वैकल्पिक शक्ति निर्माण भनेको पार्टी फुटाउनु हो ? के भन्छिन् रञ्जु दर्शना ?

 पुस २७, २०७५ शुक्रबार २१:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ । 

पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

निर्वाचन आयोगका  प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव  गरिएको छ । 

अन्ततः फुट्यो विवेकशील साझा पार्टी

यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

यसै विषयमा रञ्जु दर्शनासँग टेकमान शाक्यले गरेको कुराकानी 

विवेकशील शाझाबाट पार्टी फुटाएर अर्कै पार्टी बनाउनुको औचित्य के हो ?

दुई पार्टीबीच पार्टी एकीकरण भएपछि वैकल्पिक राजनीतिक शक्ति भनेको के हो भन्ने विषयमा नै फरक बुझाई रहेको पाइयो । हाम्रो धरातलले सहभागितामूलक लोकतन्त्रलाई स्वीकार गरेको भए पनि यो १७ महिनाको अवधिमा कुनै उपलब्धि भएन । त्यसैले हामीले पार्टीबाट अलग हुने निर्णय गरेका हौँ ।

साझा पार्टीबाट आउनुभएका रवीन्द्र मिश्रसँग पदीय भागबण्डा नमिलेको कारणले पार्टी फुटेको भनेर भन्न मिल्छ ?

मिल्दैन । भागबण्डाको कुरा नै छैन यहाँ । यहाँनिर हाम्रो आइडिया नै क्र्यास भएको हो । पहिले दुई वटा दल एक भएका हौँ । त्यही दुईवटा दल अब स–सम्मान आ–आफ्नो बाटोतिर लागेका हौँ ।

तपाईँहरुबीच विचार नमिल्ने हो भने पार्टी एकीकरण गरेर किन अघि बढ्नुभयो ?

हामीलाई पनि यस्तै लाग्छ । त्यतिखेर हामी फुट्नका लागि जुटेका थिएनौँ । हाम्रा पाइलाहरुमा विद्यमान समस्याहरु हुँदाहुँदै पनि समस्यालाई स्वीकार नै गर्न नसकिएपछि के लाग्छ र ? समस्यासँग जुध्न नचाहने ‘नेचर’ ले नै समस्या निम्त्याएको हो ।

पुराना शक्तिलाई झापड हान्ने भनेर तपाईँहरुले वैकल्पिक शक्ति भनेर विवेकशील शाझा पार्टी जन्माउनुभयो, वैकल्पिक भनिएको शक्ति पनि अन्तरविरोधमा फस्यो नि होइन ?

वैकल्पिक शक्ति जन्मिएको छ र वैकल्पिक शक्ति यथावत नै छ । अव हाम्रो यो वैकल्पिक शक्तिले के–कस्ता कार्यहरु गर्छन् भन्ने कुरा फरि पनि मुल्यांकन हुन जरुरी छ ।

फुट्ने अन्तिम समाधान हो त त्यसोभए ?

फुट्ने अन्तिम समाधान होइन । काम गराई चाहिँ अन्तिम हो । काम गर्ने परिस्थिति नै नरहेपछि एकैठाउँमा बस्नुको औचित्य चाहिँ के रहन्छ र ? त्यसैले हामी छुट्टिएर नै सौहार्दपूर्ण वातावरण वनाउने बाटोतिर लागेका हौँ ।

रवीन्द्र मिश्र पनि वैकल्पिक शक्ति भनेर आउनुभएको छ  तपाईँहरु पनि वैकल्पिक शक्ति नै भनेर हिँडिरहनुभएको छ, अनि फेरि पार्टी फुटाउनुभयो । वैकल्पिक शक्ति भनेको के हो भन्ने विषयमा नै प्रश्न उठ्यो नि होइन ? 

यो प्रश्न उठ्नु स्वभाविक हो । यो प्रश्नको जवाफ समयले बताउँछ । हामी दुवै दलले गर्ने अबका कार्यक्रमहरुले कुन शक्ति वैकल्पिक शक्ति हो भन्ने प्रष्ट पार्नेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया