कुवेत पठाइदिने भन्दै तीन बाबुछोराले ठगे ३७ युवा, करोडौं रुपैयाँ हिनामिना

 पुस २८, २०७५ शनिबार १४:२४:५२ | शुभनारायण यादव
unn.prixa.net

प्रहरीकाेमा उजुरी दिन आएका पीडितहरु

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. ४ लालापट्टी निवासी जिनत मन्सुरीले आफ्ना छोरा अन्सारुललाई वैदेशिक रोजगारीमा पठाउन छरछिमेकबाट ऋण लिएर रकमको जोहो गर्नुभयो ।

कुवेत पठाइदिने र त्यहाँ राम्रो कमाई गर्ने आश्वासन पाएका जिनतले एजेन्टले भने अनुसार १ लाख ३६ हजार खोजखाज गर्नुभयो । एजेन्टले भिसा आइसकेको अब उड्नुपर्ने बताएपछि उहाँले उक्त रकम एजेन्टलाई दिनुभयो । गएको साउनमै भिसा आइसकेको भन्दै उड्न तयार भएका अन्सारुल न त विदेश जान पाउनुभयो, न त त्यो रकम नै फिर्ता पाउनुभयो ।

त्यसै ठाउँका २१ वर्षीय रामनारायण मुखियाको हालत पनि अन्सारुलको जस्तै छ । उहाँले पनि १ लाख ३६ हजार तिरेर कुवेत जाने योजना बनाउनुभयो । तर उहाँ पनि विदेश जान पाउनुभएन । न त रकम नै पाउनुभयो !

एजेन्टलाई रकम दिएर ठगीमा पर्नेमा राजगढ गाउँपालिका ३ का २२ वर्षीय अफजल मन्सुरी पनि पीडित हुनुहुन्छ । उहाँले पनि ७६ हजार तिरेर विदेश गएर पैसा कमाउने सपना बुन्नुभयो । तर उहाँको आशामाथि पनि तुषारापात भएको छ ।

यसैगरी सप्तरीकै हनुमानननगर कंकालनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाँका दिनेश मुखियाले पनि विदेश जाने नाममा १ लाख ३६ हजार रुपैयाँ गुमाउनुभएको छ ।

सप्तरीको भिन्न भिन्न ठाउँका यी युवाहरु वैदेशिक रोजगारीमा एकसाथ ठगिएका छन् । र, ठग्ने गिरोह एउटै हुन् । एक बुवा छोरासहित तीनजना मिलेर सप्तरीभरिकै युवाहरुलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठग्ने गिरोहको पर्दाफास भएको छ ।

सप्तरीकै रुपनी गाउँपालिका १ बस्ने मस्तकिम मियाँ, उनका छोरा हजरत तथा छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका रहमान मियाँले दर्जनौं युवासँग करोडौं ठगी गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा एकसाथ ३७ जना ठगिएका पीडितले यी तीन जनाबिरुद्व उजुरी दिएका छन् । सप्तरीको प्रायः हरेक ठाउँका युवाहरुले सामूहिक उजुरी दिएपछि प्रहरी पनि आश्चर्यमा परेका छन् ।

कसैसँग ८० हजार त, कसैसँग एक लाखभन्दा बढी रकम यी तीनजना मिलेर ठगेको पीडितहरुले बताएका छन् । अधिकांशसँग १ लाख ३६ हजार लिएको’ उनीहरुले उजुरीमा उल्लेख गरेका छन् ।

आश्चर्यको कुरा त के छ भने यी तीनै जना मिलेर सबैलाई कुवेत नै पठाइदिने भन्दै रकम लिएका छन् । ‘ठगीमा संलग्न एकजनालाई नियन्त्रणमा लिएका छौं’, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र बिष्टले भन्नुभयो, ‘बाँकीको पनि खोजी भइरहेको छ ।’ प्रहरीले मस्तकिमलाई पक्राउ गरिसकेको छ ।

भेला गर्दै, रकम जम्मा गर्न लगाउँदै

उजुरी दिन एकै पटक जिल्ला प्रहरी आएका छुट्टाछुट्टै ठाउँका युवाहरुले तीनजना मिलेर गाउँमा भेला नै गरी वैदेशिक रोजगारको प्रचार–प्रसार गर्दै आएको बताएका छन् ।

स्कारपियोसहित गाउँ आएर गाउँका युवाहरुको भेला गराई राम्रो कमाई हुने ठाउँमा पठाइदिने प्रचारबाजी गरेर रकम लिएको लालापट्टीका सगीर मन्सुरीले बताउनुभयो ।

‘गएको साउनको पहिलो साता नै यी तीनजना मेरो गाउँमा आएर भेला बोलाएका थिए’, सगीरले उनीहरुले बोलेको कुरा स्मरण गर्दै भन्नुभयो, ‘तपाईंहरुलाई राम्रो काममा कुवेत पठाइदिन्छु । अहिले पैसा छैन भने केही छैन् । विस्तारै जम्मा गर्दै गर्नुस् । भिसा आएपछि दिनुहोला ।’

उहाँले भेला पारेर नामावली लिएको केही दिनभित्रै भिसा आइसकेको जानकारी गराएर रकम लिएको बताउनुभयो । यस्तै जिल्लाकै बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका रोहित खंगले पनि तीन जनाले यसरी नै रकम ठगेको सुनाउनुभयो ।

‘उहाँहरु गाउँमा आएर बैठकजस्तो गर्नुभयो । ‘पैसा जम्मा गर्दै गर्’ भन्नुभयो । र, पछि भिसा आइसकेको भन्दै रकम लियो’, खंगका पिता भुटाइले भन्नुभयो ।
यस्तै सप्तरी जिल्लाको छिन्नमस्ता, राजगढ, बिष्णुपुर, तिलाठी–कोइलाडी गाउँपालिका तथा हनुमाननगर–कंकालनी नगरपालिकाको विभिन्न ठाउँमा गई युवाहरुको भेला नै बोलाएर कुवेत पठाइदिने भन्दै उनीहरुले रकम ठगेका छन् ।

नक्कली भिसा देखाएर ठगी

हजरतसहितकाले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुसँग ठगी गर्न अर्को हथकण्डा पनि अपनाए । शुरुमा थोरै रकम माग गर्ने उनले पछि भिसा आइसकेको भन्दै तोकिएको रकम असुली गर्न थालेका थिए ।

‘भिसा आइसकेपछि उनले भने बमोजिम रकम जहाँबाट भएपनि दियौं’, लालापट्टीका नइम मन्सुरीले भने, ‘आफूसँग १ लाख ३६ हजार लिए ।’ यो रकममध्ये ६ हजार मेडिकल जाँचका लागि र अन्य भिसा तथा टिकटको नाममा उहाँले असुली गरेको पीडितहरुले बताएका छन् । भिसा आइसकेको भन्दै ती युवालाई काठमाडौं बोलाउने र केही दिन होटल तथा लजमा बसाउने गरेका रहेछन् ।

‘एक हप्तासम्म आफ्नै खर्चमा काठमाडौंमा बस्यौं’, तिलाठी कोइलाडी २ लौनियाँका मनिष ठाकुरले भन्नुभयो, ‘यसपछि फोन गर्दा उनीहरुले फोन समेत उठाउन छाडे ।’

ठगिएका युवाहरुले उनीहरुले दिएको आफ्नो भिसा समेत देखाए  । युवाहरुलाई देखाएको भिसा कुवेतको मात्रै रहेको पाइएको छ । ‘सबै युवालाई कुवेतकै भिसा दिइएको रहेछ’, सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले भन्नुभयो, ‘दिइएको भिसाबारे अनुसन्धान गरिरहेका छौं ।’

प्रारम्भीक अनुसन्धानबाट भिसा नक्कली रहेको देखिएको बताउँदै उहाँले यद्यपि यसबारे विभागबाट बुझ्ने काम भइरहेको बताउनुभयो । ठगीमा पर्ने युवाहरुले प्रहरी समक्ष दिएको उजुरीसँगै दिएको भिसा समेत संलग्न गरेका छन् ।

युवाहरुको गुनासोपछि प्रहरीले हजरतको घरमा छापामारी गर्दै धेरै भिसासहित वैदेशिक रोजगार सम्बन्धी कागजातहरु फेला पारेको छ । ‘यी कागजातसहित हजरतका पितालाई समातेका छौं’, जिल्ला प्रहरी कार्यलयका प्रमुख बिष्टले भन्नुभयो, ‘ठगी गर्नका लागि हजरतका बुवाको पनि संलग्नता रहेको पाइएको छ ।’

बिष्टले यसअघि पनि युवाहरु उनीहरुकोबिरुद्व गुनासो गर्दा प्रहरीले छानबिन गर्दा उनीहरु ठगी कार्यमा देखिएको अनुसन्धानको क्रममा पत्ता लागेको बताउनुभयो । उहाँले यसका मुख्य नाइके हजरत भएको र उनको खोजी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया