केराबारी गाउँपालिकाका वडा अध्यक्ष पक्राउ गर्न प्रहरीले जारी गर्‍याे पूर्जी

 पुस २८, २०७५ शनिबार १९:१५:३४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – खोला तथा नदीजन्य प्राकृतिक सम्पदाको अवैध उत्खनन् गरेको आरोपमा मोरङको केराबारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्षलाई पक्राउ पूर्जी जारी गरिएको छ ।

मोरङको चिसाङ खोलाबाट  अवैध उत्खखन् गरेको आरोपमा  वडाध्यक्ष चरणसिंह गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पूर्जी जारी गरेको हो । ढुंगा तथा बालुवाको निकासी गर्ने क्रममा टिप्पर तथा ट्याक्टरसँग अवैध रुपमा रकम उठाएको आरोप उनीमाथि लगाइएको छ ।

वडाध्यक्ष गुरुङलाई बेलबारी र कानेपाखरीबीचमा पर्ने चिसाङ खोलाबाट ढुङ्गा, बालुवा निकासीमा चन्दा रकम उठाएको आरोप लागेकोले पक्राउ गर्न भनिएको मोरङ प्रहरीका एसपी मनोज केसीले बताउनुभयो ।

मोरङको केराबारी गाउँपालिकामा विभिन्न समयमा नदीजन्य बस्तुको उत्खनन् तथा ओसार पसारमा वडा अध्यक्षहरु मुछिँदै आएका छन्  । वडा अध्यक्ष आफैँ क्रसर व्यवसायी हुँदा अवैध उत्खनन् रोक्न समस्या हुँदै आएको प्रहरीले जनाएको छ ।

क्रसर व्यवसायीका रुपमा काम गर्दै आएका गुरुङले रकम असुल गर्न सहयोग गरेको प्रहरीले जनाएको छ । केहीदिन अघि सोही स्थानमा रकम असुल गर्ने क्रममा रोशन दनुवार, जित चौधरी पक्राउ परेका थिए । 

अहिले दनुवार र चौधरी दुवैलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्धा दायर गरिएको एसपी केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिको नामबाट नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगका लागि रसिद बनाएर ट्याक्टर र टिपरबाट अवैध रकम असुल गर्न गुरुङले पत्र दिएको खुलासा भएपछि उनीमाथि पक्राउको लागि पत्र काटिएको हो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा वडा अध्यक्ष गुरुङले रकम असुल्न माइन्यूट नै गराएको फेला परेपछि उनलाई पक्राउ पूर्जी जारी गरिएको एसपी केसीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया