बालबालिकाको तनाव र अभिभावकले बुझ्नुपर्ने कुरा

 पुस २९, २०७५ आइतबार १२:३१:३३ | डिल्लीराम पाण्डेय (रामु)

बालमनोविज्ञानको विषय प्रवेश गर्नु अगाडि यो घटनालाई अध्ययन गरौं । यो सत्य घटना नै हो । आठ वर्षअघि गाउँघरमा बालबालिकाका आँखा झिक्ने मानिस आएका छन् भनेर अफबाह फैलाइयो । आमाबाबुले आफ्ना छोराछोरीलाई धेरै नडुल है आँखा झिकिदेलान् भने पनि । 

बालबालिकामा एउटा त्रास फैलियो । एउटा प्राथमिक अंग्रेजी स्कुलको विद्यार्थीले “त्यो आँखा झिक्नेले हाम्रो प्रिन्सिपलको आँखा झिकिदिए हुने थियो नि अनि बल्ल हामीलाई पिट्न र ट्वाइलेटमा थुन्न सक्दैनथ्यो” भन्ने सम्मको भाव पोखे । यो उसको प्रतिक्रिया थियो ।

बाल मस्तिष्कमा यस्ता कुरा किन आउँछन् ? यो प्रश्नको मनोवैज्ञानिक पाटो केलायौँ भने उत्तर आउँछ कि साना बालबालिकाको प्रिन्सिपलप्रतिको धारणा कस्तो छ अनि उनीहरु कसरी सहन बाध्य छन् भनेर । नकारात्मक तनावको असर हाम्रा सन्तान अर्थात् बालबालिकामा नपर्ला भनेर कसरी भन्न सकिएला ? यसको उत्तर पक्कै पनि खोज्नु पर्ने बेला आएको छ । 

बाल्यावस्था र तनाव

मनोवैज्ञानिक हर्लकका अनुसार बाल्यावस्थालाई पूर्व बाल्यावस्था र उत्तर बाल्यावस्था भनी दुई चरणमा वर्गीकरण गरेको पाइन्छ । पूर्व बाल्यावस्था २ देखि ६ वर्षको उमेर हो भने उत्तर बाल्यावस्था ६ देखि ११÷१२ बर्ष सम्मको समय अवधी हो । बाल्यावस्था तीव्र वृद्धि र विकासको अवस्था हो ।

जन्म पूर्व र जन्मपश्चात् परेको विभिन्न प्रभावले बाल विकासमा प्रभाव पार्छ । शरीरमा देखापर्ने बृद्धि र शारीरिक तथा मानसिक प्रक्रियामा आउने परिवर्तनलाई बाल विकास भनिन्छ । अर्को भाषामा भन्नुपर्दा बाल विकास भनेको बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक र आध्यात्मिक पक्षमा आउने सम्पूर्ण परिमाणात्मक र गुणात्मक परिवर्तनको सिङ्गो प्रक्रिया हो ।

अहिले युवाहरु विदेशिने क्रम तीव्र छ । सँगै गाउँघर रित्तो हुँदैछन् । आफ्ना छोराछोरीलाई राम्रै पढाउने इच्छा राखेर गाउँबाट शहर झर्ने अनि अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयमा भर्ना गर्ने प्रवृत्ति बढ्दो छ । हाम्रो समाजमा अंग्रेजी भाषा पूर्ण ज्ञान होइन भन्ने चेतनाको अभाव छ । यही अभावका कारण अहिलेका बालबालिकाले आºनो सानो उमेरमा नै आमाबुवाका ठूला सपनाको दास बन्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।

बालमनोविज्ञान बुझ्ने र बुझाउने खै ?

धेरैजसो विद्यालयमा तालिम प्राप्त शिक्षक राखिएको छैन । बालबालिकालाई जबरजस्ती त्रासको वातावरणमा सिकाउने गरिएको छ, जुन बालमनोविज्ञान र बाल विकासको दृष्टिले बिल्कुलै उल्टो गति हो ।

बालमनोविज्ञान बुझ्ने र बुझाउने शिक्षकको अभाव छ । बालबालिकामा पनि तनाव हुन्छ । तनाव पनि एक किसिमको मानसिक दवाव नै हो । जसले विभिन्न किसिमका मानसिक तथा शारीरिक समस्यामा पुर्या‍उने गर्छ । बालबालिका पनि यसबाट अछुतो रहन सकेका छैनन् ।

बालबालिकाको विकासको क्रमसंँगै उनीहरुमा तनाव बढ्दै जान्छ । उनीहरुमा विद्यालय प्रवेशसंँगै तनावको दर बिस्तारै बढ्दो क्रममा हुने गर्छ । बालविकास सन्तुलित रुपमा हुन सकेमा उसका अन्तर्निहीत क्षमताहरु प्रष्फुटित हुने मौका पाउँछन् र एउटा परिवारको असल तथा जिम्मेवार सदस्य, समाजको असल व्यक्ति र राष्ट्रको असल नागरिक बन्न सक्छ । बालबालिकालाई उचित खानपान, रहनसहन, शिक्षादिक्षा दिन सकेमा उसको भविष्य उज्वल बन्ने कुरामा दुई मत हुन सक्दैन ।

बालबालिकामा हुने तनावका कारण

पारिवारिक कारण

  • बालबालिका गर्भावस्थामा रहँदा आमामा यदि तनावको अवस्था थियो भने बालबालिकामा त्यसको असर देखिने सम्भावना प्रवल हुन्छ ।
  • परिवारमा आर्थिक समस्याले गर्दा उचित पोषण, लत्ताकपडा तथा मौसम अनुसारको बासस्थान जस्ता आधारभुत आवश्यकता पूरा हुन नसक्दा मानसिक तनाव हुन्छ । 
  • परिवारका सदस्य दीर्घकालिन रोगद्वारा ग्रसित भएको अवस्थामा तनाव हुन्छ ।
  • परिवारमा आमाबाबु बीचमा अथवा परिवारका सदस्यहरुबीच हुने बेमेल, मनमुटाब, झैझगडा भैरहनु ।
  • परिवारमा सदस्यको मृत्यु, बालबालिका आमाबाबुबाट बाध्यात्मक रुपमा बिछोडिनु, स्नेहको अभावको कारण तनाव ।
  • परिवारमा सदस्यहरुको बालमैत्री व्यवहार नहुनु, बालबालिकालाई तर्साउने, डराउने, धम्काउने, गाली गर्ने, पिट्ने जस्ता क्रियाकलाप गर्नु (डरको कारण तनाव हुन्छ ) 
  • शहरी क्षेत्रमा बालबालिकालाई खेल्न नदिई कोठाभित्र थुनेर मोबाइल, ट्याव, ल्यापटप, कम्प्युटर र टि.भि.मा भुलाउन खोज्नु । यसबाट कोठाभित्रको उकुसमुकुस तथा डिजिटल उपकरणबाट निस्कने परावैजनी किरणहरुले मस्तिष्कमा बिस्तारै असर गरिरहेका हुन्छन् ।
  • अभिभावकले बच्चालाई पर्याप्त समय दिन नसक्दा बच्चामा मनोवैज्ञानिक रुपमा बेवास्ता गरेको रुपमा बुझ्छन् जसले गर्दा तनाव हुने गर्दछ ।
  • बालबालिकाको आवश्यकता भन्दा इच्छालाई बढी महत्व दिँदा बालबालिकाको उमेर अनुसारका इच्छाहरु बढ्दै जाने र सबै पूरा नहुँदा पनि तनावको अवस्था आउन सक्छ ।
  • बालबालिका निदाएको समयमा रेडियो, टि.भी. जस्ता आवाज आउने साधनहरु बजाउनु तथा चहकिलो प्रकाश हुनु, जसले गर्दा उनीहरुले पूर्ण आराम गर्न सक्दैनन् अर्थात निद्रा नपुगेको जस्तो हुन्छ र तनाव सृजना हुन पुग्छ ।

विद्यालयमा तनावको कारण

  • पूर्व वाल्यावस्थाका २ देखि ३ वर्ष उमेरको बीचमा नै विद्यालयमा पठाउनतिर लाग्नु, जुन उनीहरुको रुचीको विषय नै होइन ।
  • उनीहरुका रुची अनुसारका क्रियाकलापमा भन्दा विद्यालयमा उपलब्ध सामग्री अनुसारका क्रियाकलापमा मात्र जोड दिनु ।
  • तालिम प्राप्त शिक्षक नभइ जागिरको लागि आएका शिक्षक शिक्षिकाले कक्षा लिनु, जसले गर्दा बालमनोविज्ञानको अभावमा उनीहरुका उमेर तथा रुची अनुसारका क्रियाकलाप अगाडि नबढ्दा बालबालिकालाई मनोवैज्ञानिक असर पर्दछ । 
  • शिक्षकको पर्याप्त पारिश्रमिक नहुँदा उसको घरको तनाव समेत विद्यालयमा प्रवेश गर्छ । तनावमा रहेको शिक्षकले तनावरहित वातावरण सिर्जना गर्न कठिन नै हुन्छ । 
  • विद्यालयमा प्रर्याप्त जग्गा जमिनको अभावमा उचित खेलमैदान नहुनु तथा प्राकृतिक वातावरण नहुनु, प्रकृतिसँगको दुरी बढ्दै जाँदा तनाव बढ्दै जान्छ । 
  • शिक्षकको मानसिक पक्षको मूल्याङकन नगरिकन शिक्षण पेशामा संलग्न गराउँदा उसमा रहेको मानसिक विकार विद्यार्थीमा प्रस्तुत हुनु (शिक्षकद्वारा दिइएको सजायले विद्यार्थीको मृत्यु, कानको जाली फुट्नु )
  • विद्यालयमा पिउने पानीको अभाव, शौचालयको उपयुक्त व्यवस्था नहुनु ।
  • बालबालिकालाई उनीहरुको शारीरिक विकासको पक्षलाई वास्ता नगरी गह्रौँ झोला बोकाउनु पनि मानसिक तनावको कारण हो । 
  • ग्रामिण भेगमा विद्यालय पुग्न पार गर्नुपर्ने दुरीको कारण बालबालिकामा थकान हुन्छ र त्यहीबेला शिक्षकको जबर्जस्त व्यवहारले तनाव सिर्जना गर्छ । 
  • अभिभावकले महँगो शुल्क तिरेको प्रतिफल नतिजामा खोज्नु र विद्यालयले नतिजाको लागि दवाव दिनु, जसले गर्दा बालबालिकाले आºनो स्वतन्त्रता नै गुमेको अनुभूति गर्छन् ।

अन्य कारण

  • समाजमा बालशिक्षा र बालविकास सम्बन्धी चेतनाको अभाव हुँदा शिक्षाविद् र समाजका व्यक्तिहरु बीचको वैचारिक द्वन्द्वको बीचमा बालबालिका पर्नु ।
  • बजारमा पाइने खाद्य पदार्थ शारीरिक र मानसिक दुवै विकासका लागि फाइदाजनक छैन, तर त्यसको प्रयोग व्यापक मात्रामा हुँदा त्यसले असर गरेको हुन्छ । 
  • सामाजिक तथा राजनीतिक द्वन्द्वले बालबालिकाले असुरक्षित अनुभव गर्नु ।
  • प्राकृतिक तथा दैविक विपत्ति जस्तै बाढी, पहिरो, भूकम्प, खडेरी, आगलागी, चिसो जस्ता कारणले मानसिक तनाव हुन्छ ।
  • बालबालिकालाई आर्थिक अवस्था, जातजाति आदिको आधारमा उनीहरुलाई समूहमा घुुुलमिल हुनबाट रोक्नु, जसले गर्दा बालबालिकामा यसको मानसिक असर देखा पर्छ ।

बालबालिकाको तनाव घटाउने उपाय :

  • परिवारका सदस्यले माया, ममता, स्नेह देखाउने र सकेसम्म हजुरुबा, हजुरआमासंँग रहने वातावरण मिलाउने । तीनपुस्ता एकै परिवारमा हुँदा बालबालिकाको सिकाइ अझ बलियो हुन्छ । 
  • परिवारिक मेलमिलाप कायम राखी आधारभुत आवश्यकता पूरा गर्ने, उनीहरुसंँग खेल्ने तथा पर्याप्त समय दिने ।
  • परिवारका सदस्यले बालबालिकाको नजिक धूमपान तथा मध्यपान नगर्ने ।
  • बालबालिकालाई प्राकृतिक वातावरणमा रमाउन दिने र प्राकृतिक वातावरणसँग नजिक्याउन बल गर्ने ।
  • डिजिटल उपकरणहरुको प्रयोग सकेसम्म कम गराउने
  • सबै इच्छाएका वस्तु किनिदिनु हँुदैन र उनीहरुलाई राम्रोसँग सम्झाउन सक्नुपर्छ ।
  • पर्याप्त निदाउन समय दिनुपर्छ, राम्रोसँग निदाउन पाएको बच्चा बढी फुर्तिलो देखिन्छ ।  
  • विद्यालयमा तालिमप्राप्त शिक्षक शिक्षिका, भौतिक सेवा सुविधा, पर्याप्त खेलमैदान तथा खेल सामग्रीको व्यवस्था हुनुपर्दछ । 
  • खेलको माध्यमबाट सिकाई क्रियाकलाप गराइ उनीहरुका अन्तर्निहीत क्षमताहरु के–के छन् पहिचान गर्नुपर्छ ।
  • अभिभावकले आºना पूरा नभएका सपना आºना सन्तानमार्फत् पुरा गर्ने अभिलाषा नराखी सन्तानको रुची अनुसारको शिक्षा तथा उत्पेरणा दिनुपर्दछ ।
  • अभिभावक आफू तनावमा छ भने बालबालिकालाई त्यसको असर परिरहेको हुन्छ, त्यसैले पहिले आफ्नो तनाव हटाइ बालबालिकाका अगाडि खुशी देखिनुपर्छ ।
  • अरु बालबालिकासँग तुलना गरेर गालीगलौज गर्नु हुँदैन । किनकी हरेक बालबालिकासँग फरक फरक क्षमता हुन्छ ।  
  • शिक्षकहरुलाई पर्याप्त बाल मनोविज्ञान सम्बन्धी तालिम प्रदान गर्नुपर्छ साथै शिक्षकको मानसिक अवस्थाको समेत परीक्षण गरी विद्यालयमा शिक्षणको लागि राख्नु सकिन्छ ।
  • पूर्व प्राथमिक शिक्षा समुदाय स्तरमै सञ्चालन गरी बालबालिकालाई खेलको माध्यमबाट सिकाई क्रियाकलाप संचालन गर्नुपर्दछ ।

तनावसँग सम्बन्धित उल्लेख गरिएको यो विषय बढी पूर्व बाल्यवस्थाका बालबालिकासँग सम्बन्धित छ । विकसित देशमा रुसोले भनेजस्तै ब्याक टु नेचर अर्थात् प्रकृतितर्फ फर्क भन्ने सिद्धान्तलाई अबलम्वन गर्न सुरु गरिएको छ । जसले बालकेन्द्रित विधिमा जोड दिएको पाइन्छ । 

(लेखक तनाव व्यवस्थापनसम्बन्धी विषयमा बेलायतबाट तालिम प्राप्त गरी नेपालमा प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ) 


 

अन्तिम अपडेट: बैशाख ८, २०७६

तपाईको प्रतिक्रिया