ट्राफिक प्रहरीको ‘हाउ मच’ अभियान : रोकिएन ट्याक्सीकाे ठगी

 पुस २९, २०७५ आइतबार १२:५३:२ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डाै – धादिङका अर्जुन नेपाली टेकु नजिकै कोठा भाडा लिएर बस्नुहुन्छ । केही दिनअघि बिरामी आमालाई उपचारको लागि काठमाडौं ल्याउनुपर्यो ।  धादिङबाट सार्वजनिक गाडीमा आउनुभएकी आमालाई कलंकीबाट ट्याक्सीमा राखेर कोठामा लिएर जानुपर्ने भयो । 

कलंकीचोकमा रोकिरहेको एउटा ट्याक्सीलाई टेकुसम्म जान भन्नुभयो । ट्याक्सी चालकले ५ सय रुपैयाँ मागे । नेपालीले त्यति धेरै भाडा तिर्न नसक्ने बताएपछि ट्याक्सी चालक चार सय रुपैयाँमा जान तयार भए । तर अर्जुनले २ सय रुपैयाँ मात्रै दिने भनेपछि ट्याक्सी चालकसँग कुरा मिलेन । 

ट्याक्सी चालक मिटरमा जान पनि तयार भएनन् । उहाँले अर्को ट्याक्सी चालकसँग कुरा गर्नुपर्ने भयो । अर्को ट्याक्सी चालकले ३ सय रुपैयाँमा लैजान्छु भनेपछि अर्जुनले २ सय रुपैयाँ दिने भन्नुभयो । त्यो दोस्रो ट्याक्सी भने २ सय रुपैयाँ नै टेकु जान तयार भयो । तर, मिटरमा जान भने दोस्रो ट्याक्सी पनि तयार भएन ।

ट्याक्सीले तोकिएकोभन्दा बढी भाडा लिएको, मिटर बिगारेको, भनेको ठाउँमा जान नमानेको, मोलमोलाईमा मात्रै गन्तव्यमा जान तयार भएको लगायत गुनासा नयाँ होइनन् । 

अर्जुन नेपालीजस्तै धेरैेले काठमाण्डौमा ट्याक्सी चालक र व्यवसायीबाट यस्तै हैरानी खेपिरहनुपरेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिले हरेक दिन १ सय भन्दा धेरै ट्याक्सीलाई कारबाही गर्दै आएको तथ्यांकले पनि ट्याक्सीको मनोमानीमा कमी नआएको प्रष्ट हुन्छ ।

महाशाखामा बढी भाडा लिएको, ट्याक्सीको मिटर बिगारेको, भनेको ठाउँमा जान नमानेको लगायत गुनासा आउने गरेका महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,–‘विभिन्न गल्ती गरेर दैनिक १ सयभन्दा धेरै ट्याक्सीलाई हामीहरुले अहिले कारबाही गरिरहेका छौँ । विभिन्न अभियान चलाउँदा पनि ठग्ने प्रवृत्ति रोकिएको छैन, हामी प्रयास गरिरहेका छौं ।’

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले नै चालकको मनोमानी हुने गरेको स्वीकार गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘उचित भाडा समायोजन हुन नसकेको कारण व्यवसायीहरुले यसरी मनोमानी भाडा लिएका हुन् ।’ सापकोटा भाडा समायोजन गरेमा सबै समस्याको समाधान हुने भन्दै तत्काल भाडा समायोजन गरेर व्यवसायीहरुको मनोमानी रोक्न आग्रह गर्नुहुन्छ ।

बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने जस्ता क्रियाकलाप गैर–कानुनी भएको भन्दै उहाँले त्यस्ता गतिविधि केही हदसम्म मत्थर भएको भए पनि नरोकिएको र व्यवसायीहरुलाई त्यसो नगर्न भनिरहेको उज्यालो अनलाइनसँग स्वीकार गर्नुभयो ।

व्यवसायीबाट भएका यस्ता गतिविधि रोक्न अन्तिम विकल्प उचित भाडा समायोजन नै भएको उहाँको जिकीर छ ।

व्यवसायीहरुले केही समयअघि काठमाडौंमा पत्रकार सम्मेलन गरेर नै भाडा समायोजन गर्न माग गर्दै त्यसो भएको खण्डमा यात्रु ठगिने क्रम रोकिने बताएका थिए ।  

कहाँ पुग्यो ‘हाउ मच’ अभियान ?

ट्याक्सी मिटरमा गुडे नगुडेको, मनोमानी भाडा लिए नलिएको, मिटरमा जान माने नमानेको लगायत अनुगमन गर्न भन्दै ट्राफिक प्रहरीले ‘हाउ मच’ अभियान ल्याएको धेरै समय भयो । अभियान सुरु हुँदा पनि ठगिने र ठग्ने क्रम नरोकिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर २० गतेदेखि विशेष संयन्त्र खडा गर्यो । ‘सिभिल ड्रेस’ मा ट्राफिक प्रहरीलाई खटाउने काम गरियो । यात्रुको भेषमा गएका ट्राफिक प्रहरीले मनोमानी भाडा लिने चालकलाई कारबाही पनि गरे ।

सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ५ पटकभन्दा बढी ठग्ने सवारीसाधनलाई सवारीचालक अनिुमतिपत्र निलम्बन गर्ने व्यवस्था भएअनुसार कडाई गरेको महाशाखाको दाबी थियो । 

पुष २० गतेसम्म यो अभियानले ट्याक्सी चालकहरुको मनोमानी पूर्ण रुपले अन्त्य हुने उज्यालोलाई जानकारी गराएका महाशाखाका प्रवक्ता सापकोटाको भनाई भने पूरा भएन । पुष २० गते कटेको यतिका दिनसम्म पनि ट्याक्सी व्यवसायीको मनोमानी कायमै छ । 

अभियानका क्रममा मंसिर २० देखि १ महिनाको अभियानमा मोलमोलाई गरी ट्याक्सी चलाउने ५ सय ४४ लाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।

यसै अवधिमा प्रयोजन विपरित ट्याक्सी चलाउने झण्डै १५, नापतौल अर्थात मिटर बिगार्ने १८, गन्तव्यसम्म जान नमान्ने ५६ ट्याक्सीलाई कारबाही गरिएको छ । योसँगै विभिन्न गल्ती गरेका सयौँको संख्यामा अर्थात दैनिक सय भन्दा धेरै ट्याक्सी कारबाहीमा परेको महाशाखाको तथ्यांकले देखाएको छ । 

‘हाउ मच’ अभियानको विशेष अभियानमा कारबाहीमा परेका ट्याक्सीको तथ्यांक यसरी सार्वजनिक भैरहँदा ट्याक्सी व्यवसायीहरुमा भने कारबाहीको कुनै प्रवाह देखिंदैन । उनीहरु अहिले पनि खुलेआम मोलमोलाईमा नै आवश्यक भन्दा बढी भाडा लिएर ट्याक्सी चलाईरहेका छन् । 

भाडा समायोजनको माग

सरकारले पछिल्लो समय बढाएको १० प्रतिशत भाडा वृद्धिलाई मिटर ट्याक्सी व्यवसायीहरु मान्न तयार छैनन् । उनीहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आधारमा १० प्रतिशत बढाइएको भए पनि मूल्यवृद्धिको आधारमा ६५ प्रतिशत भाडा अरु बढाउनुपर्ने बताउँछन् ।

सरकारले तत्काल ट्याक्सीको भाडा समायोजन नगरे व्यवसायीहरुले गर्ने मनोमानी पनि नरोकिने नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष गौतम बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हामीले बैज्ञानीक भाडा समायोजनको माग माग गरिरहेका छौँ । तत्काल भाडा समायोजन नगरिए देखिएको समस्या नहट्ने निश्चित छ ।’ 

सरकार र सबै क्षेत्रबाट ट्याक्सी व्यवसायीलाई ‘ठग’को नजरले मात्रै  हेर्ने गरिएको भन्दै उहाँ आफूहरुको मागका विषयमा पनि गम्भीर हुन सरकारलाई आग्रह गर्नुहुन्छ । 

३ किलोमिटरको भाड एकैचोटी लिन पाउनुपर्ने माग

भाडा समायोजनसँगै ३ किलोमिटरको भाडा एकैचोटी लिन पाउनुपर्ने व्यवसायीको माग छ । उनीहरु भन्छन्, ‘चढ्ने वित्तिकै १ किलोमिटरको भाडा लिईदै आईएको छ, बढेको भाडामा पनि आधा किलोमिटर यात्रा गरेको भए पनि ३ किलोमिटरको भाडा लिन पाउनुपर्छ ।’ 

थोरै र धेरै दुरीको यात्रा गर्दा ट्याक्सीको खर्चमा त्यति धेरै फरक नपर्ने भएकोले ‘पिक’ र ‘ड्रप’ सहित ३ किलोमिटरको भाडा एकैसाथ लिन पाउनुपर्ने उनीहरुको तर्क छ ।

सुरुमै १ किलोमिटर भाडा लिन पाउने प्रावधानमा त ट्याक्सी व्यवसायीको मनोमानी भएको भनेर आवाज उठिरहेको बेला व्यवसायीहरुले यस्तो माग राख्नु यात्रुको लागि न्यायोचित देखिंदैन ।

कर्मचारी अभावमा अनुगमन फितलो

ट्याक्सीको मिटर ठीक छ की छैन भनेर जाँच गर्ने संयन्त्र नेपाल गुणस्तर तथा नापतौल विभाग हो । पर्याप्त कर्मचारीको अभावमा ट्याक्सीहरुको अनुगमन गर्न नसकिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विभागमा अहिले ४ जना मात्रै कर्मचारी छन्, लोकसेवा आयोगमार्फत कर्मचारी भर्ती गर्नुपर्ने भएकोले ७ मध्ये ३ ठाउँ खाली छन् । आवश्यक कर्मचारी नहुँदा हामीले अनुगमन गर्न सकिरहेका छैनौं ।’ 

ट्याक्सी व्यवसायीको मनोमानी बढेको गुनासाहरु आउने गरेको भए पनि अहिलेसम्म मिटर ठीक छ की छैन भनेर अनुगमन गर्न नसकिएको महानिर्देशक पुडासैनीले बताउनुभयो । 

हरेक वर्ष मिटर नविकरण गर्नुपर्ने

काठमाण्डौ उपत्यकामा भएका ट्याक्सीमध्ये विभागमा १० हजार ६ सय ४५ वटा ट्याक्सीहरु सुचिकृत भएका छन् । हरेक ट्याक्सीको मिटर हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । एउटै ट्याक्सी धेरैपटक बिक्रि भएमा जतिपटक बिक्रि हुन्छ, त्यतिपटक नै विभागमार्फत मिटर जाँच गराउनुपर्ने महानिर्देशक पुडासैनीले बताउनुभयो । 

पहिले मिटर बिग्रने गरेको पाईएपछि पछिल्लो समय विभागले वितरण गरेको मिटरमा त्यस्तो नभएको र प्राविधिक रुपमा ठीक भएको नेपाल गुणस्तर तथा नापतौल विभागको दाबी छ । 

ठगी गरे जेल र जरीवाना

ट्याक्सी व्यवसायीले मिटर बिगारेर यात्रु ठग्ने काम गरेको पाईए भदौदेखि लागू भएको नयाँ ऐन अनुसार १ देखि ३ वर्षसम्म जेल र ३० हजार रुपैयाँसम्म जरीवाना तिर्नुपर्ने विभागका महानिर्देशक पुडासैनी बताउनुहुन्छ । 

उहाँका अनुसार ट्याक्सी व्यवसायीले गल्ती गरेको पाईए मिटर जफत हुने, मिटर रोक्का गरिने र जेल तथा जरीवाना सबै बेहोर्नुपर्ने हुन्छ । सरकारले ल्याएको ऐन अनुसार कारबाही हुने थाहा नभएर वा थाहा भएर पनि थाहा नभएजस्तो गरी ट्याक्सी चालको मनोमानी रोकिएको छैन । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया