तरुलको मूल्य सस्तियो

 पुस ३०, २०७५ सोमबार १२:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको माघे सङ्क्रान्ति  तरुलको मूल्य सस्तिएको छ । माग भन्दाबढी तरुल बजारमा भित्रिएपछि यस वर्ष गएकाे वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । 

माघ सङ्क्रान्तिलाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ । यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो । गएकाे वर्ष विकास समितिले ६ सय टन तरुल माघे सङ्क्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साढे ९ सय टन भित्र्याएको छ । 

स्टक रहने डरले पनि यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको पनि उपनिर्देशक श्रेष्ठले बताउनु भयो । व्यापारीहरुले फेरि स्टक रहने डरले पनि तरुलको मूल्य बढाउन नचाहेको पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढी प्रतिकेजी मूल्य ३०० सयमा बिक्री भएको छ । त्यसैगरी तरुल प्रतिकेजी ५० रुपैयाँ, हात्तीपाइले तरुल बढीमा १ सय २० रुपैयाँमा बिक्री भैरहेको छ । गएकाे वर्ष यो तरुल प्रतिकेजी ३ सय ५० रुपैयाँभन्दा बढीमा बिक्री भएको पनि विकास समितिका उपनिर्देशक श्रेष्ठले बताउनुभयो । बजारमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएको छ ।

यो वर्ष सबैभन्दा बढी तरुल सर्लाही जिल्लाबाट काठमाण्डाै भित्रिएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार माघे सङ्क्रान्तिलाई लक्षित गरेर पिडालु १ सय ३० टन, सक्करखण्ड १ सय ५० टन भित्रिएको छ । सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट यस वर्ष तरुल काठमाण्डाै भित्र्याइएको हो ।

हरेक वर्ष पुस महिनामा सबैभन्दा बढी तरुल बिक्री हुने गर्दछ । माघे सङ्क्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि सुरु गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया