त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेट : आयरल्याण्ड र स्कटल्याण्ड बराबरी

 असार ४, २०७५ सोमबार ६:४०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

आयरल्याण्ड र स्कटल्याण्डले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा बराबरी खेलेका छन् ।

नेदरल्याण्डमा चलिरहेको त्रिदेशीय ट्ववेण्टी ट्वेण्टी क्रिकेटमा दुवै देशले बराबरी खेलेका हुन् । ट्वेण्टी ट्वेण्टीको इतिहासमा यसअघि ९ पटक बराबरी भएकोमा सुपर ओभरबाट नतिजा निकाल्ने गरिएको भए पनि यो खेल भने बराबरीमै छोडिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । स्कटल्याण्डका लागि केल कोट्जरले ५४ तथा जर्ज मुन्से र कलुम म्याक लियोडले ४६–४६ रन जोडे । १ सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड पनि ६ विकेटको क्षतिमा १ सय ८५ रन नै बनायो । जितका लागि अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा आयरल्याण्डको पाँच विकेट बाँकी थियो ।

क्रिजमा केभिन ओब्रायन थिए । तर स्कटल्याण्डका साफ्यान शरिफले केभिनलाई ओभरको पहिलो बलमा आउट गरे । त्यसपछिको चार बलबाट चार रन आएको थियो र अन्तिम बलमा आयरल्याण्डलाई जितका लागि तीन रन आवस्यक थियो । तर स्टुवार्ट थम्पसनले दुई रनमात्र लिन सकेपछि खेल नाटकीय रुपमा बराबरीमा सकिएको हो ।

आयरल्याण्डका लागि पाउल स्ट्रिलिङले ४१ बलमा ८१ रनको आक्रामक पारी खेले । उनले ५ चौका र ६ छक्का प्रहार गरेका थिए । केभिन ओब्रायनले २८ रन बनाए भने सिमी सिंहले २६ रन जोडे । बलिङतर्फ साफ्यान सरिफ र स्टुवार्ट विटिङघमले २–२ विकेट लिए । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया