रानीपोखरीमा तिहारअघि पानी भर्ने तयारी : पानी अड्याउने समस्या यथावत

 पुस ३०, २०७५ सोमबार १८:१९:६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – हरेक वर्षजस्तै यसवर्ष पनि तामझामका साथ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी भैरहेको छ ।

यसपालि ‛विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार′ भन्ने नाराका साथ २१ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । दिवसको मुख्य दिन माघ २ गते विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

भूकम्प  दिवसको अवसरमा उज्यालो अनलाइनमा ‘भूकम्पीय सुरक्षा दिवस : पुनर्निर्माणको सकस′ शृङ्खला प्रस्तुत गर्दैंछौं ।

पुरातात्विक सम्पदाको पुनर्निर्माणमा केन्द्रित यो शृङ्खला ऐतिहासिक रानीपोखरीको नालिबालीबेलीबाट सुरु गरौँ ।

तीन वर्षअघि रानीपोखरीमाथि बेलुन उडाएर राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछिको पुनर्निर्माण महाअभियान शुभारम्भ गर्नुभयो । रानीपोखरीको पनि शिलान्यास भयो । जहाँबाट तीन वर्षअघि नै महाअभियानको सुरुवात भयो, त्यही ठाउँ अझै पनि खण्डहर छ । रानीपोखरी भन्नुको मात्रै छ, पानी छैन । पुरै झारैझारले ढाकिएको छ । 

रानीपोखरी बीचमा रहेको मन्दिर भताभुङ्ग छ । झारपातले पुरिएका ठाउँमा ठूल्ठूला खाल्डा छन् । पुराना सामग्री पनि यत्रतत्र छरिएका छन् । 

अहिले फुटबल मैदानजस्तै

भूकम्प गएको ९ महिनापछि माघ २ गते ११ बजेर ५६ मिनेटमा रानीपोखरी शिलान्यास भएको हो । रानीपोखरी उस्तै दुरुस्तै बन्ने भयो भनेर धेरैले आशा गरे । तर जतिजति दिन बित्दै गए, उसैगरी निराशा बढ्दै गयो । अहिले रानीपोखरी फुटबल खेल्ने मैदानजस्तै भएको छ । बर्खामा पलाएको झारपात सुकेको छ । 

तीन वर्षसम्म तमासा

तीन वर्षअघि १८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो ।

अहिले २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आइपुग्दा पनि रानीपोखरी बन्न सकेको छैन । धमाधम काम भएको भए त रानीपोखरी यसरी फुटबल मैदानजस्तो बन्ने थिएन । तर जिम्मेवार निकायले समयमा काम गर्न सकेनन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको पुनर्निर्माणसम्बन्धी कार्ययोजना अनुसार रानीपोखरीको शिलान्यास भएको थियो । तर यसबीचमा पटक–पटक रानीपोखरीमा विवाद भयो । काम सुरु भयो, तर संरचना बनाउँदा आधुनिक निर्माण सामग्री र कंक्रिट प्रयोग भयो भनेर हटाइयो । 

रानीपोखरीको भित्री भाग पुरातत्व विभाग र बाहिरी भाग काठमाण्डौ महानगरपालिकाले बनाउने जिम्मा लिएका हुन् । अहिलेसम्म न त पुरातत्व विभागले जिम्मेवारी बहन गर्यो न त काठमाण्डौ महानगरपालिकाले नै बनाउन पहल गर्न सक्यो ।

रानीपोखरी र रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरलाई पटकपटक विवाद र बहसको विषय बनाइयो । काम सुरु गरेर पनि भत्काउने अवस्था आयो । झन् जनप्रतिनिधि आएपछि त काम अगाडि बढ्नुपर्ने थियो, तर अनेक बहानाबाजीमा अल्झाउने मात्रै भयो, सुल्झाउने आँट देखिएन । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी बनाउन महानगरसँग पैसा भए पनि असन्तुष्ट पक्षको अवरोधले रोकिएको बताउनुहुन्छ । 

शैली र पानी अड्याउने विषय मुख्य समस्या : प्राधिकरण

भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने बहस मुख्य केन्द्रित भयो । काम थालनी भयो, तर पूर्णता नपाउँदा अहिलेसम्म खर्च भएको पैसा पनि त्यसै खेर गएको छ । रानीपोखरीलाई चौर बनाएको भन्दै दबाब दिन कहिले जनप्रतिनिधिलाई घाँस उपहार दिने र कहिले फुटबल खेल्नेसम्मका गतिविधि भए । 

आधुनिक सामग्री प्रयोग गरेको भन्दै विरोध भएपछि रोकिएको निर्माणको काम अझै अगाडि बढ्न सकेको छैन । प्राधिकरणका पुरातत्व अधिकृत भिष्म बाँस्कोटाले रानीपोखरीको मुख्य विवाद शैली र पानी कसरी अड्याउने भन्ने नै रहेको बताउनुभयो । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो तिहारसम्ममा रानीपोखरी निर्माणको काम सम्पन्न हुने बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले तिहारअघि रानीपोखरीमा पानी भरिने र मन्दिर पनि निर्माण भइसक्ने दाबी गर्नुभयो । ‘रानीपोखरी पुनर्निर्माणका विषयमा भएका विवाद समाधान भइसके’, उहाँले भन्नुभयो, ‘अब काममा अवरोध हुँदैन ।’ विगतमा ठूलो बहस पनि सिर्जना भएको तर अहिले विवादलाई टुङगो लगाएर अगाडि बढेको उहाँले बताउनुभयोे ।

विज्ञको सुझाव

रानीपोखरीको विवाद समाधान गर्न गएको वर्ष गठन भएको विज्ञ समूहले प्रताप मल्लकालीन शैलीमा नै निर्माण गर्न सुझाव दिएको छ ।

वि.सं. १७२७ मा प्रताप मल्लले रानीपोखरीको निर्माण गरेको शिलालेखमा उल्लेख छ । रानीपोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । बालगोपालेश्वर मन्दिर ग्रन्थकूट शैलीको थियो । पोखरीमा १ सय ८ तीर्थको जल हालिएको सम्पदा विज्ञ बताउँछन् । 

आपसी मतभेद र स्वार्थको चपेटामा परेको रानीपोखरी अहिले फुटबल खेल्ने मैदानजस्तै देखिन्छ । जिम्मेवार निकायले तत्काल काम सुरु हुने भने पनि अहिलेसम्म काम सुरु नै नभएकाले रानीपोखरी कहिले बनिसक्ने हो भन्ने अन्यौल बाँकी नै छ । अनि अझै पनि रानीपोखरीमा पानी अड्याउने समस्या भने यथावत नै छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया