पोल्याण्डमा पक्राउ परेका हुआवेका चिनियाँ कर्मचारी बर्खास्त

 पुस २९, २०७५ आइतबार १२:३०:६ | रासस
unn.prixa.net

चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुआवेले पोल्याण्डमा जासुसी गरेको आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको छ ।

बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले जनाएको छ ।
चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको बताइएको थियो । पोल्याण्डको स्थानीय सञ्चारमाध्यमले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी, हुआवेका कर्मचारी पोल्याण्डमा पक्राउ गरेको जानकारी दिएको थियो ।

‘व्यवसायी पक्राउ परेको समाचार प्रकाशित भएसँगै यसबारे चीनले उच्च चासो देखाएको छ’, चिनियाँ विदेश मन्त्रालयले फ्रान्सको राज्य सञ्चालित समाचार समिति (एएफपी) लाई फ्याक्समार्फत उपलब्ध गराइएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ, सम्बन्धित मुलुकहरूले नै सम्बन्धित मुद्दालाई निष्पक्ष र अन्तर्राष्ट्रिय कानूनअनुसार चलाओस् र सम्बद्ध व्यक्तिको वैधानिक अधिकार र हितलाई सुरक्षित गर्न इमान्दार प्रयास होस् ।’

हुआवेले एक संक्षिप्त विज्ञप्ति जारी गरी कम्पनी ‘पछिल्लो अवस्थाबारे सचेत बनेको’ र ‘यसलाई हेरिरहेको छ’ तर कम्पनीसँग अहिल्यै थप प्रतिक्रिया नरहेको उल्लेख गरेको थियो । हुआवेले आफूले कारोबार गरेका देशहरूको नियम तथा कानूनलाई पालना गरेको र आफ्ना कर्मचारीलाई पनि सोहीअनुरूप चल्न निर्देशन दिइरहेको बताएको छ ।

पोल्याण्डको विशेष सुरक्षा बलले पक्राउ परेका चिनियाँ नागरिक र उनीसँगै रहेका पोल्याण्डका एक व्यक्तिले चीनका लागि पोल्याण्डविरूद्ध जासुसी गरेको आशङ्कामा सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया