‘अब त विदेशको नाम पनि लिन्न’

 पुस २८, २०७५ शनिबार १४:५:५७ | सुमित्रा कोइराला

उदयपुर – २०६४ सालमा उदयपुरको त्रियुगा नगरपालिका–९ झिल्केटोलका सर्जन दनुवारलाई लाग्यो विदेश नगई पैसा कमाउन नसकिने भयो । यही सोचका कारण सर्जनले गाउँघरमा कुनै काम देख्नुभएन । कमाउन सकिन्छ भन्ने कुरा त सोचाईमा आउँदै आएन । 

यही सोचले सर्जनलाई २०६४ सालमा विदेशको बाटो देखायो । म्यानपावरले महिनाको ३० हजार रुपैयाँ हुन्छ भनेपछि सर्जन साउदी पुग्नुभयो कमाउने सपना पुरा गर्न । तर म्यानपावरले भनेको भन्दा आधा अर्थात १५ हजारभन्दा धेरै तलब पाउनुभएन । कमाइ नभएपछि दुई वर्ष बित्यो तर जाँदा लिएको ऋण पनि तिर्न नसकी घर फर्किनुभयो । 

घरको अवस्था उस्तै थियो । त्यसमा साउदी जाँदाको ऋण पनि थपियो । आर्थिक समस्याले गाँजेपछि सर्जन दुवई जानुभयो । दुवईमा त सर्जनको भनेको काम नै पाउनुभएन । दुवईमा पनि दुई वर्ष बित्यो तर हात लाग्यो शून्य भनेजस्तै भयो । 

विदेश गएर कमाउने सपना दुई पटकमा पनि पुरा नभएपछि सर्जनले सुख दुःख जे भएपनि गाउँमै काम गर्ने निधो गर्नुभयो । चार वर्ष विदेशमा बिताएका सर्जनलाई सुरुमा के गर्ने भन्ने निधो गर्न निक्कै समय लाग्यो । ‘धेरै ठाउँमा बुझ्न पनि हिँडे तर यही गर्ने भन्ने निधो गर्नैै सकिनँ’ सर्जन भन्नुहुन्छ । 

काम बारे सोधखोज गर्ने क्रममै गाउँमा दूधको धेरै माग रहेको तर उत्पादन त्यो अनुसार नभएको देख्नुभयो । यही कुराले उहाँलाई गाई पाल्दा हुने रहेछ भन्ने लाग्यो ।

गाई पाल्न जान्नुपर्ने कुरा सिक्न पनि उहाँ धेरै ठाउँ पुग्नुभयो तर हावापानीका कारण गाई पालनमा फाइदाभन्दा जोखिम हुने देखेपछि उहाँको त्यो योजना पुरा भएन । यही कुराले सर्जन भैंसी पाल्ने निधोमा पुग्नुभयो ।

त्यो पनि व्यवसायिक रुपमा । उहाँले दिल कमला पशु तथा कृषी फर्म दर्ता गर्नुभयो अनि सुरु गर्नुभयो भैंसी पालन । गाउँमा गाई भैंसी पाल्ने चलन भएपनि व्यवसायिक रुपमा पाल्ने चलन थिएन ।

उहाँले व्यवसायिक बनाउने सोचेर काम थाल्नुभयो । गोठ बनाउनुभयो अनि दुई वटा भैंसीबाट व्यवसाय सुरु गर्नुभयो । अहिले उहाँको फर्ममा ७ वटा भैंसी छन् । दिनमा २५ लिटर दूध बेच्नुहुन्छ ।

भैंसी लैनो भएका बेला महिनाको ६० हजार रुपैयाँसम्म बचाउने सर्जनले दूध उत्पादन घटेका बेला पनि ४० हजार रुपैयाँ कमाइरहेको सुनाउनुभयो । स्वदेशकै काम र कमाइले सन्तुष्ट भएका सर्जनको सोच फेरिएको छ । अहिले त उहाँ वैदेशिक रोजगारीका बारेमा सोच्न पनि चाहनुहुन्न । 

उदयपुरको सदरमुकाम गाईघाटबाट ५ किलोमिटर टाढा रहेको फर्ममा भैंसी स्याहार्दै गर्दा भेटिनुभएका दनुवार भन्नुहुन्छ ‘अव त विदेशको नाम पनि लिन्न ।’ उहाँलाई श्रीमती बिना र आमा कमला दनुवारले सघाउनुहुन्छ ।

आमा र श्रीमतीको यही साथ र सहयोगले सर्जनलाई विदेश जाने सोच त्याग्न सघाएको छ । स्वदेशमै काम गरेर दाम कमाईने भएकाले विदेश जान मन नलाग्ने बताउनुहुन्छ । कारण विदेशमा दिनरात काम गर्दा पनि कमाउन नसेकेको पैसा उहाँले गाउँमै भैंसी पालेर कमाइरहनुभएको छ । 

विदेशमा तातो घाममा परिवारभन्दा टाढा भएर कमाएको भन्दा सर्जनको अहिलेको कमाई दोब्बरले बढी हो । यसबाट उहाँ मात्रै होइन परिवार पनि खुशी छ । छोराको कमाईले घर खर्च चलाएर नातिनीहरुलाई पनि बोर्डिङ पढाउन सकेकोमा आमा कमला खुशी हुनुहुन्छ । ‘गरे त यहीँ हुने रहेछ नी’ कमलाले भन्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया