय समिति बर्दिया र सम्पूर्ण स्थानीय तहहरुको आयोजनामा ठाकुरद्वारा मन्दिर तथा विकास समितिको मुख्य व्यस्थापनमा हुन लागेको हो । 
भौतिक योजना तथा यातायात मन्त्री रघुविर महासेठद्धारा महोत्सव उद्घाटन हुने आयोजकले जनाएको छ । 

महोत्सवमा आउने मन्त्रीसँगै बर्दियासहित छिमेकी जिल्लाका संघ र प्रदेशका सांसदहरु र स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको टोलीले पहिलो दिन ठाकुरद्वारा महोत्सव उद्घाटन पश्चात बर्दियाका आठ ओटै स्थानीय तहभित्र रहेका प्रमुख पर्यटकीय स्थलको अवलोकन गर्ने र ४ गते बढैयातालमा समापन गर्ने जनाईएको छ ।

यस्तै माघीकै अवसर पारेर पुस २८ र २९ गते सदरमुकाम गुलरियामा माघी मिलन तथा शुभकामना आदानप्रदान सांगितिक कार्यक्रम आयोजना गरिने माघी उत्सव मूल तयारी समितिका संयोजक छविलाल थारुले जानकारी दिनुभयो । 

ऐतिहासिक ठाकुरद्वारा मन्दिरको महत्व

प्रत्येक वर्ष माघे संक्रान्तिका दिन मन्दिरमा विशेष पूजाआजा गरिने र परम्परागत माघी मेला लाग्ने गर्छ ।

माघे संक्रान्तिको अघिल्लो दिनदेखि माघ ४ गतेसम्म लाग्ने परम्परागत माघी मेलामा बर्दियासहित दाङ, बाँके, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी राष्ट्र भारतबाटसमेत ठाकुरद्वारा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

मन्दिरको स्थापना अभिलेख केहि नभेटीए पनी करिब ३ सय वर्षअघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र भगवानको ढुङ्गाको मूर्ति फेला परेको र सो ठाउँबाट उचाल्न नसकेपछि त्यसै ठाउँमा राखिएको धार्मिक किम्वदन्ती रहेको छ ।

यस मन्दिरभित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ति छ । थारु जातिले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरद्वारा रहन गएको बताइन्छ ।

लामो समयसम्म सानो झुपडीको रुपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुन सक्ने खतराबाट जोगाउन झण्डै ४५ वर्ष अघि पञ्चायतकालमा स्थानीयवासीको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा मन्दिर पुन: निमार्ण गरिएको बताईन्छ । 

माघे संक्रान्तिका दिन ठाकुरबाबाको दर्शन र पुजाआजा गर्नाले मनोकामना पूरा हुने र विषेशगरी जो कोही पनि निसन्तान दम्पतिका जोडी यस मन्दिरमा आई पुजाआजा र दर्शन गरेमा वर पाईने धार्मिक जनविश्वास रहेको छ ।

यो पर्वसँगै थारु जातिमा खेतबारी अधिया बटैँया लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनीबुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन पनि सुरु हुन्छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया