अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदा बिचौलियाको खेलोफड्को

 माघ १, २०७५ मंगलबार १८:५९:५८ | साेहम सुबेदी
unn.prixa.net

अष्ट्रेलिया - डलरको भाउमा हुने घटबढ, बिनिमय दरबाट निस्कने फाईदा र पैसा किनबेचमा हुने कमिसनको लोभले अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदा विभिन्न व्यक्ति, व्यापारिक संस्था, रेमिट्यान्स कम्पनी र बैंकहरुले आ–आफ्नै तरिकाले पैसा कमाउने खेलोफड्को गरिरहेका छन् । “पैसाले पैसा तान्छ” भन्ने उखान पहिल्यैदेखि त्यसै चलेको होइन, अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउने र नेपालबाट अष्ट्रेलियामा पैसा पठाउने व्यवसाय अर्थात् पैसाले पैसा तान्ने खेल निरन्तर चलिरहेकै छ ।

नेपाल राष्ट्र बैंकले उसको अनुमतिमा बैंकबाहेक अन्य माध्यमबाट पैसाको कारोबार हुने व्यवसायलाई अबैधानिक भन्छ । तर अष्ट्रेलिया सरकारलाई कर तिरेर अष्ट्रेलियामै बसेर गरिने पैसाको कारोबार वैधानिक हो । त्यही भएर नेपालको राष्ट्र बैंकले नचाहँदा नचाहँदै पनि बै‌कबाहेक अन्य माध्यमबाट अष्ट्रेलियाबाट नेपालमा पैसा भित्रिईरहेको छ ।

सामान्यतया अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउने चार तरिका छन् । त्यसमध्येका दुई तरिका बैधानिक र नैतिक छन् भने बाँकी दुई तरिका नेपालमा अबैधानिक र अष्ट्रेलियाको सन्दर्भमा अनैतिक मानिन्छन् ।

बैंक खातादेखि बैंक खाता, सीधा कारोबार

अष्ट्रेलियाको बैंक खाताबाट नेपालको बैंक खातामा पैसा ट्रान्सफर गर्नु सीधा र सबैभन्दा बैधानिक अन्तरदेशीय वित्तीय कारोबार हो । अष्ट्रेलियामा आफ्नो बैंक खाताको सम्पूर्ण कारोबार आफ्नै मोबाइलबाट गर्न सकिन्छ । मोबाइल एपमार्फत् आफैँले प्रत्यक्ष बैंकमा गएर पाइने  भन्दा अधिक सेवा लिन सकिन्छ । मोबाइल एपमार्फत विश्वका जुन कुनै कम्पनीका सामानको भुक्तानी दिन लिन सकिन्छ । अष्ट्रेलियाको बैंक खातादेखि नेपालको वैंक खातामा सीधै पैसा पठाउँदा हरेक ट्रान्सफरका लागि ३० डलर प्रशासनिक खर्च तिर्नुपर्छ । नेपालमा जुन बैंकको खातामा पैसा ट्रान्सफर गर्ने हो त्यसै बैंकको विनिमय दर अनुसार कारोबार हुन्छ ।

धेरै बठ्याईँ नजान्ने, बाहिरी कुरामा चासो नदिने वा नियम कानुन अनुसार जति लाग्छ त्यति तिरेर पैसा पठाउँछु भन्ने नेपालीले यस्तो माध्यमबाट नेपालमा पैसा पठाइरहेका छन् । “बैंक टु बैंक” प्रकृयाबाट पैसा पठाउनु अष्ट्रेलिया र नेपालमा पनि कानुन सम्मत हो । तर थोरै पैसा पठाउनेलाई हरेक कारोबारको ३० डलर खर्च लाग्नु र नेपालका व्यापारिक बैंकहरुको विनिमय दरमा नेपाली रुपैयाँ पाउनु त्यति आकर्षक सुविधा होइन । धेरै पैसा नेपाल पठाउनेहरु यस प्रकृयामा त्यति आकर्षित देखिँदैनन् ।

छिटो पैसा पठाउन रेमिट्यान्स संस्था

विश्वभरीकै सरकारले निश्चित प्रकृया पुर्याएर बैकिङ् कारोबारको बैकल्पिक व्यवस्थाको रुपमा रेमिट्यान्स कम्पनीलाई स्वीकार्छन् । ठूलो आर्थिक कारोबार गर्ने वैंकको प्रकृया लामो प्रशासनिक कामले गर्दा एक देशबाट अर्को देशमा पैसा पठाउँदा स्वभावैले समय लाग्छ । त्यसैले एक देशबाट अर्को देशमा रहेको व्यक्तिले आफन्त वा परिवारलाई पैसा पठाउन विश्वव्यापी रेमिट्यान्स् कम्पनीलाई भरपर्दो माध्यमको रुपमा उपयोग पनि गर्छन् ।

अष्ट्रेलियामा सञ्चालनको हिसाबले दुई प्रकारका रेमिट्यान्स कम्पनी छन् । पहिलो विश्वव्यापी कारोबार गर्ने रेमिट्यान्स कम्पनी जसले नेपालमा पनि कारोबार गर्छन् । त्यस्ता कम्पनीले गर्ने कारोबार बैंकमार्फत् हुन्छ र उनीहरुको सेवालाई पारदर्शी बैकल्पिक वित्तीय कारोबारको रुपमा लिइन्छ । रेमिट्यान्स कम्पनीले हरेक देशमा पैसाको कारोबार गर्दा त्यो देशको कानुन पालना गर्छन् ।

अष्ट्रेलियाका विभिन्न शहरमा नेपालतर्फ मात्रै पैसा पठाउन खुलेका रेमिट्यान्स कम्पनी पनि छन् । अष्ट्रेलियाको कानुन अनुसार कम्पनी दर्ता र कामको अनुमति लिएका संस्थाले तोकिएको दरमा कर तिरेर निश्चत काम गर्न पाउँछ । तर विश्वभरि पैसा पठाउने कारोबार गर्ने रेमिट्यान्स कम्पनीको तुलनामा नेपालमा मात्रै पैसा पठाउने रेमिट्यान्स कम्पनीको कार्यशैली र प्रकृयाको विषयमा नेपालीहरुको अनौपचारिक भेलाहरुमा प्रश्न उठ्ने गर्छ ।

अष्ट्रेलियामा अबैधानिक वा अनैतिक पैसा कारोबार

पछिल्लो १२ वर्षदेखि अष्ट्रेलियन इन्स्टिच्यूट अफ क्रिमिनोलोजीले वैकल्पिक बित्तीय कारोवारमा भैरहेको अनैतिक कृयाकलापको विस्तृत अध्ययन गरिरहेको छ । इन्स्टिच्यूटको वेभसाईट https;|/aic.gov.au को अनुसन्धानमूलक प्रकाशनहरुमा सन् २००५ देखि अहिलेसम्म रेमिटेन्सका नाउँमा भैरहेको अण्डरग्राउण्ड अर्थात् भूमिगत बैंकिङ कारोबारको लेखाजोखा उपलब्ध छ । इन्स्टिच्यूटले यसको नैतिक तथा बैधानिक पक्षका विषयमा १८ वटा अनुसन्धान प्रतिवेदन प्रकाशन गरेको छ । प्रतिवेदनमा नेपालसहित एशियाली देशहरुमा हुने बैकल्पिक वित्तीय कारोबार वा अनैतिक रेमिट्यान्सका विभिन्न आयामहरुलाई सरकारले केलाइरहेको देखिन्छ । साथै अष्ट्रेलिया सरकारको पाइनान्सियल इन्टेलिजेन्स युनिटले पनि बैकल्पिक वित्तीय कारोबारमा अनुगमन गरिरहन्छ ।

अष्ट्रेलियन इन्स्टिच्यूट अफ क्रिमिनोलोजीको अनुसन्धान प्रतिवेदन जसले नेपाल, भारत, चीनसहित विश्वका विभिन्न देशमा भैरहेको भूमिगत बैंकिङको समस्यामा अष्ट्रेलिया सरकारले निरन्तर अनुसन्धान गरिरहको कुरा उजागर गर्छ ।

अष्ट्रेलिया सरकारले भूमिगत वित्तीय कारोबारलाई निरुत्साहित गर्छ । रेमिटेन्स कम्पनीले भूमिगत वित्तीय कारोबार नगरुन् र त्यस्तो पैसा आतंकवादी गतिबिधि, मानव तस्करी, लागु औषध कारोबार वा अन्य भूमिगत कृयाकलापमा खर्च नहोस भनेर अष्ट्रेलिया सरकार सचेत देखिन्छ । अष्ट्रेलियन इन्स्टिच्यूट अफ क्रिमिनोलोजीको वेभसाइटमा प्रकासित रिपोर्टमा नेपाल तथा पाकिस्तानमा प्रचलित “हुण्डी”, भारतमा प्रचलित “हवाला”, चिनमा प्रचलित “फि–चेइन” लगायतका वित्तीय कारोबारलाई बैधानिक रेमिट्यान्स नेटवर्क हो कि मनी लण्डरिङ् सिस्टम हो भनेर प्रश्न गरिएको छ ।

रेमिट्यान्सको खेलोफड्को

विश्वभरी नै एकदेशबाट अर्कोमा छिटो पैसा पठाउने कारोबारमा कति प्रकारका खोलोफड्को चलिरहेका छन् किटेरै भन्न त सकिँदैन, तर जुन देशमा पठाउनको लागि पैसा संकलित हुन्छऽ त्यसलाई बैंकमार्फत् त्यस देशमा नपठाएर अन्तै पठाउनु वा अनेकौँ पटक बैंकिङ् कारोबार गर्नु भूमिगत बैंकिङ हो । अष्ट्रेलियामा डलर लिएर यतै राख्नु र त्यसको सट्टा नेपालबाट अर्कैले पैसा भुक्तानी गर्नु पनि अनैतिक हो ।

पैसाको कम बिलिङ् गरेर ट्याक्स वा कमिसनमा दोहोरो मुनाफा लिनु अथवा डलरलाई बस्तुको रुपमा अन्य देशका पैसासँग बिनिमय गर्नु बैकल्पिक वित्तीय कारोबारलाई अतिरिक्त नाफा कमाउन उपयोग गर्नु अनैतिक तथा अवैधानिक हो । बैंकको भन्दा महगो विनिमय दर, सस्तो प्रशासनिक खर्च, डलरको भाउ बढेको बेला पछि भुक्तानी दिने लगायतका सुनौला अफर दिएर अष्ट्रेलिया नेपाल पैसाको कारोबार गर्नेर्ले कसरी वैकल्पिक वित्तिय कारोबारको सेवा दिइरहेको छ भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

भारतीय हुण्डीको ऐतिहासिक नमुनाहरु : रिजर्भ बैंक अफ इण्डियाको वेभसाईटमा भारतमा हुण्डीको भूत र बर्तमानको विषयमा जानकारी छ ।

नेपालमा पैसाको स्रोत देखाउन बैंकमार्फत् नै कारोबार गर्नु अनिवनर्य हुन्छ । तर त्यसका लागि नेपालको एउटा मात्रै बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोलेको छ । नेपालमा बैंक खाता भएका व्यक्ति तथा व्यवसायिक कम्पनीले यहाँ खुलेको ग्लोबल आइएमइ बैंकको सम्पर्क कार्यालयको सहजीकरणमा नेपालमा बैधानिक माध्यमबाट पैसा पठाउन सक्छन् । त्यसरी नेपालमा पैसा पठाउँदा एकपटकको जम्मा चार डलर मात्रै सेवा शुल्क लाग्छ ।

सिड्नीको सेवा कार्यालयका प्रमुख प्रतिनिधि ज्योतिलाल कँडेलका अनुसार चार डलर तिरेर एक पटकमा प्रतिदिन व्यक्तिगत खातामा तीन लाख डलर र व्यापारिक खातामा पाँच लाख डलर नेपाल पठाउन सकिन्छ । डलरबाट रुपैयाँको विनिमय दर भने नेपालको कमर्सियल बैंकले तोके अनुसार हुन्छ । कँडेल भन्छन् “अविभावकले अष्ट्रेलिया आएका आफ्ना छोराछोरीलाई कम खर्च लाग्ने वैधानिक बैंकको माध्यमबाट पैसा पठाउन आग्रह गर्ने हो भने आयश्रोत देखाउन सजिलो हुन्छ, नैतिक र वैधानिक पनि हुन्छ । सरकारी कर्मचारीका छोरा छोरीलाई वैधानिक तरिकाले आयस्रोत देखाउन आवश्यक पनि छ ।”

पैसा पठाउन व्यक्तिगत माध्यम

अष्ट्रेलियामा डलर सापटी लिने र नेपालमा रहेका आफन्तमार्फत् नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिलाई भुक्तानी दिन लगाउने परिपाटी पनि चलिरहेको छ । अष्ट्रेलियामा घरजग्गा वा अन्य कारोवारका लागि नेपालबाट ठूलो रकम वैधानिक बाटो हुँदै अष्ट्रेलिया ल्याउन प्रतिबन्धित छ । त्यसैले नेपालबाट कुनै व्यापार वा बिल भुक्तानीको नाउँमा पैसा भारतीय अथवा चिनियाँ ब्यापारीको हातमा पठाउने, अनि भारतमा पठाउन अष्ट्रेलियामा उठाएको रेमिट्यान्स अष्ट्रेलियामै राख्ने र नेपालबाट गएको पैसा सम्बन्धित व्यक्तिलाई भुक्तानी दिने परिपाटीले नेपालको आर्थिक अनुशासन खतरामा परिरहेको छ।

लागु औषधको कालो धन कसरी सेतो धनमा परिवर्तन गरिन्छ भन्ने विषयको अनुसन्धान प्रतिवेदनमा प्रस्तुत गरिएको कोलम्बियाको एउटा प्रतिनिधि घटना ।

यसरी बैंक बाहिरको प्रकृयाबाट आएको पैसालाई अष्ट्रेलियामा उपहार पाएको वा सापटी लिएको भनेर आयस्रोत देखाइन्छ । त्यस्तो पैसा घरजग्गा वा अन्य धेरै आमदानी हुने क्षेत्रमा लगानी गरिन्छ । अझ नेपालमा कमाएको कालोधन अष्ट्रेलियाबाट आउने रकमका लागि भुक्तानी गरिदिने र त्यो बापत अष्ट्रेलियामा जम्मा भएको डलर वैधानिक बाटोबाट नेपाल पठाउने र श्रोत खुलाएर कालो धनलाई सेतो बनाइने गरेको चर्चा पनि चल्छ तर यसको स्वतन्त्र रुपमा पुष्टि भने हुँदैन ।

कालो धनलाई सेतो बनाउने वा धेरै नाफा कमाउने अभिप्रायले भूमिगत वित्तीय बजारमा गएको पैसा आतंकवादी वा अन्य गैरमानीय कृयाकलापमा लागानि होला कि भनेर अष्ट्रेलिया, अमेरिका वा युरोपेली देशका सरकारहरुले पैसाको अन्तर्राष्ट्रिय कारोवारलाई सुक्ष्म रुपमा अध्ययन, अनुगमन भने गरिरहेका छन् ।

अन्तिम अपडेट: साउन २८, २०७६

साेहम सुबेदी

दुई दशकदेखि विद्युतीय सञ्चारमाध्यममा सकृय सुवेदी अष्ट्रेलियाबाट  उज्यालो अनलाइनका  सामग्री तयार पार्नुहुन्छ। 

तपाईको प्रतिक्रिया