भूकम्प पीडितको गुनासो सुनुवाइ सुस्त

 पुस २९, २०७५ आइतबार १८:०:३५ | शिव ढुंगाना

ओखलढुंगा– भूकम्प पीडितले गैरलाभग्राही सूचीमा सूचिकृत भएपछि दिएका पुनरावलोकनका निवेदनको सुनुवाइ सुस्त देखिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावेदन समितिमा दर्ताका भएका निवेदन महिनौं वितेपछि सुनुवाइ भएका छैनन् । ०७५ असोजमै दर्ता भएका निवदेन समेत अहिलेसम्म सुनुवाइ नभएपछि भूकम्प पीडित आक्रोशित भएका छन् ।

घर भत्किएर टहरामा बसोबास गर्दै आएका पीडित घर बनाउन पाउनु पर्ने सरकारी अनुदानबाट बञ्चित भएपछि पुनरावेदन गरेका थिए । ओखलढुंगाबाट प्राधिकरणमा परेका ६ सय ५० जना पीडितको पुनरावेदन सुनुवाइ हुन सकेन । 

अधिकांशका निवेदन सनुवाइका चरणमै पुगेका छैनन् । तीन जनाको सुनुवाइ शुरु भएको तीन महिना बिते पनि टुंगोमा पुगेको छैन । चिसंखुगढीका शारदा निरौलासहितका तीनजनाको निवेदन कात्तिकबाटै सुनुवाइ चरणमा पुगे पनि अहिलेसम्म जिल्लामा सुनुवाइ सकिएको जानकारी नआएको प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाईका सूचना अधिकारी सुनिता अधिकारीले बताउनुभयो ।

भूकम्पबाट घर भत्किएका भूकम्प पीडितले दिएका पुनरावेदन सुनुवाइ सुस्त हुँदा आक्रोशित भएका छन् । प्राविधिकले घर सर्भेक्षण गर्दा गैर लाभग्राही कायम भएका पीडितहरुले दिएका पुनरावेदन सुनुवाई सुस्त हुँदा उनीहरु आक्रोशित भएका हुन् ।

आफूहरुले दिएका निवेदन सुनुवाइ सकिए–नसकिएको जानकारी नआएको भूकम्प पीडित शारदा निरौलाले बताउनुभयो । आफूहरुलाई प्राधिकरणले अन्याय गरेको उहाँको भनाइ छ ।

गैह्र लाभग्राही कायम रहेका ओखलढुंगाका ६ सय ५० जना पीडितले पुनरावेदन दर्ता गराएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेको पुनरावेदन समितिले उजुरी दर्ता गरे पनि सुनुवाइ सुस्त देखिएको छ ।

ओखलढुंगामा पुनर्निर्माण प्राधिकरणले गैह्र लाभग्राही भनेर १ हजार ६ सय जनालाई लाभग्राही सूचीबाट हटाएपछि उनीहरुले पुनरावदेन गरिरहेका छन् । पुनरावेदन सुनुवाइका बारेमा प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेलाई पटक–पटक सम्पर्क गरे पनि टेलिफोन नउठाउने गरेका छन् ।

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया