प्रदेश १ को नाम र स्थायी राजधानी सहमतिमा, मन्त्रिपरिषद् विस्तार चैतमा

 पुस २९, २०७५ आइतबार १७:१०:४१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेशको नाम र राजधानीको विषय तत्काल नटुङ्गिने भएको छ । प्रदेशसभाको अधिवेशन शुरु हुन ढिला भएसँगै नाम र राजधानीको विषय टुङ्गिन पनि समय लाग्ने भएको हो ।

कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री शेरधन राईले चैत मसान्तसम्म प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने बताएका हुन्  । नाम र राजधानीको विषय सकेसम्म सहमतिबाट नै टुङ्ग्याउने भन्ने बारेमा उच्च स्तरमा नै निर्णय भएकोले त्यही आधारमा टुङ्ग्याउन आफू लागी परेको  उहाँले बताउनुभयो ।

मन्त्री परिषद् बिस्तार गर्ने कुरा पनि ढिलै हुने भन्दै मुख्यमन्त्री राईले पहिलो चरणमा प्रदेशसभाका विषयगत समितिहरुको सभापति छानिने र त्यसपछि सभामा पेश भएका केही विधेयक माथिको छलफल पछि मात्र प्रदेशको नाम र राजधानीले सभामा प्रवेश पाउने बताउनुभयो ।

मन्त्री परिषद विस्तार गर्ने प्रसङ्गमा मुख्यमन्त्री राईले संघीय सरकारको निर्णय पर्खिएर बसेको बताउनुभयो । अन्तर प्रदेश परिषद बैठकबाट मन्त्रालयहरु कसरी बढाउने भन्ने बारेमा छलफल भएकोले प्रदेशमा मन्त्रालय कति रहने भन्ने एकिन भएर आएपछि मात्र त्यसैको आधारमा मन्त्री परिषद बिस्तार हुने राईको भनाई छ ।

‘अहिले पनि प्रदेशसभामा ५ वटा विधेयक पेश भइसकेको छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘अब प्रदेशसभा माघ दोश्रो साता बोलाउने गरी तयारी थालिएको छ । प्रदेशसभा शुरु हुने बित्तिकै प्रदेश सरकारका धेरै कामहरुले थप गति लिने छ ।’

मुख्यमन्त्री राईले प्रदेश सरकारले काम गर्न नसकेको बारेमा आएको टिकाटिप्पणीलाई सकारात्मक रहेको बताउनुभएको छ । उहाँले प्राविधिक समस्याकाबीच पनि केही कामको थालनी भएको भए पनि आम नागरिकले सोचेको जस्तो तत्कालै काम हुन नसकेको स्वीकार गर्नुभयो ।

‘एक चौमासिक त प्रदेश सरकारको एउटा पनि युनिट थिएन’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘नागरिकको माग र चाहना अनुसारको काम नभएपनि प्रदेशले धेरै कामहरु राम्रा गर्दैछ ।’

उहाँले राम्रा कामको बारेमा प्रसंशा गर्दै हरेक घरमा सुरक्षा सम्बन्धी स्टीकर टाँस्ने, रिफ्रेसमेन्ट सेन्टर बनाउने, सडक सुशासन, आम्दानीको श्रोतहरुको पहिचान गर्ने काम पनि गरेको उल्लेख गर्नुभयो ।

पर्यटकीय स्थल, कृषि र पर्यटनमा समेत प्रदेश सरकार केन्द्रित रहेको उहाँको भनाई थियो । प्रदेश सरकारले १ वर्षे, ५ वर्षे र १५ वर्षे योजना निर्माणमा विज्ञहरु लागेको भन्दै मास्टर प्लानिङका आधारमा लगानी सम्मेलनको तयारीमा प्रदेश सरकारले कार्यदिशा अगाडि बढाएको मुख्यमन्त्री राईले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया