३९ घण्टा सुरुङभित्र पुरिँदा

 असार ४, २०७५ सोमबार १०:३४:२ | प्रेम परियार
unn.prixa.net

माथिबाट पहिरो खस्यो, म भाग्न पाइँन । मलाई त्यहीँ किच्यो ।

ढाड थिचियो र हातका औंलाहरु किचिए । अरु साथीहरु सुरुङमा भएका ३ जनाले उता जा, उता जा भने । सुरुङ भित्र प्रदीप शाही, बुधन मुण्डा र नन्द किशोर पनि थिए ।

म आत्तिएकाले पहिरो गएतिरै गएछु । फेरि उनीहरुले चिच्याउँदै पछाडि फर्कन भनेपछि उनीहरु भएको ठाउँमा पुगें । शुक्रबार राति ८ बजेर २० मिनेटमा सुरुङमा पसेका थियाैं । हामीसँग टर्च लाईट भन्दा केही थिएन । खानेकुरा पनि बोकेर गएका थिएनौं । खाना खाइसकेपछि भित्र गएका थियौं । पहिरो आउला भनेर सोचेका पनि थिएनौं ।

सुरुङभित्र पानीको थोपा भने चुहिरहन्थ्यो । हामीसँग भएको हेलमेटमा पानी थाप्थ्यौं र पालो गरेर खान्थ्यौं । शनिबार बिहान उज्यालो भएपछि बाहिर मान्छे बोलेको आवाज आयो । मरिएला भन्ने लागिरहेका हामीलाई बल्ल सास आयो । उद्धार हुने भयो भन्ने लाग्यो र बाहिर निस्कने पर्खाईमा बसिररह्यौं ।

शनिबार उद्धारकर्मीले हामीलाई निकाल्न सकेनन्, उभिएरै रात कटायौं । उज्यालो भएको भने थाहा हुन्थ्यो, हामी पुरिएको एउटा कुनामा प्वाल थियो । त्यहीबाट हावा आउँथ्यो । आइतबार बिहान बाहिर पड्केको जस्तो आवाज सुनियो, त्यसपछि हामी चिच्याएको बाहिर सुनियो ।

सुरुङ भित्र काम गर्न जाँदा हामी सबैले हेल्मेट, गम्बुट र सेफ्टी ज्याकेट लगाएर गएका थियौं । डोरीको सहायताले बाहिर निस्कन सफल भइयो । बेलुकी ७ बजे जिल्ला अस्पतालमा आएर जाँच गरियो । अहिले औषधि खाँदैछु ।

सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि शुक्रबार राति पौने ९ बजेदेखि सम्पर्क बिहीन थियौं । मसँगै कालिकोट सिउना गाउँपालिका ४ का प्रदीप शाही, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोर पुरिएका थियौं । अहिले सबै सामान्य छौं ।

(अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका जुम्लाका प्रेम परियारसँग कुराकानीमा आधारित )

अन्तिम अपडेट: चैत १२, २०८०

प्रेम परियार

अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका जुम्लाका प्रेम परियार, साथमा उहाँका साथी प्रदीप शाही

तपाईको प्रतिक्रिया