संघका अध्यक्षले प्रधानसेनापतिसँग मागे माफी

 असार ४, २०७५ सोमबार १६:५५:१६ | उज्यालो सहकर्मी

भक्तपुर – नेपाल तेक्वान्दो संघ प्रदेश नं. ३ ले भक्तपुरमा आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताका सम्बन्धमा लिएर विवाद उत्पन्न भएपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग संघले माफी मागेको छ । 

संघले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानसेनापतिको क्षेत्रीको मर्यादामा आँच आउँने गरी संघले कुनै पनि कार्यक्रम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै माफी मागेको हो । 

भक्तपुरमा गएको शनिबार सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि रहनु भएका प्रधानसेनापति क्षेत्रीको नाम र हस्ताक्षर नै नराखी प्रमाणपत्र वितरण गरिएको सन्दर्भमा विवाद उत्पन्न भएपछि संघका अध्यक्ष केशव पुरीले विज्ञप्ति जारी गर्दै माफी माग्नु भएको हो । 

अध्यक्ष पुरीले भन्नुभयो, ‘प्रधानसेनापतिको पदीय मर्यादामा आँच आउँने र उहाँप्रति अनादर हुने गरी संघले कुनै काम गरेको छैन, आगामी दिनमा पनि गर्दैनौ, कार्यक्रममा उहाँ ढिलो आँउने तर प्रमाणपत्र छिटो दिनु पर्ने भएपछि प्रमाणपत्रमा उहाँको नाम नराखिएको हो, अनादर गरिएको होइन ।’

आगामी दिनमा संघले कुनै पनि गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पुरीले भन्नुभयो, ‘कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीमा पर्न गएको असहजताप्रति संघले क्षमायाचना गर्छ, उहाँमा कुनै अपमान, अनादर गरेको भन्ने कुरामा सत्यता छैन, यद्यपि उहाँप्रति परेको समस्याप्रति हामी माफी माग्दछौँ ।’ खेलकुदको क्षेत्रमा प्रधानसेनापतिको सहयोग, हौसला र साथ सधैँ नै रहने अपेक्षा समेत गरिएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया