घरमा पैसा पठाउँदा युएईमा ९ जना नेपालीले पाए ९० ग्राम सुन उपहार

 पुस २७, २०७५ शुक्रबार ११:७:३२ | उमाकान्त पाण्डे

युएई – युएईबाट नेपाल पैसा पठाउँदा ९ जना नेपालीले ९० ग्राम सुन उपहार पाएका छन् । युएईको अल अहलिया एक्सचेन्जले सञ्चालन गरेको ‘विन्टर सिजन’ अन्तर्गतको योजनामा ९ नेपालीले सुन उपहार पाएका हुन् ।

बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दीक्षित पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भिमबहादुर महत, तासी शेर्पा, रवि सहानी र सुजन तामाङले प्रतिव्यक्ति १०  ग्राम तौलको सुनको सिक्का उपहार पाएका छन् ।।

विन्टर योजना अन्तर्गत एक्सचेन्जमार्फत रेमिट्यान्स पठाउनेमध्ये हरेक साता गरिएको लक्की ड्रमार्फत उहाँहरुले सुन उपहार पाउनु भएको हो । गएको नोभेम्बर ७ देखि जनवरी ६ सम्म विन्टर योजना सञ्चालन गरिएको थियो । 

यस योजना अन्तर्गत हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ किलो सुन उपहार राखिएको थियो । १ किलो सुन भने भारत कोलकाताका सन्जित मण्डलले पाएका छन् ।

बिहीबार रसअल खेमा शाखामा एक कार्यक्रमकाबीच जित्नेलाई उपहार हस्तान्तरण गरिएको एक्सचेन्जका नेपाल विभाग प्रमुख बेनीमाधब ढकालले जानकारी दिनुभयो । एक्सचेन्जले हरेक वर्ष दुई पटक ग्राहक लक्षित योजना ल्याउने गरेको छ । 

गएको वर्षको समर योजनामा ईलाम सन्दकपुरका नरेन्द्र मगरले १ किलो सुन उपहार पाउनु भएको थियो । वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले जोड दिँदै आएको र त्यसरी पैसा पठाउँदा धेरै नेपालीले उपहार पाउने गरेको सेन्चुरी रेमिट युएई प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया