जनता आवासका घर मान्छे नबस्दै भत्किन थाले

 पुस २८, २०७५ शनिबार १२:३३:२३ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कैलाली – कैलालीको टीकापुर नगरपालिका–८, सूर्यपुरका प्रेम वादीको घर भत्किसकेको छ । उहाँको घरको भित्तो मात्रै छ । प्रेमको सपरिवार भारतको भाइन्दरमा बस्दै आएका छन् । 

सूर्यपूरमैै घर भएका गौरी वादी, निर्मल वादीका परिवार पनि भारतमा छन् । किरण वादी कैलालीकै चौमालामा बस्नुहुन्छ । तारादेवी नजिकैको सती बजारमा बस्नुहुन्छ । प्रेमको जस्तै गौरी, निर्मल, किरण, ताराका घर पनि मानिस नबस्दा भत्किन थालेका छन् । यी घरहरु सरकारको जनता आवास कार्यक्रममार्फत बनेका हुन् । सरकारले कैलालीमा वादी र राजी समुदायका लागि घर बनाई दिएको छ तर बनेका घर मानिस नबस्दै भत्किन थालेका छन् । 

काम गर्न भारत वा नेपालकै अन्य शहरतिर बस्ने वादी समुदायका लागि बनाएका घर अलपत्र छन् । कैलालीको टीकापुर नगरपालिका–८, सूर्यपुरमा ११ वटा घरमा अहिलेसम्म मानिस बसेका छैनन् । मानिस नबस्ने घर केही भत्किसकेका छन् भने केही भत्किन लागेका छन् । 

जनता आवास कार्यक्रमले घर दिने भएपछि सूर्यपुरको वादी परिवारले आफूसँग भएको घरवास टुक्राटुक्रा पारेर बाबु र ससाना छोराका नाममा अलगअलग घर बनाएका छन् । सूर्यपुरकै नरेश वादीलाई पनि जनता आवास कार्यक्रमले घर बनाइ दिएको छ । उनका दुई छोरा सरदीप र बबीका लागि पनि घर त बनेको छ तर उनीहरुका नाममा बनेका घरमा कोही बस्दैनन् । जेठो छोरा सरदीप रोजगारीका लागि भारतमा छन् भने कान्छो बबी बाबुआमासँगै बसिरहेका छन् । सरदीप र बबीका घर पनि नबस्दै भत्किने अवस्थामा छन् । घर पाउने आशामै सूर्यपुरको वादी बस्तीका ३२ परिवारले ५० भन्दा बढीका नाममा घर मागेका छन् । 

जनता आवासमार्फत बनेका घर वादी समुदायले मन पराएका छैनन् । ‘घर दिनुभन्दा १० धुर जग्गा भए पनि त्यसमै झुप्रो हालेर पनि बस्थ्यौँ’, सूर्यपुरकी कल्चु वादीले भन्नुभयो, ‘सरकारले बलैको (जबर्जस्ती) घर हालिदियो, अलिकति हावा आए पनि उडाइदिन्छ, हामीसँग लगानी गर्ने पैसा छैन, गरीब मान्छे ।’ सूर्यपुरकै श्यामा वादी भन्नुहुन्छ, ‘घर गतिलो नभएर विन्दु वादीको घर पनि भत्किँदैछ बरु एकै कोठाको भए पनि पक्की छत भएको हुनुपथ्र्यो । बालुवाजस्तो इँटा छ । राम्रो सिमेन्ट प्रयोेग भएको छैन ।’ 

टीकापुर नगरपालिका–१ ज्योतिनगरस्थित राजी बस्तीमा पनि जनता आवास कार्यक्रमबाट बनेका केही घरमा मानिस बसेका छैनन् । २० वटा घर बनेको ज्योतिनगरमा पनि तीन घरमा मानिस बसेकै छैनन् केही घरमा मानिस कहिलेकाहीँ आउने जाने गरेका छन् । ‘म अहिले भजनी नगरपालिकाको भुरुवामा बस्छु’ सावित्री राजीले भन्नुभयो, ‘छोरो सानै छ ठूलो भएपछि बिहे गरेर यही घरमा राख्ने हो ।’ 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख सुरेशराज बाग्लेले कैलालीमा जनता आवास कार्यक्रमबाट वादी, राजी, विपन्न मुस्लिमका लागि २०६९/७० देखि २०७३/७४ सम्म ६६० घर बनेका जानकारी दिनुभयो । कैलालीमा दुई चरणमा एक लाख ५९ हजार र दुई लाख १५ हजारका दरले ती घर बनेका हुन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया