उपाधि ‘दाबेदार’ बेल्जियम र पहिलोपटक छानिएको पानामा

 असार ४, २०७५ सोमबार १२:३३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

यसपटकको विश्वकप फुटबलमा धेरैले जर्मनी, ब्राजिल, अर्जेण्टिना, फ्रान्स, स्पेन, पोर्चुगलजस्ता टोलीलाई उपाधिका दाबेदारका रुपमा दाबी गर्दै गर्दा केहीले भने बेल्जियमले उपाधि जित्ने आंकलन पनि गरिरहेका छन् ।

बेल्जियमका मिडफिल्डर ड्राइज मार्टिन्स आफ्नो टोली विश्वकपको उपाधि दाबेदार मात्र होइन, बलियो दाबेदार पनि हो भन्ठान्छन् । उनका अनुसार स्टार खेलाडीको बाहुल्यता रहनु र सबैजसो खेलाडी फर्ममा रहनु यसको मुख्य कारण हो ।

रोवर्टो मार्टिनेजको नेतृत्वमा बेल्जियमको टोली विश्वकपको लागि तयार भएको छ । इडेन हाजार्ड, केभिन डी ब्रुयेन, रोमेलु लुकाकु र मार्टिन्सजस्ता खेलाडी रहेको बेल्जियमले सोमबार ‘समूह जी’को आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलोपटक सहभागी पानामासँग खेल्दैछ । 

अघिल्लो संस्करणको विश्वकप र त्यसको दुई वर्षपछि भएको युरो कपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियमको फुटबलको गोल्डेन जेनेरेशन अर्थात स्वर्णीम पुस्ताका लागि विश्वकप जित्ने यो अन्तिम मौकाको हो भन्नेहरु पनि छन् । 

नेपोलीका स्ट्राइकर मार्टिन्सका अनुसार बेल्जियम प्रतियोगितामा एक से एक टोलीलाई चुनौति दिन पर्याप्त छ । सोमबारको खेलका लागि शनिबार टिमसँगै सोची विमानस्थलमा उत्रिएका मार्टिन्सले पत्रकारसँग भनेका छन्, ‘पूरै टिम यूरो कपभन्दा उत्कृष्ट प्रदर्शन गर्न उत्साहित छ ।’ आफूहरुलाई विश्वकपको उपाधिका लागि दाबेदार रहेको भन्न पाउने प्रशस्त अधिकार रहेको उनको भनाई छ । 

नियमित कप्तान भिन्सेण्ट कोम्पनी र अर्का डिफेण्डर थोमस भमालिन सोमबारको खेलमा हुने छैनन् । कोम्पनी गम्भीर चोटका कारण आराम गरिरहेका छन् । जुन २८ मा हुने इंग्ल्याण्डविरुद्धको खेलसम्ममा उनी प्लेइङ सेटमा पर्ने अपेक्षा गरिएको छ ।

यता विश्वकपको नवप्रवेशी टोली पानामाका लागि भने यो ठूलो अवसर हुनेछ, जो छनोट चरणमा अमेरिकालाई पछि पारी नाटकीय रुपमा  विश्वकपका लागि छनोट भएको हो । तर, स्टार खेलाडीले भरिएको बेल्जियमसँग खेल्दा अनुभवको कमीका कारण पानामाका खेलाडी हतोत्साही हुन सक्ने आँकलन गरिएको छ । 

‘एउता सुखद र सपनाको यात्रामा हामी यहाँ आएका छौं, जहाँबाट हाम्रो सुरुआत हुँदैछ’, मिडफिल्डर भ्यालेन्टिन पिमेन्टलले सोचीमा पत्रकारहरुसँग भने, ‘समर्थकको माया र उत्साहले हामी यहाँसम्म पुगेका छौं र जहाँ फुटबल खेलिन्छ उनीहरुलाई देखाउनेछौं कि पानामा महान काम गर्न सक्षम हुनेछ ।’

पेपरमा पानामालाई यस विश्वकपकै सबैभन्दा कमजोर टोलीको रुपमा चित्रित गरिएको छ । तर, त्यो हुँदैमा पानामा बेल्जियमसँग आश्चर्यजनक नतिजा ल्याउन असक्षम छ भन्नु हतार हुनसक्छ । किनभने पानामा पनि छनोट चरण पार गरेर रुस पुगेको हो । 

पानामाको सबैभन्दा ठूलो तागते प्रशिक्षक हर्नान गोमेज हुन्, जोसँग मात्र विश्वकपको अनुभव छ । यी कोलम्बियाली प्रशिक्षकले सन् १९९८ मा कोलम्बिया र २००२ को विश्वकपमा इक्वेडरको नेतृत्व गरेका थिए ।

उत्तर तथा मध्य अमेरिकी क्षेत्रबाट विश्वकप छनोटको अन्तिम खेलमा कोष्टारिकालाई पराजित गरेपछि र अमेरिका ट्रिनिडाड एण्ड टोबाकोसँग पराजित भएपछि पानामाको भाग्य चम्किएको हो । तर, छनोटपछिका आठ अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा उसले दुईवटामा मात्र जित हासिल गर्न सकेको छ ।

रुस विश्वकपको तयारीका क्रममा पानामालाई एउटा ठूलो झड्का लागेको थियो । उसका स्टार विंगर अल्बेर्टो क्वाइन्ट्राओ चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा रिकार्डो अभिलालाई टिममा ल्याइएको छ ।

प्लेयर्स टू वाच

  • इनेड हाजार्ड, बेल्जियम 

चेल्सीका लागि गएको सिजन सम्झनलायक रहेन । तर, इडेन हाजार्डको प्रदर्शन कमजोर भने थिएन, यद्यपी चेल्सीले प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीलाई सुम्पिएपछि उनी छायाँमा परेका थिए ।

बेल्जियमको स्टारका रुपमा उनले रुसमा आफूलाई पुनः प्रमाणित गर्ने अवसरको पाएका छन् । यसअघि २०१४ को ब्राजिल विश्वकप र २०१६ को फ्रान्स युरोकपमा बेल्जियमलाई क्वार्टरफाइनलसम्म पुर्याउन हाजार्डको मुख्य योगदान थियो । २७ वर्षीय प्लेमेकर हाजार्डले बेल्जियमका लागि ८५ खेलमा २२ गोल गरेका छन् ।

  • रोमन टोरेस, पानामा

टोरेस पानामा टोलीका मुख्य डिफेण्डर मात्र होइनन्, कप्तान समेत हुन् । पानामाका सबैभन्दा अनुभवी र आक्रामक सेन्टर ब्याक टोरेसको शानदार प्रदर्शनकै कारण टोलीले विश्वकपसम्मको यात्रा गरेको हो ।

उनी विपक्षी स्ट्राइकरका लागि पर्खाल जस्तै खडा हुन्छन् । राष्ट्रिय टोलीबाट १०८ खेल खेलेका उनले १० गोलसमेत गरेका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया