कुरेलीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, १२ घाइते

 पुस ३०, २०७५ सोमबार २०:१:६ | माधवकुमार ओली
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रोल्पा – पश्चिम रोल्पाको कुरेलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

जलजला हिमाल यातायात प्रालिको लु १ ज ३३३२ नम्बरको जीप सोमबार परिवर्तन गाउँपालिका–१, खरिबोट चौखाबाङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परिवर्तन गाउँपालिका राङ्सी घरभइ कुरेली माइत जाँदै गरेका सन्जु बुढा र निशा रोकाको ९ महिने छोरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो । दुद्र्धटनामा चालकसहित १२ जना घाइते भएका छन् ।

लिबाङबाट मिरुल टुटुका लागि छुटेको जीप यात्रुको दबाबमा कुरेली गल्कोटतिर जान खोज्दा दुर्घटना भएको थियो । भर्खरै ट्रयाक खोलेको र अन्य सवारी साधन समेत नचल्ने सडकमा जीप लैजान खोज्दा दुर्घटना भएको बुझिएको छ ।

जीप सडकबाट सिधैं खोलाको पानीमा खसेको हो । जीप खोलामै पुगेका कारण घाइतेहरु समेत पानीमा भिजेका थिए । घाइतेलाई जिल्ला अस्पताल रेउघा ल्याइँदैछ । पुस महिनामा मात्रै रोल्पामा ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया