यस्तो छ तरुल खानुको फाइदा

 माघ १, २०७५ मंगलबार ९:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । 

अहिले बजारमा जताततै तरुल बेच्न राखिएको देख्न मिल्छ । माघ महिना सुरु भएसँगै बजारमा तरुलको माग एकदमै बढेको छ । तरकारी पसलदेखि ठेलागाढामा समेत राखेर तरुल बेच्नेहरु सहरबजारका गल्लीभित्रसम्म पुगेका हुन्छन् । 

मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो । तरुललगायत माटोमुनी फल्ने जड खाद्य पदार्थ सबै कन्दमूल हुन् । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ । अहिले बजारको मागलाई हेरेर व्यवसायीहरुले तरुल खेती गर्दै आएका छन् । 

कस्ता तरुल छन् अहिले बजारमा

देशभरी उत्पादन भएका तरुल एकै ठाउँमा पाइने प्रमुख स्थान काठमाण्डौको कालिमाटी फलफूल तथा तरकारी बजार नै हो । यहाँका तरुल व्यापारी मोतीलाल भुषालका अनुसार काठमाण्डौमा अहिले पाँच प्रकारका तरुल बिक्रिको लागि ल्याइएका छन् । 

उहाँका अनुसार, पाल्पाको हात्तीपाइले तरुल, लालबन्दीको तरुल (जसलाई देशी तरुल पनि भनिन्छ), बन तरुल, घर तरुल (घर तरुलमा पनि रातो र सेतो गरी दुई प्रकारको हुन्छ), चितवनको पताले तरुल गरी मुख्य पाँच प्रकारका तरुल कालिमाटीमा भित्रिएका छन् । तरुललगायत सखरखण्ड, स्कुसको जरा र सिमलको जरा अर्थात् सिमल तरुल पनि बजारमा उपलब्ध छन् । 

सिमल तरुल र स्कुसको जरा तरुल नभए पनि तरुलकै रुपमा बिक्री हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सिमल तरुल नै सबैभन्दा महंगो छ ।

तरुलको मूल्य कति 

कालिमाटीमा तरुलको खुद्रा मूल्य तरुलको प्रकार हेरेर फरक–फरक छ । सबैभन्दा महँगो सिमल तरुल तीन सय रुपैयाँ प्रति किलोका दरले बिक्री भइरहेको छ । अन्य तरुल जति स्वादिलो नभए पनि औषधिको रुपमा लिइने र मधुमेहका बिरामीको लागि उपयुक्त हुने हुँदा यो महँगो भएको हुनसक्ने श्रेष्ठले बताउनुभयो । त्यसपछि वन तरुल महँगो छ । ८० देखि १ सय २० रुपैयाँ प्रति किलोको दरमा अहिले वन तरुल बिक्री भइरहेको छ । सामान्य घर तरुलहरु प्रति किलो ५० रुपैयाँमा किन्न पाइन्छ ।

पाल्पाको हात्तीपाइले तरुल अघिल्लो वर्ष महँगोमा बिक्री भएको थियो । त्यतिबेला तीन सय रुपैयाँ प्रति किलोका दरले बिक्रि भएको हात्तिपाइले तरुल यो वर्ष घाटा खाएर बेच्नुपरिरहेको तरुल व्यापारी नारायण विष्टले बताउनुभयो । 

यो वर्ष मागभन्दा आपूर्ति बढी भएपछि हात्तीपाइले तरुल सस्तो भएको उहाँको बुझाइ छ । अघिल्लो वर्ष काठमाण्डौ आसपासका जिल्लाहरुबाट मात्र भित्रिने तरुल यस वर्ष धनकुटादेखि तराईका जिल्लाहरुबाट पनि आएकाले सस्तो भएको र आफूले पहिले देखि नै किनेर राखेकोले सस्तोमा बेच्नुपरिरहेको उहाँले गुनासो गर्नुभयो ।

यस्तै बजारमा सखरखण्ड प्रति किलो ५० रुपैयाँका दरले बिक्री भइरहेको छ भने स्कुसको जरा प्रति किलो ६० देखि ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

कहाँबाट कति आयात हुन्छ तरुल

यस वर्ष पुस महिनामा मात्र ९ सय ६८ टन तरुल भित्रिएको छ । अघिल्लो वर्षको पुस महिनामा ६ सय ८७ टन र वि.सं २०७३ को पुस महिनामा ७ हजार ४३ टन तरुल कालिमाटीमा भित्रिएको थियो । उप निर्देशक श्रेष्ठका अनुसार माघे सङ्क्रान्तिलाई लक्षित गरेर पुस महिनामा तरुल भित्र्याइन्छ ।

यो वर्ष सबैभन्दा बढी तरुलको आयात सर्लाहीबाट ४ सय टन भएको छ । यस्तै धादिङबाट १ सय १७ टन, चितवनबाट १ सय ६ टन, मकवानपुरबाट ६६ टन तरुल आयात भएको छ । यस्तै देशका पहाडी तथा तराइका अन्य विभिन्न जिल्लाबाट पनि तरुल भित्रिएको छ । भारतबाट तरुल र सखरखण्ड गरी ७१ टन आयात गरिएको श्रेष्ठले बताउनुयभो ।

तरुलका खानुका फाइदा

कोही स्वादको लागि तरुल खान्छन् त कोही पेट भर्नको लागि तरुल खान्छन् । मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो । 

कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ । यसका केही फाइदाहरु यसप्रकार छन् :

  • छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो
  • यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
  • तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
  • यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
  • तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
  • यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया