गर्भवती वसन्तीको ‘पुनर्जन्म’

 असार ४, २०७५ सोमबार ८:२५:१३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – आइतबार दिउँसो ३ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर विनोद अर्याल आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो ।

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डाक्टर दिल शाही रोकाको फोन आयो । एक गर्भवतीलाई हुम्लाबाट प्रतिष्ठानमा रिफर गर्नुपर्ने अवस्था आएको डाक्टर रोकाले बताउनुभयो । हुम्ला चंखेली गाउँपालिका वडा नम्बर ६ की १९ वर्षीय वसन्ती शाहीलाई ४ दिन अघिदेखि सुत्केरी ब्यथा लागेको थियो ।

लगातार सुत्केरी ब्यथा लागेपनि घरमै सुत्केरी हुन नसकेपछि अवस्था जटिल हुँदै गयो । वसन्तीको अवस्था देखेर परिवारमा तनाव थपिएको थियो । त्यसपछि विकल्प खोज्न थालियो । वसन्तीलाई सदरमुकाम सिमिकोट लैजान गाउँका सबैले सल्लाह दिए । ३ दिनमा बल्ल पुगिने सदरमुकामको जिल्ला स्वास्थ्य कार्यालयमा पुर्याउन सजिलो थिएन ।

बाटोमै तलमाथि हुने जोखिम धेरै भएपछि जिल्ला स्वास्थ्य कार्यालयकै समन्वयमा हेलिकोप्टर बोलाइयो र वसन्तीलाई आइतबार दिउँसो ४ बजेतिर घरबाटै हेलिकप्टरमा जिल्ला अस्पताल पुर्याइयो । 

जोगियो वसन्तीको ज्यान

हुम्लाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुर्याइएकी वसन्तीको सफल शल्यक्रिया भयो । प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ डाक्टर बिनोद अर्यालसहितको स्वास्थ्यकर्मीको टोलीले वसन्ती शाहीको सफल शल्यक्रिया गरेर ज्यान जोगाएको हो । ‘प्रतिष्ठानमा पुग्दा आमाको अवस्था गम्भीर थियो, बच्चाको हात बाहिर निस्केको थियो । बच्चाको धड्कन थिएन । रगत बगिरहेको थियो’, डाक्टर अर्यालले त्यो क्षण सम्झनुभयो । 

‘त्यसपछि आमा र बच्चाको अवस्था बुझेर उपचारमा लागियो । बच्चाको धड्कन नभएपछि कसरी आमाको ज्यान जोगाउन सकिन्छ भन्ने विषयमा हामी लाग्यौं र सफल शल्यक्रिया गर्न सफल भयौं’, डाक्टर अर्यालले भन्नुभयो । बच्चाको भने अस्पताल नपुग्दै ज्यान गैसकेको डाक्टर अर्यालले जानकारी दिनुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुम्ला जिल्ला अस्पतालमै खटाएका डाक्टर दिल शाहीले बच्चाको हात बाहिर आएको र बच्चा मरिसकेको थाहा भएपछि आफूसँग प्रविधि कम भएका कारण चाँडै रिफर गरेको बताउनुभयो । उहाँले रिफरका लागि सुर्खेतभन्दा पनि जुम्लामा प्रविधि र विशेषज्ञ जनशक्ति भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको बताउनुभयो । 

नेपालगञ्जसम्म भन्न सकिँदैनथ्यो  

कर्णालीबाट रिफर हुने बिरामी एयर एम्बुलेन्समा पनि नेपालगञ्ज–काठामाडौं पठाउने गरिन्छ । तर हेलिकप्टरमै घण्टौ समय लाग्ने भएकाले गर्भवतीको ज्यान जाने गरेको डाक्टरहरु बताउँछन । ‘वसन्तीलाई नेपालगञ्ज पठाइएको भए भन्न सकिँदैनथ्यो ।

हुम्लाबाट कुरा गर्दागर्दै १५ मिनेटमा हेलिकोप्टर आइपुग्यो । समयमै उपचार गर्न पाएकोमा ज्यान जोगाउन सकिएको हो, नत्र भने पाठेघर फुट्ने डर हुन्थ्यो । नेपालगञ्ज पुग्न करिब एक घण्टा लाग्थ्यो’, डाक्टर अर्यालले बताउनुभयो ।

 

चार दिनदेखि श्रीमतीको पीडा देखेर  आत्तिएका वसन्तीका श्रीमान् भैरब श्रीमतीले पुनर्जन्म पाएको भन्दै खुशी हुनुहुन्छ । उहाँले श्रीमतीलाई बचाउने डाक्टरहरु भगवान भएका र अस्पताल देउताको मन्दिर भएको बताउनुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको नवनिर्मित ३ सय शैयाको भवनमा रहेको शल्यक्रिया भवनको बाहिर कुरिरहेका भैरवलाई आधा घण्टाको समय कटाउन महिनौं झैं लाग्यो । मनमा धेरै डर थियो ।

गम्भीर चेहरामा बाहिर हातका औंला पड्काएर बसेका भैरव त्यतिबेला ब्यूँझिनुभयो, जतिबेला उहाँकी श्रीमतीको सफल शल्यक्रिया भयो । उहाँले श्रीमती बचाएको भन्दै डाक्टरहरुलाई धन्यवाद पनि दिनुभयो । अहिले वसन्तीलाई सामान्य वार्डमा भर्ना गरिएको छ । 

प्रतिष्ठानमै एयर एम्बुलेन्सको आवश्यकता 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अत्याधुनिक सुुविधासहितको स्वास्थ्य उपचारको सेवा दिइरहेको छ । प्रतिष्ठानमा ३ दर्जनभन्दा बढी विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेका र स्त्री रोग विशेषज्ञ ३ जना र स्त्री रोग सम्बन्धीको विशेषज्ञ तालिमा लिएर काम गरिरहेका ३ जना नर्सहरु रहेको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँले अब प्रतिष्ठानमा एयर एम्बुलेन्सको आवश्यकता भएको बताउनुभयो । कर्णालीको जुम्ला भौगोलिक रुपमा पनि केन्द्र भएकाले कर्णालीका सबै जिल्लाबाट १५ देखि २० मिनेटमा हेलिकोप्टरले जुम्ला पुर्याउन सक्ने शाहीले बताउनुभयो । ‘अब हामीसँग दक्ष जनशक्ति र प्रविधि छ । अस्पतालमा समयमा पुर्याएमा उपचार हुन्छ’, उहाँले भन्नुभयो, ‘कर्णालीका लागि जुम्लामै रहने गरी सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक रहेको छ ।’


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • द्वन्द बहादुर शाही

    June 18, 2018, 8:59 p.m.

    जिम्मेवारी कर्तव्य र उतरदाईत्वकाे सुन्दर संसार बनाउने प्रयास सम्पुर्ण ब्यक्ति, निकाय संस्थावाट हुने हाे भने दुख मा जाेडीने कसैले पनि मन दुखाउन पर्दैन र जीवनले पनि सार्थकता पाउछ अनि जीवनकाे अन्तिम क्षेणमा सन्तुष्टीले उत्करष चुम्छ। सायद याे अबसर ती बसन्तीकाे पुनरजन्म दिन जाेडीने सम्पुर्णलाई मिल्याे । अाबस्यकतालाई कलात्मक तवरले दुनियाँ बिउँझाउन सरकारलाई बाेध गराउन सफल समचार ।

  •  0 Reply

तपाईको प्रतिक्रिया