ढुङ्गा बोक्छु, गिट्टी कुटछु, विदेशमा होइन गाउँमा (भिडियो कथा)

वित्तीय शिक्षाले फेरिएको डिल्लीबहादुरको सोच

 असार ४, २०७५ सोमबार १६:२२:२ | मोहन पौडेल

काठमाडौं – खोटाङको जहदेडाँडामा रहेको डिल्लीबहादुरको घरमा पुग्दा उहाँ घरमाथिको डाँडामा बाख्रा चराउँदै हुनुहुन्थ्यो । बाख्रा गोठालोमा रमाएका डिल्लीबहादुर १० वर्ष अघिको सोच अहिलेको जस्तो थिएन ।

गाउँमा काम गरेर के गर्न सकिन्छ र भन्ने थियो उहाँको सोचाई । डिल्लीको सोचाई र गाउँको माहोल एउटै थियो । गाउँमा काम गरेर के गर्नु विदेश गयो भने पक्कै कमाइन्छ । त्यही माहोलले उहाँलाई पनि मलेसिया पुर्‍यायो । 

 

मलेसिया पुग्दै गर्दा देखेका सपना र सोचेका कुरा साह्रै मिठा थिए । तर मलेसियाको बसाई सोचाई जस्तो मिठो भएन । टिभीको बोर्ड बनाउने कम्पनीमा १८ घण्टा खट्दा महिनामा ४०  हजार कमाई हुन्थ्यो । तर सबै खर्च कटाएर बच्ने पैसा थोरै हुन्थ्यो । सोचे जस्तो नहुँदा नहुँदै पनि डिल्लीबहादुर पाँच वर्ष उतै अड्किनुभयो ।

पाँच वर्षपछि उहाँ घर फर्किनुभयो । घरमा आएर घरजम गरेपछि पनि डिल्लीबहादुरले विदेश नै जाने सोच्नुभयो । त्यही बेला उहाँले विदेश जानेहरुलाई तालिम दिने भन्ने सुन्नुभयो । उहाँ त्यतिबेला विदेश जानेहरुलाई काम लाग्ने तालिम दिने होलान भन्ने सोचेर तालिममा जानुभयो ।

तालिम डिल्लीबहादुरले सोचे जस्तो थिएन । तर उहाँलाई त्यसले बेफाइदा होइन फाइदै गर्यो । फर्किंदा विदेश नै जाने सोचेका डिल्लीको सोच यही कक्षाले फेरिदियो । ‘यहाँ के गर्न सकिन्छ र भन्ने सोच्थें तर कक्षामा गाउँमै गर्न सकिने धेरै कुरा थाहा पाएँ’ डिल्लीबहादुर भन्नुहुन्छ । 

सोच फेरिएपछि फेरिएको सोच पुरा गर्न उहाँले कुरा होइन काम नै थाल्नुभयो । डिल्लीबहादुरले बाख्रा र कुखुरा पाल्नुभएको छ । पसल पनि चलाउनुभएको छ । 
सबै धेरै कमाउन भन्दै विदेश जान खोज्छन् । उहाँ पनि त्यसकै लागि मलेसिया पुग्नुभएको थियो ।

तर अहिले घरमै गरेको कामले विदेशकै जस्तो कमाइ हुन थालेपछि दिनेशले बुझ्नुभयो विदेशमा दुई तीन महिनामा तलब आउने भएकाले मात्रै धेरै देखिएको रहेछ । यो भन्दा पनि डिल्लीबहादुरलाई आम्दानी कसरी बढाउन सकिन्छ भन्ने कुरा चित्त बुझ्यो ।

विदेशमा एउटा काम गर्दा महिनामा तोकेको तलब बाहेक पाइँदैनथ्यो तर अहिले घर सकेसम्म र मन लागेसम्म काम गर्दा कमाई पनि थपिँदै गएको छ । ‘एउटा बाख्रा पाले पनि त्यसका लागि खट्नै पर्छ अनि धेरै वटा पाल्दा पनि खट्नै पर्छ’ डिल्लीबहादुरले भन्नुभयो ‘त्यही भएर बाख्रा पनि २० वटा जति पुर्याएको छु अनि श्रीमतीले छोरो हेर्दै चलाउन सघाउँछिन भनेर पसल पनि खोलेको छु ।’

विदेशबाट फर्किनेहरुलाई सबैले भन्छन देश खाएर शेष भएर आएको । तर वित्तिय साक्षरता कक्षामा बसेपछि डिल्लीबहादुरलाई आफू त केही पनि नबुझ्ने रहेछु भन्ने लाग्यो । किनकी कक्षामा बसेपछि उहाँले कमाउने तरिकासँगै बचाउने तरिका पनि सिक्नुभयो । त्यसैले अहिले उहाँले सहकारीसँगै बैंकमा पनि बचत गर्नुभएको छ । 

वित्तिय साक्षरताको कक्षा लिन थालेको २८ हप्ता पुरा भयो । अहिले डिल्लीबहादुर न कामले पहिलाको जस्तो हुनुहुन्छ न सोचले । उहाँ पुरै फेरिइनुभएको छ । ‘पहिला पनि हाम्रै ठाउँमा गिट्टी कुट्ने, ढुङ्गा बोक्ने काम त थियो नी त हामीलाई त्यो गर्न लाज लाथ्यो । त्यही काम गरेर कहाँ कहाँबाट आएका मान्छेले कति पैसा लान्थे’ डिल्लीबहादुर थप्नुहुन्छ ‘अहिले त म ढुङ्गा पनि बोक्छु, गिट्टी पनि कुट्छु ।’ 

अन्तिम अपडेट: असोज २३, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया