बिजुली निकाल्न बनाइएको प्लाण्टले ‘फोहोरको डङ्गुर’मा पनि पाएन फोहोर

 पुस ३०, २०७५ सोमबार १६:४१:२ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – फोहोरलाई मोहोर बनाउने भन्दै काठमाण्डौ महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने योजना अघि सार्यो । योजना अनुसार नै टेकुमा रहेको फोहोर संकलन केन्द्रमा काठमाण्डौबाट संकलित फोहोरबाटै १४ किलोवाटको बिजुली निकाल्ने गरी संरचना पनि तयार भयो । बिजुली पनि बल्यो । 

गएको वर्ष असार १३ गते महानगरका मेयर विद्यासुन्दर शाक्यले तामझामका साथ यो वायोग्यास प्लाण्टको उद्घाटन पनि गरे । उद्घाटन समारोहमा शाक्यले फोहोरबाट बिजुली निकाल्ने प्रविधि विस्तारै अन्यत्र पनि विकास गर्दै लैजाने घोषणा समेत गर्न भ्याए । 

चर्को लोडसेडिङका कारण आजित भएका बेला वैकल्पिक उर्जाका लागि महानगरले यो योजना अघि सारेको थियो । तर पछिल्लो समय लोडसेडिङ हुन छाडेपछि यो योजना छायाँमा पर्न पुग्यो ।

यो नमुना प्रोजेक्ट रहेको र यसको परीक्षणपश्चात महानगरले अन्यत्रका लागि पनि अध्ययन गरेर अघि बढ्ने अभिव्यक्ति मेयर शाक्यले दिएका थिए । 

तर त्यसको ठ्याक्कै डेढ वर्षपछि फोहोरबाट बिजुली निकाल्ने भनिएको वायोग्यास प्लान्टमा पुग्दा यो आयोजनाको प्रगति टिठलाग्दो भेटियो । महानगरकै बेवास्ताका कारण आयोजना बन्द हुने अवस्थामा पुगेको त्यहाँ कार्यरत कर्मचारीहरुको बुझाइ छ ।  

चर्को लोडसेडिङका कारण आजित भएका बेला वैकल्पिक उर्जाका लागि महानगरले यो योजना अघि सारेको थियो । तर पछिल्लो समय लोडसेडिङ हुन छाडेपछि यो योजना छायाँमा पर्न पुग्यो । युरोपियन युनियनको ८० र महानगरको २० प्रतिशत गरी झण्डै २ करोडको लगानीमा निर्माण गरिएको यो योजना अहिले बन्द जस्तै अवस्थामा छ ।   

भारतबाट ल्याइएको बिजुली उत्पादन गर्ने मेसिन बेला–बेला बिग्रँदा कहिलेकाहीँ उत्पादन नै ठप्प हुने गरेको महानगरको वातावरण विभाग बताउँछ । अहिले पनि बिजुली त उत्पादन हुन्छ । तर भनेको भन्दा निकै न्यून मात्रै । करिब २/३ किलोवाटमा मात्रै बिजुली उत्पादन भइरहेको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ बताउनुहुन्छ । ‘यो हाम्रो डेमो मात्रै हो । फुल फेजमा यसलाई चलाउनै सकिएन’, श्रेष्ठले भन्नुभयो । 

चलाउनै गाह्रो 

प्लाण्ट स्थापना गर्दै गर्दा यसबाट दैनिक १४ किलोवाट बिजुली, ३ सय किलोग्राम जैविक मल र ९६ किलोग्राम एलपी ग्यास तथा ५ सय लिटर प्रशोधित पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर अहिले दैनिक रुपमा लक्ष्यको १० प्रतिशत पनि उत्पादन हुन सकेको छैन । प्रशोधित पानी उत्पादन गर्ने भनिए पनि आजसम्म त्यस्तो कुनै पानी निकालिएको छैन । 

सुरुमा प्रशोधित पानी पनि निस्कने भनिएको थियो तर प्रयोग गर्दै जाँदा आजसम्म प्रशोधित पानी ननिस्किएको महानगरको वातावरण विभागकी इञ्जिनियर निशा कोइरालाले बताउनुभयो । ‘मेसिनबाट लेदो मिस्रित पानी निस्कन्छ, त्यसलाई प्रशोधित त भन्न मिलेन’, कोइरालाले भन्नुभयो, ‘मेसिन बिग्रिएर हो कि हामीलाई चलाउन नआएर हो आजसम्म प्रशोधित पानी निकालिएको छैन ।’

दैनिक १४ किलोवाट बिजुली उत्पादनका साथै २ सय ४० घर परिवारलाई खाना पकाउन पुग्ने गरि ग्यास उत्पादनको लक्ष्य पनि राखिएको थियो । तर महानगरको बेवास्ताले प्लाण्ट बन्द हुने अवस्थामा पुगेको हो ।   

जैविक मलको परिमाण पनि न्यून छ । दिनमा २०/२५ केजीभन्दा बढी जैविक मल निकाल्न नसकिएको विभागीय प्रमुख श्रेष्ठ बताउनुहुन्छ । जति फोहोर हाल्न सक्यो त्यति नै धेरै निस्कने हो, फोहोर हाल्न नसक्दा जैविक मलको परिमाणमा पनि कमी आएको उहाँ बताउनुहुन्छ । ग्यास उत्पादनको अवस्था पनि तेस्तै छ ।

भनेजस्तो फोहोरको व्यवस्था गर्न नसक्दा ग्यास, जैविक मल र बिजुली निकाल्न कठिनाइ भएको श्रेष्ठको भनाई छ । ‘उत्पादित ग्यासबाटै बिजुली निकालिने हो । ग्यास नै ननिस्किएपछि बिजुली कसरी निस्कनु र ?’, श्रेष्ठले भन्नुभयो ।

काठमाण्डौमा दैनिक ५ सय टन फोहोरमैला उत्पादन हुने गरेकोमा दैनिक ३ टन फोहोरमैलाबाट यो प्लाण्ट सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर प्लाण्ट सुरु भएपछि प्राविधिक जटिलता धेरै देखिँदा लक्ष्यअनुसार काम हुन नसकेको वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । 

फोहोरबाटै ग्यास उत्पादन गर्ने र त्यसरी उत्पादन भएको ग्यास खाना पकाउने ग्यासको रुपमा वितरण गर्ने भन्ने कुरो थियो । झण्डै दैनिक २ सय ४० घर परिवारलाई खाना पकाउन पुग्ने गरि ग्यास उत्पादनको लक्ष्य पनि राखिएको थियो । तर महानगरको बेवास्ताले प्लाण्ट बन्द हुने अवस्थामा पुगेको हो ।   

फोहोर र गोबर नै पाएन प्लाण्टले

फोहोरै फोहोरको डंगुर भएको ठाउँमा पनि फोहोरबाट चलाउने भनिएको प्लाण्टलाई पुग्ने फोहोरको व्यवस्थापन हुन सकेन भन्दा मान्छेहरु अचम्ममा पर्ने गरेको पोखरेलले अनुभव सुनाउनुभयो । तर फोहोर अभावले नै प्लाण्टलाई पूर्ण रुपमा चलाउन कठिनाइ आएको उहाँ बताउनुहुन्छ । 

कुहिने र नकुहिने गरी काठमाण्डौ महानगरमा मात्रै दैनिक ५ सय टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको छ । दैनिक निस्कने यस्ता फोहोर मध्ये ५६ प्रतिशत जैविक अर्थात कुहिने फोहोर हुने गरेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र ललितपुरको अनुसन्धानले देखाएको छ ।   

महानगरपालिकासँगै जोडिएका अन्य नगरपालिकासमेतलाई जोड्ने हो भने दैनिक झन्डै ८ सय टनसम्म फोहर उत्पादन हुने गरेको छ । सिसडोल ल्याण्डफिल साइडमा मात्रै दैनिक ७ सय टन फोहर व्यवस्थापन गर्दै आएको महानगरको वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलले बताउनुभयो ।  

तर कुहिने खालका फोहोरको राम्रोसँग व्यवस्थापन गर्न नसक्दा प्लाण्ट चल्न कठिनाइ भएको उहाँले बताउनुभयो । फोहोरै फोहोरको डंगुर भएको ठाउँमा पनि फोहोरबाट चलाउने भनिएको प्लाण्टलाई पुग्ने फोहोरको व्यवस्थापन हुन सकेन भन्दा मान्छेहरु अचम्ममा पर्ने गरेको पोखरेलले अनुभव सुनाउनुभयो । तर फोहोर अभावले नै प्लाण्टलाई पूर्ण रुपमा चलाउन कठिनाइ आएको उहाँ बताउनुहुन्छ । 

महानगरको वातावरण विभागकी इञ्जिनियर निशा कोइरालाका अनुसार प्लाण्टमा प्रयोग गर्न तरकारी जन्य फोहोर चाहिन्छ । त्यसमा पनि अम्लीयपना नभएको चाहिने हुँदा यस्तो फोहोर व्यवस्थापन गर्न कठिन भएको उहाँले बताउनुभयो । 

यस्तै प्लाण्टमा फोहोरसँगै गाईबस्तुको गोबरको पनि आवश्यक पर्छ । गाउँघरमा बनाइने गोबर ग्यास प्लाण्टजस्तै यसलाई पनि गोबर उत्तिकै चाहिने इञ्जिनियर कोइराला बताउनुहुन्छ । ‘दैनिक निस्कने फोहोरमध्ये ५६ प्रतिशत जैविक फोहोर निस्कने तथ्यांक रहे पनि प्लाण्टलाई चाहिने खालको फोहोर पाउनै मुस्किल छ, गोबरको पनि हामीकहाँ अभाव छ’, कोइरालाले भन्नुभयो ।  

हराए ठाउँठाउँमा राखिएका डस्टबिन 

वायो ग्यास प्लाण्टलाई मध्यनजर गर्दै घरघरबाटै तरकारीजन्य फोहोर संकलन गर्न भनेर वरिपरिका केही वडामा डस्टविनहरु पनि राखिएका थिए । तर अहिले ती डस्टबिनहरुको नामोनिसान नै छैन । भेटिएका पनि टुटे फुटेको अवस्थामा छन् ।  

वेस्ट टु इनर्जी नाम दिएर एकीकृत दिगो फोहोरमैला व्यवस्थापन परियोजना अन्तर्गत वडा १२ र १९ मा यस्तो कार्यक्रम चलाउन सुरु गरिएको थियो । ती वडामा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न ठूल–ठूला डस्टबिनहरु राखिएका थिए । तर त्यसबेला राखिएका डस्टबिनहरु अहिले आफ्नो वडामा नरहेको वडा नम्वर १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठले बताउनुभयो ।  

‘पहिले त ठाउँ–ठाउँमा फोहोर संकलन गर्ने डस्टबिन राखिएको थियो तर अहिले कुनै पनि छैन’, श्रेष्ठले भन्नुभयो, ‘सडक मर्मत गर्ने तथा खन्ने काम पनि भइरहेकाले त्यो बेला सबै फुटेको हुनसक्छ ।’

‘पहिले त ठाउँ–ठाउँमा फोहोर संकलन गर्ने डस्टबिन राखिएको थियो तर अहिले कुनै पनि छैन’, श्रेष्ठले भन्नुभयो, ‘सडक मर्मत गर्ने तथा खन्ने काम पनि भइरहेकाले त्यो बेला सबै फुटेको हुनसक्छ ।’

फोहरमैला व्यवस्थापन ऐन २०६८ मा फोहर व्यस्थापनका लागि कुहिने र नकुहिने फोहोर उत्पादन हुने स्रोतबाट नै व्यवस्थापन गरिनुपर्ने उल्लेख छ । त्यसैलाई मध्यनजर गर्दै महानगरले केही वडामा कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्न डस्टबिन राखेर परीक्षण गरेको थियो । तर त्यो परीक्षण असफल हुन पुग्यो ।

तर फोहोर संकलनका लागि विभिन्न वडामा कुहिने र नकुहिने फोहोरका लागि छुट्टैछुट्टै डस्टबिन राखिए पनि जानेर हो वा नजाने डस्टबिनमा जथाभावी फोहोर राख्ने गरेको भेटिएपछि सुरुबाटै आफूहरुले त्याहाँको फोहोर प्रयोग गर्न नपाएको वातावरण विभागकी इञ्जिनियर कोइराला बताउनुहुन्छ ।    

स्थानीयलाई यसबारेमा राम्रोसँग जानकारी नगराउँदा फोहोर जथाभावी राखिदिएको हुन सक्ने बताउनुहुन्छ  वडा नम्बर १९ का वडाध्यक्ष श्रेष्ठ । आफूहरु पनि भर्खर–भर्खर निर्वाचित भएर आएको र सबै कुराको जानकारी नहुँदा यसप्रति ध्यान नै जान नसकेको उहाँले बताउनुभयो । 

आसपासकै स्थानबाट जैविक फोहोर संकलन गर्ने काम विफल भएपछि प्लाण्टका लागि अहिले कालिमाटी तरकारी बजार, बल्खुको तरकारी बजार तथा टेकुमै रहेको वधशालाबाट निस्कने जैविक फोहोरहरु ल्याइने गरिएको छ ।   

अझै पनि पटक–पटक फोहोर उठ्न नसकेर काठमाण्डौ अस्तव्यवस्त र दुर्गन्धित बन्ने क्रम रोकिएको छैन । तर फाेहाेरबाटै बिजुली निकाल्ने भन्दै खुलेकाे प्लाण्ट भने बन्द हुने अवस्थामा पुगेकाे छ ।

अझै पनि पटक–पटक फोहोर उठ्न नसकेर काठमाण्डौ अस्तव्यवस्त र दुर्गन्धित बन्ने क्रम रोकिएको छैन । ‘भन्नेहरुले फोहोरबाटै बिजुली निकाल्ने हो भन्छन्, जस्तो फोहोर पनि हाले हुन्छ भन्ने बुझाइ छ । तर त्यस्तो होइन ढुंगा, वालुवा जस्ता पदार्थ मिसिएको फोहोर कामै छैन’, महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ । 

महानगरबाट संकलित फोहोरबाट पनि जैविक फोहोर छान्ने काम हुन्छ । तर यसरी छान्दा  पनि प्लाण्टलाई काम लाग्ने निकै थोरै मात्रै फोहोर निस्कने गरेको उहाँ बताउनुहुन्छ ।  

कहाँ प्रयोग हुन्छ ग्यास र बिजुली  

प्लाण्ट स्थापना गर्ने बेला यसबाट निस्कने बिजुली महानगरको कार्यालयमा प्रयोग गर्ने भनिएको थियो । तर अहिलेसम्म यहाँबाट निस्केको बिजुलीले महानगरको कार्यालयमा कुनै कामका लागि पनि प्रयोग गर्न सकिएको छैन ।  

प्लाण्टबाट उत्पादन हुने विजुली त्यही प्लाण्ट चलाउनका लागि मात्रै ठिक्क छ । कालीमाटी, बल्खु तथा टेकुबाट ल्याइएका केही जैविक फोहोरलाई प्लाण्टमा राखेर बिजुली बनाउन अहिले विहान विहान १/२ घण्टा काम हुने गरेको उहाँले बताउनुभयो । 

‘अघिल्लो दिन स्टोर गरेर राखेको ग्यासबाट भोलिपल्ट त्यही फोहोर पेल्ने मेसिन चलाउन मात्रै यहाँको बिजुली प्रयोग हुन्छ । बाहिर प्रयोग गर्न सकिने गरी उत्पादन नै गर्न सकिएको छैन’, कोइरालाले भन्नुभयो । 

फोहोर पेल्ने एउटा सानो जेनेरेटर छ । अघिल्लो दिन स्टोर गरेर राखेको ग्यासबाट उत्पादन हुने बिजुलीले भोलिपल्ट त्यही मेसिन मात्रै चलाइने गरेको कोइरालाले बताउनुभयो । 

प्लाण्ट प्रदर्शनीमा राखिएको हात्ती जस्तै   

फोहोरबाट बिजुली निकालिएको यो परियोजना नेपालकै पहिलोे र एक मात्र नमुना परियोजना हो । तर सम्बन्धित निकायकै वेवास्ताका कारण नमुना परियोजना पूर्ण रुपमा असफल हुन पुगेको छ । 

परियोजना सञ्चालन गर्ने महानगरकै बेवास्ताका कारण परियोजना नै प्रदर्शनीमा राखिएको हात्तीजस्तै बन्न पुगेको छ ।  

परियोजना सञ्चालन गर्ने महानगरकै बेवास्ताका कारण वायोग्यास प्लाण्ट प्रदर्शनिमा राखिएको कुनै प्रदर्शित सामाग्रि जस्तै बन्न पुगेको छ । कहिले कहीँ विद्यार्थीहरु फोहोरबाट कसरी बिजुली निस्कन्छ भन्दै प्लाण्ट हेर्न आउने गरेको कर्मचारीहरु बताउँछन् ।  

विशेषगरी वायो ग्यासमा अध्ययन गर्नेहरु प्लाण्ट हेर्न पुग्छन् । जनप्रतिनिधिलाई भने प्लाण्टको बारेमा कुनै चासो नै छैन । उनीहरु प्लाण्ट अनुगमनमा पनि खासै नआउने गरेको कर्मचारीको भनाइ छ ।  

कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न हरेक वडाले आ–आफ्ना वडामा सचेतना कार्यक्रम गरे फोहोर उत्पादन हुने स्रोतबाटै वर्गीकरण भएर बाहिर निस्कन सक्थ्यो । यो परियोजनाले पनि त्यसका लागि समन्वय गरेर अघि बढ्नु पर्ने थियो ।

तर परियोजना सञ्चालन गर्ने महानगरकै बेवास्ताका कारण परियोजना नै प्रदर्शनीमा राखिएको हात्तीजस्तै बन्न पुगेको छ ।  

ओलीको बोली पूरा तर पाएन निरन्तरता

छिमेकी देश भारत तथा अरु देशले फोहोरबाट बिजुलीसँगै ग्यास उत्पादन गरिरहेका छन् । घरघरबाट निस्कने जैविक फोहोरलाई सदुपयोग गर्न सकेमा बिजुली र खाना पकाउने ग्यास निकाल्न सकिन्छ । तर नेपालमा भने नमुनाका लागि ल्याइएको प्लाण्ट सञ्चालनमा कठिनाइ भएको छ ।

२०७२ मा भारतले नाकाबन्दी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हावा र फोहोरबाट बिजुली निकाल्ने भन्दा त्यतिबेला हावादारी गफ भनेर टिकाटिप्पणी भएको थियो ।

तर प्रधानमन्त्री ओलीले बोलेको कुरा कार्यान्वयन गर्ने भन्दै महानगरले काम थालेर फोहोरबाट बिजुली निकाल्ने प्लाण्ट निर्माण गरेर बिजुली पनि निकाल्यो । तर अहिले फोहोरबाट बिजुली निकाल्ने प्लाण्ट आवश्यक कच्चा पदार्थ अर्थात आवश्यक मात्रामा जैविक फोहोर नपाउँदा बन्द हुने अवस्थामा पुगेको छ । 

पर्याप्त तयारी र दीर्घकालीन योजना विना यो योजना अघि बाढाउँदा समस्या आएको वैकल्पिक उर्जा प्रवर्धन केन्द्र बताउँछ । आफूहरुले सहकार्य गर्न खोजे पनि महानगरले बेवास्ता गरेको उसको भनाई छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया