न्यू डायमण्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई

 पुस २८, २०७५ शनिबार १७:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्यू डायमण्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशष्त्र प्रहरीकाे एपीएफ क्लबले जितेको छ ।

अघिल्लो संस्करणमा पराजित भएको एपीएफले यसपटक ३–१ को सेटमा जित निकाल्दै न्यू डायमण्ड एकेडेमीसँग बदलासमेत लिन सफल भएको छ । 

पहिलो सेट २५–१६ ले जितेको घरेलु टोली न्यू डायमण्डले पछिल्ला सेट लगातार गुमाउँदा उपाधि रक्षा गर्न असफल भयो ।

एपीएफले दोस्रो सेट २५–२१ ले जित्दा तेस्रो सेट २५–२३ ले हात पारेको थियो । चौथो तथा अन्तिम सेटमा एपीएफले न्यू डायमण्डलाई २५–१८ ले निरास बनाउँदै उपाधि जित्न सफल भयो ।

प्रतियोगिताको उपाधि विजेता एपीएफले ३ लाख १ हजार प्राप्त गरेको छ भने उप विजेता न्यू डायमण्डले २ लाख १ हजार प्राप्त गर्यो । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल पुलिसले पोखराको टप्स माविलाई २–० को सेटमा स्तब्ध बनाएको थियो ।

यस्तै विधागतरुपमा उत्कृष्ट खेलाडीमा भने न्यू डायमण्डले वर्चश्व कायम गरेको छ । न्यू डायमण्डका प्रतिभा मालीले उत्कृष्ट स्पाइकर, झरना श्रेष्ठले उत्कृष्ट सर्भर तथा अनिसा सुनुवारले उत्कृष्ट सेटरको उपाधि जितिन् ।

यसैगरी न्यू डायमण्डकै ललिता नाथले उत्कृष्ट क्विकर र सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारेका छन् ।

उपाधि विजेता एपीएफकी उषा विष्टले उत्कृष्ट ब्लकरको उपाधि जित्दा उत्कृष्ट प्रशिक्षकको उपाधि पनि एपीफकै ज्ञानेन्द्र विष्टले जिते । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकै सरस्वती चौधरी बन्न सफल भइन् ।

विधागतरुपमा उत्कृष्ट खेलाडीहरुलाई ५–५ हजार रुपैयाँ प्रदान गर्दा सर्वोत्कृष्ट खेलाडी चौधरीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया