कुटिएका सचिवले भने : मन्त्रीले झापडपछि पिठ्युँमा लात हानेर कोठाबाहिर निकाल्नुभो !

 पुस २९, २०७५ आइतबार १९:१९:३३ | शैलेन्द्र महतो

धनुषा – आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले प्रदेश मन्त्रालयका एक सचिवलाई कुटपिट गरेका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतबार दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटपिट गरेका हुन् । आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले आफूलाई कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै अगाडि झापड तथा लातले हानेको सचिवले गुनासो गर्नुभयो ।

‘पहिला सभामुखकै अगाडि गालामा झापडले हिर्काउनुभयो । त्यसपछि म अवाक भएँ । त्यसपछि पुनः अर्को कोठामा लगेर हात र लातले हान्नुभयो’, सचिव झाले भन्नुभयो, ‘त्यसक्रममा सभामुखले बचाउनुभयो । त्यसपछि पिठ्युँमा लात हानेर कोठाबाट बाहिर निकाल्नु भो !’

मन्त्री यादवले दुईपटक कुटपिट गरेर कोठाबाट बाहिर निकालेको सचिव झाको गुनासो छ । मन्त्रीबाट कुटिएका सचिव झालाई मन्त्रीकै निर्देशनमा प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएका थिए ।

प्रहरी नियन्त्रणमा रहेका कुटिएका सचिवको गालामा निलडाम देखिएको छ । केही बेरपछि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा लगेर सचिव झाको स्वास्थ्य परीक्षण समेत गरेको छ ।

कुटपिट घटनापछि कर्मचारीहरुले केही बेर मन्त्रालय अगाडि धर्ना पनि दिएका थिए । गरिबी निवारण कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएको मध्ये ४० वटा संस्था छनोट सचिव झाले बताउनुभयो ।

मन्त्री यादवले भनेको एनजीओको नाम छनोटमा नगरेकाले नतिजा परिवर्तण्न गर्न दबाब दिएको र आफूले नतिजा परिवर्तना नहुने बताएपछि योजनाबद्ध तरिकाले मन्त्रीले बोलाएर कुटपिट तथा दुव्र्यवहार गरेको सचिव झाको भनाई छ ।

सचिव झाले भन्नुभयो, ‘घटनाको छानबिन होस् । म दोषी छु भने म माथि कारबाही हुनुपर्छ । होइन भने यसरी मन्त्रालयमा बोलाएर सचिवलाई कुटपिट गर्ने मन्त्री यादवलाई कानुन अनुसार कारबाही हुनुपर्छ ।’

मन्त्री यादवले आफूले कुटपिट नगरेको जिकिर गरेका छन् । सञ्चारकर्मीसँग मन्त्री यादवले ‘मैले सचिवलाई कुटपिट गरेकै छैन । यदि मैले कुटपिट गरेको छु भने प्रमाण देखाउनुस्’ भनेर अरु केही नबोल्ने बताए ।

अन्तिम अपडेट: चैत १४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • प्रदीप वाग्ले

    Jan. 14, 2019, 11:44 a.m.

    कर्मचारीलाई कुटपिट गरेर मन्त्री जस्तो गरिनामय पदमा आसिन माननीय मन्त्री ज्युले लोकतन्त्रकै उपाहास गर्नु भएको छ। यस्तो दुर्ववहार गर्ने मन्त्री ज्यु लाई कडा भन्दा कडा कार्वाही होस। पिडितले न्याय पाओस् ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया