विराटनगरमा प्रहरीको साइकल अभियान : प्रहरीले नागरिकको विश्वास पाउला ?

 पुस २८, २०७५ शनिबार १५:५९:११ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – बुधबार बिहान झण्डै पौने ५ बजेको थियो । मानिसहरु कोही आगो तापेका, कोही मर्निङ वाकमा निस्किएका थिए । हेल्मेट लगाएका केही व्यक्ति साइकलमा आए ।

ती व्यक्तिलाई देख्नेबित्तिकै विराटनगर महानगरपालिका–५, कोचाखालमा आगो तापेर बसेका स्थानीय झस्किए । बिहानीको झिसमिसे अँध्यारोमै यसरी साइकलमा, त्यो पनि हेल्मेटमा आएका व्यक्ति बिस्तारै साइकलमा कटे । अनी ती साइकलमा आएका व्यक्ति त्यहाँको गतिबिधिको बारेमा बुझ्दै अघि बढे ।

त्यसपछि मात्र पछाडि लेखिएको ‘नागरिक सहयोगी प्रहरी’  स्थानीयले देखे र उनीहरुलाई बोलाएर आफ्ना कुरा सुनाउन थाले । गाउँमा केही व्यक्तिले जाँड खाएर होहल्ला गर्ने अनी घरेलु जाँड–रक्सी ओसार पसारको बारेमा पनि उनीहरुलाई सु्नाए ।

त्यहाँ पुगेको साइकल गस्तीमा भएका प्रहरी टोलीका रुद्र लिम्बू, गंगाराम मण्डल, विजय विष्ट र कर्णबहादुर राईले उनीहरुको समस्या टिपोट गरेर ल्याए ।  

हरेक दिन यसैगरी साइकलमा निस्कने प्रहरीलाई सर्वसाधारणले केही न केही समस्या सुनाउँदै आएका छन् । गाउँका समस्या त सुनाउँछन् नै, गाउँमा हुनसक्ने सम्भावित घटनाको बारेमा पनि प्रहरीलाई जानकारी गराउने गरेको वडा प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले बताउनुभयो ।

डीएसपी कार्कीले यसरी बिहानै ४ बजे नै उठेर साइकलमा निस्कने प्रहरीहरुले सर्वसाधारणको घरमा पस्ने अनी पानी मागेर खाने र त्यहाँका विभिन्न उमेर समूहका व्यक्तिहरुसँग पनि छलफल गर्ने गरेको जानकारी दनुभयो ।

पछिल्लो समय साइकल गस्ती शुरु गरेको केही समयमा नै  धेरै सूचनाहरु सहज रुपमा प्राप्त गर्न थालेकोमा प्रहरीलाई काम गर्न सजिलो भएको छ । यसरी बिहानै हिँडेको प्रहरीलाई  आउने सूचनामा लागुऔषध,  गाँजा, मदिराको ओसार पसार र बिक्री वितरण, झै–झगडा,  चोरी, घरेलु हिंसाका घटनाहरु रहेका छन् । 

जिल्ला प्रहरी कर्यालय मोरङले  असोज ३० गतेदेखि चाडवाड लक्षित सुरक्षा योजना अनुसार शुरु गरेको साइकल गस्ती प्रभावकारी भएपछि अहिले यसलाई निरन्तरता दिइएको हो । साइकल अभियान, इलाका प्रहरी कार्यालय रानी, वडा प्रहरी कार्यालय विराटनगर, वडा प्रहरी कार्यालय हाटखोला र इलाका प्रहरी कार्यालय नेमुवामार्फत साइकल गस्ती गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिनुभयो  ।

पहिलो चरणमा विराटनगर लक्षित साइकल गस्ती शुरु गर्नुको कारण महानगर तथा १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरको सुरक्षा सम्बेदनशीलतासँग पनि जोडिएको उहाँको भनाई थियो ।

अहिले यी क्षेत्रमा २६ वटा साइकल नियमित गस्तीमा हिँड्ने गरेको छ । विशेषगरी साइकल गस्तीले बिहानै मर्निङ वाकमा हिँड्दै गरेका सर्वसाधारणबाट धेरै फाइदा लिएको छ भने मर्निङ वाकमा निस्किएका व्यक्तिलाई पनि सहज बनाएको छ ।

एउटा गस्ती समूहमा ३ वटा साइकल हुन्छ । एकै पटक गस्तीमा २६ वटा साइकल निस्कँदा कुनै घटना भइहाले त्यहाँ तत्काल प्रहरी पुग्न सजिलो भएको एसपी केसीले बताउनुभयो ।

साइकलमा जीपीएस जोड्ने तयारी

विराटनगरमा गएको असोज ३० गतेदेखि शुरु भएको प्रहरी साइकल अभियानले अपराध रोकथाममा सहज भएपछि प्रहरीले अब रुट बढाउने तयारी थालेको छ । रुट बढाउनभन्दा पहिला अहिले भएका साइकलमा जीपीएस जडानको तयारी गरेको छ ।

एसपी केसीका अन्ुसार जीपीएस जडान गरेपछि कुन साइकल गस्तीको टोली कहाँ पुगेको छ भन्ने कार्यालयबाट नै थाहा हुने भएपछि त्यसलाई प्रभावकारी बनाउनको लागि साइकलमा जीपीएस जडान गर्न लागिएको हो । अब साइकलमा जीपीएस जडानसँगै साइरन र लाइटको व्यवस्थाले प्रहरीलाई गस्तीमा धेरै सजिलो हुने उहाँको तर्क छ ।

एसपी केसी भन्छन्, ‘माताहत कार्यालयबाट क्युआरटीमा सधैँ साधन माग्दा मोटरसाइकल माग्ने गरेको छ । मोटरसाइकल र गाडीको काम भनेको गर्नु पर्ने काम गरेर फर्किने नै हो तर गस्ती गर्न जाँदा त आम नागरिकसँग बस्ने कुरा गर्ने र उनीहरुको दुःख सुखको कुरालाई सुन्नु र नागरिकसँग नजिकै रहेर काम गर्नु पनि हो । त्यसको लागि साइकल नै प्रभावकारी हो ।’

 
 
 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया