सोलुदूधकुण्ड नगरपालिकाका दलित समुदायको विद्युत महसुल कार्यपालिका सदस्यले तिरिदिने

 माघ १, २०७५ मंगलबार १४:५३:६ | सुवास दर्नाल
unn.prixa.net

सोलुदूधकुण्ड नगर कार्यपालिका सदस्य सोनाम गल्जेन शेर्पा

सोलुखुम्बु – सोलुदूधकुण्ड नगर कार्यपालिका सदस्य सोनाम गल्जेन शेर्पाले राज्यबाट प्राप्त हुने सेवा सुविधाको रकम दलित समुदायको विद्युत महसुल भुक्तानी  खर्च गर्ने बताउनुभएको छ ।

राज्यबाट प्राप्त हुने सेवासुविधाको रकमबाट वडा नम्बर ७ का दलित समुदायको विद्युत महसुल तिरिदिने उहाँले घोषणा गर्नुभएको हो । पछाडि पारिएका तथा न्यून आर्थिक अवस्था भएका सिंगो वडाका ३२ घरधुरी दलित समुदायको महसुल आफूले राज्यबाट पाउने भत्ता तथा सुविधाको रकमबाट मासिक रुपमा भुक्तानी गरिदिने उहाँले बताउनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका ७ गार्माका स्थानीय शेर्पाले मासिक १० हजार नगरपालिकाबाट सुविधा स्वरुप पाउने र त्यसमा बाँकी रकम थप गरी १५ हजार रकम बिजुलीको बिल तिर्ने उद्घोष गर्नुभएको छ ।

नगर कार्यपालिका सदस्य शेर्पाले नगरप्रमुख नाम्गेलजाङबु शेर्पाको उपस्थितिमा एक भेलाको आयोजना गरी आफूले नगरपालिकाबाट पाउने रकम दलित समुदायका लागि खर्च गर्ने घोषणा गर्नुभएको हो ।

समाजसेवी शेर्पाको यो घोषणासँगै गार्माका दलित समुदायले निःशुल्क रुपमा विद्युत उपभोग गर्न पाउने भएका छन् । साथै वडामा आर्थिक कमजोरीका कारण विद्युत पहुँच बाहिर रहेका घरधुरीलाई विद्युत जडानको जिम्मेवारी आफूले लिने समेत उहाँले उद्धघोष गर्नुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया