भियनामा चिनिएको आकर्षक नेपाल

 पुस ३०, २०७५ सोमबार ८:५२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चार दिने पर्यटन मेला ‘फेरेन मेस्से विन’ अष्ट्रियाको भियनामा आइतबार सम्पन्न भएको छ । नौ वर्गमिटर क्षेत्रफलको नेपाली स्टलले मेलामा आएका धेरैलाई विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य अग्ला हिमालको देश नेपाल भनेर चिनाउन सफल भएको पर्यटन बोर्डले जानकारी दिएको छ । फेरेन मेस्से विन अस्ट्रियाकै सबैभन्दा ठूलो पर्यटन मेला हो ।

सन् २०२० को नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी २० लाख पर्यटन आगमनको लक्षलाई हासिल गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले नयाँ बजारहरुमा मेला तथा अन्य प्रवर्द्धनात्मक अभियानहरुलाई अझ सशक्त रुपले सहभागिता गर्ने क्रममा पहिलो पटक यस मेलामा सहभागी भएको हो । अष्ट्रिया पनि हिमाली देश भएको र अष्ट्रियनहरुलाई पदयात्रा र हिमाल आरोहणलगायतका साहसिक क्रियाकलापमा धेरै रुची भएको कारण पनि नेपालप्रति विशेष लगाव देखिएको थियो । 

नयाँ पदमार्ग, मौसम र नेपाल पुग्ने रुटका बारेमा प्रश्नहरु सोधिएको थियो । स्टलमा सगरमाथा आरोहण गरिसकेका आरोहीसमेत आएर नेपालको अभियानमा साथ दिएका थिए । नेपाली स्टलमा ट्राभल एजेण्ट्सहरु र नेपाल जान चाहने पर्यटकहरुको उल्लेख्य सहभागिता थियो । बोर्डले मेलामा आएकाहरुलाई नेपालको नक्सा, पोष्टर, कार्ड ड्राइभ, किरिङहरु बाँडेको थियो ।

मेलामा अस्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी र अन्य कर्मचारीले पनि नेपाल स्टलमा आएर जिज्ञासुलाई नेपालबारे जानकारी दिँदै नेपाल जान निम्तो दिनुभएको थियो । नेपाल पर्यटन बोर्डका तर्फबाट वरिष्ठ अधिकृतहरु सुधन सुवेदी र कुन्दन शर्मा मिश्र सहभागी थिए भने नेपाल स्टलमा एक्स्प्लोर नेपाल ट्राभल एण्ड एड्भेन्चरको पनि सहभागिता रहेको थियो । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया